समग्र बौद्धिक अधिकारमाथिको प्रहार : अधिकारी

‘रेडियो, टेलिभिजनलगायतले गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संगीतकार सुरेश अधिकारीले नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालको निर्णय समग्र बौद्धिक अधिकारमाथिको प्रहार भएको बताउनुभएको छ । एफएम रेडियोहरूको सम्बद्ध संस्थाहरूले अब एफएम रेडियोहरूबाट सुरेश अधिकारी जोडिएका कुनै पनि गीतसंगीत नबजाउने निर्णय गरेपछि सुरेश अधिकारीले बौद्धिक अधिकारलाई कुण्ठित पार्ने योजनाबद्ध प्रयास भएको बताउनुभएको हो ।

‘म अहिले प्रतिलिपि अधिकारका लागि लडिरहेको छु । यो अभियानको नेतृत्व गरिरहेको छु । त्यसैले सुरुमै ममाथि आक्रमण भएको छ,’ अधिकारीले भन्नुभएको छ, ‘व्यक्तिका रूपमा म जोडिए पनि समग्रमा यो प्रतिलिपि अधिकारको अभियानलाई बीचमै निस्तेज पार्ने योजनासहितको षड्यन्त्र हो यो ।’

एफएम सञ्चालकहरूका संस्थाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सुरेश अधिकारीसँग जोडिएका गीतसंगीतलाई देशभरका सबै एफएममा नबझाउने निर्णय गरेका थिए । सुरेश अधिकारीले सामाजिक सञ्जालमार्फत् अमर्यादित गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने काम गरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । अधिकारीको अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाएको र सञ्चारमाध्यमसँगको सम्बन्धमा समेत दूरी बढाउने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

यता, शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आहृवान गर्ने निर्णय गरेको छ । रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन भन्ने र बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारबाहीमा जाने संघले निर्णय गरेको संघका अध्यक्ष चेतन सापकोटाले बताउनुभयो । रोयल्टी नपाएसम्म रेडियो, टिभीमा गीत नबजाउने सहमति सांगीतिक संघसंस्थाहरूबीच भएको समेत सापकोटाले जानकारी दिनुभयो ।

बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ । संगीतकार संघले संगीतका सबै विधाहरू लोकदोहोरी, पप, हिपहपलगायतका स्रष्टालाई समेत बोलाएर रोयल्टी नतिर्ने रेडियो र टिभीमा गीत बजाउन नदिनेबारे घोषणा गर्नेसमेत तयारी गरेको छ ।

‘रोयल्टीमा आबद्ध सबै १८ सयजना स्रष्टामार्फत् रोयल्टी नवीकरण गरेरमात्र गीत बजाउन आहृवान गरिनेछ । होइन भने कानुनी उपचारको ढोका खुला छँदैछ,’ अध्यक्ष सापकोटाले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?