नियात्रा : मनोरम ककनी

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ निर्मलकुमार आचार्य

हेर्दाहेर्दै नजिकिँदै आएको हुस्सुले कतै केही दृश्यमान हुन दिएन । आहा ¤ अघिको त्यो नयनाभिराम सौन्दर्य फेरि हेर्न नपाइने भइयो त ? भन्ने लागेको मात्र के थियो, अलिबेरमै, जसरी पहिले नजिकिँदै आएको थियो, त्यसैगरी टाढिँदै पनि गयो हुस्सु । बल्लतल्ल आएका हामीलाई किन निराश बनाउनु भन्ठानेर पो हो कि ! हुस्सुले बडो दयाभाव देखाएजस्तो लाग्यो । पिण्ड खाने बेला भएका हाम्रा नेताले कुर्सी नछाडे झैं हुस्सुले पनि त्यही सुर कसेको भए हाम्रो के लाग्थ्यो !

सबैतिर ढाक्दै बढेको हुस्सु आएसरि छिट्टै बिदाबारी भएकैले हुनुपर्छ, आउँदा र जाँदाको उसको सौन्दर्य पनि मन, मस्तिष्कमा अमिट छाप छाड्न सफल रहृयो । हुस्सु नजिकिँदा, ढाकिँदा र जाँदाको सौन्दर्यलाई कसरी तुलना गर्नु, कोसित तुलना गर्नु खै ! ‘ठ्याक्कै कन्याम जस्तो, कत्ति राम्रो ठाउँ’ नजिकै भएकी अर्धांगिनीको स्वर सुनियो । पोहोर साल यही बेला कन्याम पुग्दाको स्मृति जागेछ । हुन पनि कन्यामको झझल्को दिने सुन्दर ठाउँ रहेछ । फरक यत्ति हो, कन्याममा हेरेर कहिल्यै नअघाइने मनोरम चियाको बगान छ त ककनीमा अपलक हेरिरहुँ झैं लाग्ने मनोहारी घाँसेपाटा ।

डाँडा उक्लाइले पारेको थकान र क्याउँक्याउँ गर्दो भोकलाई बेवास्ता गरी ‘केही छ कि, केही छ कि !’ भन्दै जिज्ञासाको गति नबढाइएको भए यो अद्भुत सौन्दर्यबाट खूब वञ्चितिमा परिनेरहेछ । यो भावस्फुरणले झन् आनन्दित तुल्यायो । चिट्ठा परे जस्तो भएपछि को दंग नपर्ला र ! सारा थकाइ, सुस्ती, भोक छिनभरमै छुमन्तर भइहाल्यो नि । हरिया डाँडा र नजिकै रहेको रक क्लाइम्बिङ आदि नियाली रमाइरहेका बखत फेरि ऊ पर्तिरबाट हुस्सु लम्कँदै आएको देखियो । हेर्दाहेर्दै ढाकिहाल्यो, ग्वाम्लांगै ओढिन आइपुग्यो । तस्वीर लिइरहेका जोडीहरू हिस्स परे । नवागन्तुकका मुहारमा उही खिन्नताका भाव तरंगिए, जुन पहिले हाम्रा अनुहारमा प्रतिबिम्बित थिए ।

बर्खेयाम भएकाले हामीलाई हिमाली सौन्दर्यपान गरी आनन्दको आकाशमा मच्चिई मच्चिई बत्तिने अवसर चाहिँ प्राप्त हुन सकेन । ‘यहाँ त हिउँदमा पो आउन पर्नेरहेछ’ कसैको स्वर टड्कारियो । त्यत्तिखेरै फेरि यहाँ आउने मनमनै वाचा पनि गरियो तर अहिले आएर गल्ती गरिएको अनुभव चाहिँ ठ्याम्मै भएन ।

हामी चाहिँ निस्फिक्री, ढुक्क थियौं । हुस्सुको प्रकृतिसुलभ सौम्य जादुगरीको छनक पाइसकेकाले मनमा अप्रसन्नता फिटिक्कै थिएन । हामीलाई देखेर मानौं, ऊ पनि प्रफुल्ल हुँदै हुरिँदै ग्वाम्लांग अँगालो हाल्न आइपुग्ने र अलिबेरमै नपत्याउँदो ढंगले साइनो गाँसी टाढिन पुग्ने उसको चालाले को वशीभूत नहोला र ! वरिपरिका अग्ला पहाडले शोभायमान ककनीमाथि हिमशृंखलाहरूको अद्भूत दृष्टिपात हुँदोरहेछ । अन्नपूर्ण, मनास्लु, लाङटाङ, गणेश, दोर्जे लाक्पालगायत कैयन् हिमालले प्रत्यक्ष आभा बर्साउने यो थलो साँच्चै विलक्षण छ । हिउँ पर्दाखेरि ककनीको हाउभाउ झन् कस्तो हुँदो हो !

बर्खेयाम भएकाले हामीलाई हिमाली सौन्दर्यपान गरी आनन्दको आकाशमा मच्चिई मच्चिई बत्तिने अवसर चाहिँ प्राप्त हुन सकेन । ‘यहाँ त हिउँदमा पो आउन पर्नेरहेछ’ कसैको स्वर टड्कारियो । त्यत्तिखेरै फेरि यहाँ आउने मनमनै वाचा पनि गरियो तर अहिले आएर गल्ती गरिएको अनुभव चाहिँ ठ्याम्मै भएन । हिउँदमा मात्रै आउनेलाई बर्खे ककनीको शोभा के थाहा । अहिलेको मौसमले दिने सौगात त्यतिखेर पक्कै हुनेछैन । यिनै भावनामा लहरिँदा लहरिँदै सिमसिम पानी पनि पर्नथाल्यो र बरसातमा निखारिएको ककनीको सुन्दरता बेजोड देखियो ।

प्राकृतिक सौन्दर्यमा मात्र होइन, ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि कम्ताको रहेनछ-ककनी । वसन्ती दरबार यस्तै एउटा उम्दा नमुना रहेछ । बडामहाराज पृथ्वीनारायण शाहले निर्माण गराएका रहेछन् । विसं १८०१ मा नुवाकोटलाई फत्ते हासिल गरेपछि काठमाडौं आउँदा, जाँदा बास बस्न बनाइएको दरबार रहेछ यो । लामो समय जीर्ण अवस्थामा रहेको यस दरबारको मुहार फेरिएको रहेछ । फुरुंग पर्दै प्रवेश द्वारबाट छिरी सोझै चोकमा गई सबैतिर हेर्दै मास्तिर नजर दौडाइयो । कलात्मक झ्यालबाट हेरिरहेकालाई तलबाट तस्बिरमा उतार्न प्रयास गरिरहेकाको उत्साह उमंगले भरिएको थियो ।

काठे भर्‍याङ चढ्नेमा हाम्रा पाइला पनि रहे । कोही पहिलो तलाबाटै ओर्लिए । बुइगल नहेरी के फर्कनु भन्ने लाग्यो र खुड्किला उक्लँदै के थिएँ, ‘कहाँ, कहाँ गइरहेको ?’ श्रीमतीजीको स्वर सुनिएलगत्तै ‘वसन्ती भेटिएला नि !’ अर्को भनाइसँगै दरबारमा हाँसोको फोहरा छुट्यो । वसन्ती त भेटिएन, ठट्टाको कुरो न भो, तर वसन्ती दरबारमा उनको चिनारीसमेत नदेखिँदा खिस्रिक्क चाहिँ परियो नै । ‘वसन्ती’ उतिबेलाकी स्थानीय सुन्दरी ‘मिठु’ को दरबारमा जुराइएको चर्चित नाम रहेछ । काजी गगनसिंह लठ्ठिएका रहेछन् उनीप्रति । सुसारे बनाएर यही दरबारमा राखिएकाले ‘वसन्ती दरबार’ कहलाएको हो रे !

जीर्णोद्धार गरिएको ऐतिहासिक, पुरातात्विक वसन्ती दरबारमा कम्तीमा उनका प्रेमप्रसंगका चित्रहरू मात्रै भए पनि आगन्तुकलाई केही बेर भुल्ने बाटो हुन्थ्यो । जसले दरबार निर्माण गराए, ती पृथ्वीनारायण शाहकै बारेमा भए पनि रोचक, छोटकरी सचित्र जानकारी संगेलिँदा पनि बेग्लै कुरो हुन्थ्यो ।

जीर्णोद्धार गरिएको ऐतिहासिक, पुरातात्विक वसन्ती दरबारमा कम्तीमा उनका प्रेमप्रसंगका चित्रहरूमात्रै भए पनि आगन्तुकलाई केही बेर भुल्ने बाटो हुन्थ्यो । जसले दरबार निर्माण गराए, ती पृथ्वीनारायण शाहकै बारेमा भए पनि रोचक, छोटकरी सचित्र जानकारी सँगेलिँदा पनि बेग्लै कुरो हुन्थ्यो । नत्र, स्थानीय तामाङ संस्कृतिका विविध आयाम झल्किने संग्रहालयको रूपमात्रै दिइएको भए पनि दरबारको महत्व उचालिन्थ्यो कि ! यसो भए हुन्थ्यो, उसो भए हुन्थ्यो, त्यसो भए झनै गज्जब हुन्थ्यो । यस्ता तर्कना गर्न हाम्रा मगजलाई कसले भ्याउनु ! जहाँ गए पनि यसो भए उसो होला, उसो भए यसो होला भन्न रत्ती नलजाउने मनलाई सम्झाउने कोही नभएर पो हो कि ! ठाउँ पाउनासाथ थालिइहाल्छ ।

मीनमेष निकाल्न वा सल्लाहसुझाव दिन जसलाई नि सजिलो हुन्छ । बिचरा, सरोकारीलाई कस्तो भ्याइनभ्याइ हुँदो हो । तिनलाई फुर्सद भएदेखिन्, दोस्रो तलामा कैयन् दिनदेखि मूषकराजको शवले डुङडुङिएर अलपत्रिरहनुपथ्र्यो होला र ! एउटा मुसाको अन्त्येष्टिका लागि त समय निकाल्न नसक्ने ‘विचरा’लाई यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो भन्नु आफ्नै दिमागी टाटउल्टाइबाहेक केही होइन ।
ककनीको धर्तीमा रुम्बावंशी तामाङ राजाको नाम त सुनियो तर उनका बारेमा कुनै इतिहास पत्तो लागेन । राजाको गुफा जस्तै दरबारको पनि खोजिनिती गरी इतिहास खोतल्नेतिर जमर्को चलाइए गर्विलो काम हुने लाग्नुलाई पनि के ठान्नु होला ! यही असार (२०८०) को कुरो त हो । काठमाडौंको बालाजु, बाइपासबाट रानीपौवाको बस चढी मुड्खु भञ्ज्याङ, तीनपिप्ले हुँदै काउलेथाना ओर्लिएर झन्डै पौनेघण्टाको ठाडो उकालो चढी ककनी हाइट पुगिएको हो । आफ्ना सवारीसाधन हुनेहरू सजिलै त्यहीँ पुग्दारहेछन् ।

ककनीमा रत्तिई रात बिताउने कैयन् जोडीहरू पनि भेटिए । कोही ‘रेन्वो ट्राउट’ मै मक्ख थिए । रानीपौवा हुँदै ‘फुङफुङे’ झरनामा आहृलादित हुन पुग्नेको पनि बयान गरेर साध्य छैन । हरिया डाँडा उक्लँदै त्यहाँका सारौं, ढुकुर, जुरेली, मुनिया आदि चराचुरुंगीसँग बात मार्दै, स्ट्रबेरी र किबीका बोट अनि लहलहाइरहेका फाँट हेर्दै, रैथाने निश्छल मुस्कान बटुली गन्तव्यको पहिल्याउनुको मज्जा जहाँसुकै कहाँ पाइन्छ र ! धुलो, धुँवा र घुइँचोले निसास्सिइरहेको ‘काठमाडौं’ नजिकै डेढघण्टाभित्रै पुग्नसकिने स्वर्गमय थलो हुनु ‘वरदान’ नै मान्नुपर्छ ।

सडकी दुर्दशाको राग चाहिँ बेसुरो छ, दशकौंदेखि जारी रुग्णताको आलाप थामिने छेकछन्दसमेत छैन । उहिले सोह्रखुट्टे पाटीबाट त्रिशूलीका लागि छुट्ने रसियन जिप वा बसको यात्राले कत्ति गुलजार थियो यो ठाउँ । गल्छी हुँदै त्रिशूली जाने बाटोले ओझेलमा पारेको यस मार्गलाई अहिले ‘टोखा-छहरे-ढिकुरे-त्रिशूली’ सडकले गिज्याउन थालेको छ । ऐतिहासिक भनेर मात्र नहुनेरहेछ क्यार, नेता धेरै र ‘ठूला’ हुँदैमा पनि कहाँ विकास हुनेरहेछ र ! स्थानीयको पीर सुन्ने कुनै वीर देखिएन

यही तालले ककनीमा कसरी देशी, विदेशी पर्यटक ओइरिएलान् ! तर खुशीको कुरो, खानै चाहने मुखलाई जुँगाले छेक्दोरहेनछ, लालीले पनि रोक्दोरहेनछ । तब त ककनीको मायालु मोहनीले तानिरहेकै छ, लट्ठ्याइरहेकै छ । एकपल्ट त्यहाँ पुग्नेहरू पटक-पटक जान लालायित भइरहेका छन् । acharya.nik@gmail.com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?