विमानस्थलको भन्सार जाँचपासमा प्रहरीलाई सहभागी गराउने सरकारको तयारी

गृहमन्त्री भन्नुहुन्छ- ‘सुनकाण्डको जरैसम्म पुग्छौँ, कुनै ‘कोट’, ‘टार’ र ‘पार्टी’ मलाई मतलब छैन’

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचपास प्रक्रियामा प्रहरीलाई पनि सहभागी गराउने तयारी गरेको छ । विमानस्थलबाट पटक-पटक तस्करीको सुन बरामद भएपछि सरकारले भन्सार जाँचपासमा प्रहरीलाई पनि सहभागी गराउने तयारी गरेको हो । यसबारे सरकारले छिट्टै निर्णय गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भन्सारका अधिकारीहरूले पनि प्रहरी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । ‘हामीले भन्सारका अधिकारीहरूलाई जाँचपासमा प्रहरी चाहिने नचाहिनेबारे सोधेका छौँ । उहाँहरूले प्रहरी राखे राम्रै हुने जवाफ दिनुभएको छ,’ शुक्रबार विमानस्थलको सुरक्षा र व्यवस्थापनसहित सम्बन्धित सबै निकायका प्रमुखसहित अनुगमनका क्रममा उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्मा पनि भन्सार जाँचपासमा प्रहरीलाई सहभागी गराउनेबारे छलफल गरेका छौँ । यसमा सरकारले निर्णय लिन्छ ।’

अनुगमनमा मन्त्री श्रेष्ठसँगै गृहसचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत कार्यालयका प्रमुखहरू पनि थिए । मन्त्री श्रेष्ठले सुन तस्करीबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताउनुभयो । सुन तस्करीबारे छानविन गर्न राजस्व अनुसन्धान विभागले समिति बनाएको स्मरण गर्नुभयो । अहिले सबै निकायले उक्त समितिलाई सघाउने उहाँको भनाइ थियो ।

‘तस्करीमा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ’
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताउनुभएको छ । तस्करीमा संलग्न जोसुकै भए पनि कारबाही हुने उहाँको भनाइ थियो । ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दा मलाई कुनै कोट, टार र पार्टी मतलब छैन,’ तीन ब (बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर घटना सामसुम पारिने त होइन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही हुन्छ । ‘हामी सुशासन स्थापित गर्ने कामलाई दृढतापूर्वक अगाडि बढाउनेछौँ । कसैले नसोचे हुन्छ-यसलाई भ्रम पार्न सकिन्छ । यसलाई विचलित गर्न सकिन्छ भनेर । यो प्रकरणका नाइकेसम्म छानविन पुग्छ ।’ विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमी कमजोरी भएको स्वीकार गर्नुभयो ।

१० वर्षमा ४१ क्विन्टल बढी सुन बरामद, ११ महिनामा मात्रै ५८६ किलो नियन्त्रणमा
विमानस्थलको भन्सार पास भएर आएको तस्करीको सुन बरामद पहिलोपटक बरामद भएको होइन । यसअघि पनि पटक-पटक तस्करीको सुन बरामद हुँदै आएको थियो । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा ४१ क्विन्टल बढी तस्करीको सुन बरामद भएको पाइएको छ । १० वर्षको अवधिमा ठूला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध भित्रिएको छ । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०७० साल असार २६ गते काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । चीनको खासाबाट भित्र्याइएको ३५ किलो सुन सिआइबीले कोटेश्वरबाट बरामद गरेको थियो । त्यस्तै, २०७४ माघ ९ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन फेला पर्न सकेन । तस्करीको सुन बाटोबाटै हराएपछि सुनका मुख्य भरिया चूडामणि उप्रेती ‘गोरे’ समूहको यातनाबाट मोरङका सनम शाक्यको हत्या भएपछि घटना बाहिरिएको थियो । २०७३ पुस २० गते एयर अरेबियाबाट आएका एक ३३ किलो सुन बरामद भएको थियो । २०७४ भदौ १८ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरिएको थियो । २०७९ पुस ८ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भएको थियो । २०७९ पुस १० गते फ्लाई दुबईको एफजेड-०५८७ नम्बरको उडानबाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजबाट प्रहरीले इलेक्ट्रिक सिगरेट (भेप)भित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले झण्डै नौ केजी सुन बरामद गरेको थियो । यसरी पटक-पटक तस्करीको सुन बरामद हुँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गत आर्थिक वर्षको ११ महिनामा मात्रै ५८६ किलो बढी सुन नियन्त्रणमा लिइएको छ । विभिन्न देशबाट आयात गरी भन्सार तिराइएका, बरामद गरिएका, मुद्दा चलाइएका र अनुसन्धानको क्रममा रहेका सबै सुनको तौल ५८६ किलो दुई सय ग्रामभन्दा बढी भएको हो । गत आर्थिक वर्षको ११ महिनाको अवधि नेपाल राष्ट्र बैंक र अन्य इजाजतप्राप्त संस्थाले कुल दुई हजार ९१६ किलोग्राम सुन किनेको पाइएको छ ।

करिब सय किलो सुनको तौल यकिन गर्न अझै एक साता लाग्ने
राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पु¥याइएको छ । करिब सय किलो अनुमान गरिएको सुनको यकिन तौल थाहा भएको छैन । सुन राखिएको ‘ब्रेक सु’सहित जोख्दा १५५ किलो छ । सुनको वास्तविक तौल आउन अझै कम्तीमा एक साता लाग्नेछ । अहिले तौलिने प्रक्रिया नै सुरु भएको छैन ।

सुनको गुणस्तर परीक्षण गर्ने र वास्तविक तौल दिने प्रक्रिया अघि बढाइदिन भनेर राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकलाई औपचारिक पत्र लेखेपछि बल्ल प्रक्रिया सुरु हुनेछ । राजस्व अनुसन्धानले पत्र लेखेपछि विभिन्न सरकारी निकायका प्रतिनिधि राखेर सुन गाल्ने प्रक्रिया सुरु हुनेछ । सुन गाँलेर निश्चित आकारमा ढालेपछि गुणस्तर परीक्षण र नापतौल सुरु हुनेछ । सुन शुद्ध भेटिएपछि राष्ट्र बैंकले नै विभागबाट किनेर सर्वसाधारणलाई बेचिन्छ । त्यसभन्दा कम भए चाहिँ राष्ट्र बैंककै भण्डारणमा रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?