कविता : जोगी

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ राजेश अधिकारी

रातमा डुल्छु लगाई फेरि गाउँ र टोलमा
सगुनशान्ति गुञ्जेको हुन्छ जोगीको बोलमा
भूत र प्रेत डङ्किनी सारा भगाई मन्त्रले
खराब आत्मा हटेर जान्छ जोगीको तन्त्रले ।

फेरिको ध्वनि फैलिन्छ सारा आकाशपाताल
गुञ्जिदा नाद मानिस पशु मर्दैन अकाल
डुलेर गाउँ बटुल्ने सिदा पेशै हो जोगीको
नगर हेला इलमै यस्तो यो कर्म योगीको ।

बराँठ्को सिङ फुकेर राति मंगल छरेर
फर्किन्छु घर बिहानीपख सुकर्म गरेर
रातको बाजा दिनको खाजा जोगीको कर्म हो
पैत्रिक पेशा जगेर्ना गर्नु जोगीको धर्म हो ।

बैरागी होइन पाखन्डी होइन जोगीको चिनारी
जोगी हो कर्मी संस्कृति प्रेमी संस्कारी आचारी
खरको छानो लिपेको भित्ता मनै भो शीतल
झुपडी मेरो मलाई लाग्छ सुन्दर महल ।

गाउँको बीच झुप्रा र झुप्री जोगीको आवास
गमला भरी रंगी र चंगी फूलको सुवास
मझेरी, चुलो, दलान लिपी चिटिक्कै पारेको
अगेनामाथि कसौंडी भरी ढिँडो छ पाकेको ।

आमा र बाबु, लाला र बाला गुन्द्रीमा बसेका
गुन्द्रुकसँग स्वादिलो खाना खुसी भई खाएका
हिउँदे साँझ छिमेकीमाझ धुनीमा रमेर
खुशी छौँ हामी जोगीका हुल के लानु मरेर ?

चोरेर खान्न लुटेर खान्न जिउँछु कमाई
आनन्द लाग्छ जिउन साथी पसिना बगाई
त्यो काम ठूलो यो काम सानो कदापि हुँदैन
विशाल मन बनाई जिए ठाँगेले छुँदैन ।

आरन तान्ने दरियो कामी फलामे कामले
सिलाई लुगा चिनियो कोही दमाई नामले
चलाई आरा कुँदेर काठ कहियो सिकर्मी
रगडी ढुंगा आकृति दिने बोलियो लोकर्मी ।

दिएर शिक्षा बाँडेर ज्ञान बन्यो त्यो शिक्षक
रक्षार्थ डट्ने प्रहरी सेना देशका रक्षक
पढेर वेद, पुराण, गीता भए ती बाहुन
ब्राहृमण, क्षेत्री, वैश्य र शुद्र रगत समान ।

डाक्टरी धर्म बिसेक पार्ने बिरामी रोगीको
फुकेर मन्त्र दुष्टात्मा खेद्ने काम हो जोगीको
चमार तुच्छ ब्राहृमण उच्च कदापि हुँदैन
यो जात ठूलो त्यो जात सानो भन्ने नै हुँदैन ।

गुञ्जाई फेरी चहार्छु बस्ती हटाई विकृति
पुर्खाको जेथो जोगाई राख्नु जोगीको संस्कृति ।
इति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?