मेस्सीको गोलमा मायमी विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

मायमी । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले डेब्यु खेलमा नै फ्रिकिकमार्फत् गोल गर्दै इन्टर मायमीलाई जित दिलाउनुभएको छ । लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध दुई-एकको जित निकाल्ने क्रममा मेस्सीले इन्जुरी समयमा गोल गर्नुभयो । खेल बराबरीतर्फ उन्मुख भएको अवस्थामा मेस्सीले इन्जुरी समयको तेस्रो मिनेटमा फ्रिकिकमा गोल गर्नुभएको थियो ।

दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गर्नुभएको थियो । उहाँसँगै सर्जियो बुस्केट्स पनि मैदान प्रवेश गर्नुभएको थियो । खेलको ४४औँ मिनेटमा रोबर्ट टेलरले मायमीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले रवि रविन्सनको पासलाई गोलमा परिणत गर्नुभएको हो ।

दोस्रो हाफको ५४औँ मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गर्नुभएको थियो । ६५औँ मिनेटमा क्रुज अजुलले गोल फर्कायो । उसका लागि जेसस दुएनसको पासमा उरिएल अन्तुनाले गोल गर्नुभयो ।

इन्जुरी समयमा मेस्सीलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि मायमीले फ्रिकिकको अवसर पाएको थियो । मेस्सीले उक्त फ्रिकिक टप कर्नरमा गोल गर्दै जित दिलाउनुभयो । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सहभागी ४७ मध्ये ४५ टोलीलाई तीन-तीन टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउण्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?