मलेसियामा नेपाली श्रमिक धेरै भएकोले समस्या पनि धेरै छन् : राकेश महतो

लेखनाथ पोखरेल
Read Time = 9 mins

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महाधिवेशन यही जुलाई ३० मा हुँदै छ । महाधिवेशनले संघको आगामी नेतृत्व चयन गर्ने भएकोले पनि एनआरएनए मलेसियामा चुनावी सरगर्मी चुलिएको छ । अध्यक्षका लागि हालसम्म तीनजना दाबेदार देखिएका छन् । विनोद थापा र सन्तोष कार्की र राकेश महतो । विगत लामो समयदेखि मलेसियामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका महतो बढी चर्चामा हुनुहुन्छ । २३ वर्षदेखि मलेसियामा बसोबास गरी मलेसियन युवतीसँगै वैवाहिक सम्बन्ध कायम गर्नुभएका र आफ्नै व्यवसाय सञ्चालन गर्नुभएका महतो नेपालको बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरवासी हुनुहुन्छ । मलेसियाका सफल व्यवसायी महतोले नेपालको कृषि क्षेत्रमा पनि लगानी गर्नुभएको छ । त्यसो त अन्य नेपाली श्रमिक जस्तै रोजगारीका क्रममा मलेसियामा साधारण श्रमिकका रूपमा छिर्नुभएका महतो मिहिनेत र लगनशीलताकै कारण छोटो समयमै व्यावसायिक सफलता हासिल गर्न सफल हुनुभएको हो । सुरुदेखि नै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सहयोग गर्दै आउनुभएका महतो यसपटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने लक्ष्यसाथ उम्मेदवारी घोषणा गरेको बताउनुहुन्छ । मलेसिया नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य मुलुक हो । जहाँ पाँचलाख नेपालीहरू कार्यरत रहेको बताइन्छ । तर, नेपाली म्यानपावर कम्पनीहरूको बदमासीका कारण धेरै नेपाली कामदार मलेसियामा विभिन्न समस्यामा पर्ने गरेका छन् । एनआरएनएको प्रमुख प्राथमिकता त्यहाँका श्रमिकको हक अधिकार स्थापनामा केन्द्रित हुने गरेको छ । त्यसैले पनि मलेसिया एनआरएनएको नेतृत्व बारेमा धेरैको चासो हुने गरेको छ । सोही सन्दर्भमा अध्यक्षका दाबेदार महतोसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-

तपाईं के कामका लागि मलेसिया जानुभएको थियो ?
रोजगारीकै क्रममा आजभन्दा २३ वर्षअघि मलेसिया आएको हुँ । श्रमिककै रूपमा मलेसिया पसेको हुँ । १४ वर्षसम्म काम गरियो । कामकै सिलसिलामा साधारण श्रमिक हुँदै म्यानेजरसम्म भएर काम गरियो । त्यसपछि मैले आफ्नै व्यापार व्यवसाय सुरु गरेँ ।

बिहे पनि उतै गर्नुभयो ?
हो, मेरो मिसेज मलेसियन हुन् । मेरा बच्चाहरू यहीँ वकिल (ल)कानुन पढ्दै छन् । यस अर्थमा भन्नुपर्दा म सक्कली एनआरएनए पनि हुँ । विगत १० वर्षदेखि एनआरएनएको अभियानमा सक्रिय भएर लागिरहेको छु । एनआरएनएको साधारण सदस्य हुँदै सहकोषाध्यक्ष, कोषाध्यक्ष, उपाध्यक्ष र हाल एनआरएनए मलेसियाको आगामी नेतृत्वका लागि अध्यक्ष पदको प्रतिस्पर्धामा छु ।

मलेसियामा के व्यवसाय गर्नुहुन्छ ?
ग्रोसरी सप, मार्ट, रेष्टुरेण्ट, होस्टल म्यानेजमेन्ट लगायतका व्यवसाय सञ्चालन गर्दै आएको छु ।

कामदार नेपाली छन् कि अरू नै ?
नेपाली र यही मलेसियन दुवै काम गर्छन् । नेपाली र यहीँका स्थानीय गरी करिब ४०, ४५ जनालाई रोजगारी दिएको छु । विगतमा म पनि अरूको कम्पनीमा श्रमिक रूपमा काम गर्थेँ ।

त्यहाँ नेपाली कामदारको अवस्था कस्तो छ ?
कतिपय म्यानपावर कम्पनीको बदमासीका कारण नेपाली कामदारले यहाँ आएर धेरै दुःख पाउने गरेका छन् । म्यानपावर कम्पनीहरूले झुटा आश्वासन दिएर कामदार पठाएका हुन्छन्, जसकारण कामदारले यहाँ भनेअनुसारको काम पाउँदैनन्, भनेअनुसारको पारिश्रमिक पाउँदैनन् । कतिपयले कम्पनीको काम नै छाडेर भाग्ने गर्दा झन् दुःख पाउने गरेको अवस्था छ । कति जेलमा पर्छन्, कति बेवारिसे अवस्थामा हुन्छन् । त्यस्तो अवस्थामा हामीले नेपाली दूतावाससँगको सहयोगमा नेपाली कामदारको उद्धार गर्ने गरेका छौँ । काम नपाएर अलपत्र परेका कामदारलाई रासन व्यवस्था, जेलमा परेकाको उद्धार, स्वदेश फर्किन टिकट व्यवस्था, मृतकको शव नेपाल पठाउने काममा सहयोग र सहजीकरण गर्दै आएका छौँ ।

मलेसियामा आफैँ व्यवसाय गर्ने नेपालीहरू कति छन् ?
झण्डै दुई तीन सय नेपालीहरूले यहाँ आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । मलेसियाको भूगोल र हावापानी पनि नेपालीहरूका लागि अनुकूल भएकाले यहाँ नेपाली कामदारको आकर्षण बढेको हो । यहाँ धेरै जाडो र धेरै गर्मीको समस्या पनि छैन । २८ देखि ३२ डिग्रीको तामक्रम छ । यहाँको मौसम एकदमै राम्रो छ ।

एनआरएनए मलेसियाको आगामी नेतृत्वका लागि चुनावी अभियानमा हुनुहुन्छ, चुनावी एजेण्डा के छन् ?
चुनावी एजेण्डा छन्, मैले प्रतिबद्धतापत्र नै सार्वजनिक गरिसकेको छु । नेपाली राजदूतावास मलेसियासँग नजिक रहेर नेपाल र नेपालीका लागि सहकार्य गर्ने, मलेसियामा रहेका सम्पूर्ण संघ सस्था, बिजनेस व्यवसायी विद्यार्थी पत्रकारहरूसँग सहकार्य गर्दै पीडित श्रमिकले आश्रय लिइरहेको हाम्रो कार्यालयलाई थप ब्यबस्थित र स्थानीय कानुनसम्मत बनाउने प्रयास गर्नेछु । त्यसैगरी, अति विपतमा परेका नेपाली श्रमिकका लागि आपतकालीन छुट्टै राहत कोष छुट्टै स्थापना गर्नेछु । कोषलाई दिगो बनाउन छुट्टै खाता खोलेर पाँचजनाको समिति बनाई तुरुन्त पीडितलाई राहतको व्यवस्था गर्नेछु । कोष वृद्धिका लागि केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी र यहाँस्थित व्यवसायीसँंग कार्यक्रम सञ्चालन गर्नेछु । कार्यकालको हरेक महिना आरएम दुई हजार रिंगेट आफँैले जम्मा गरेर नेपाली श्रमिकका लागि सहयोग गर्नेछु । साथै विपद्मा रहेको नेपाली श्रमिकको सहयोगका लागि सबैमा आह्वानसमेत गर्दछु ।

नेपाल सरकार, नेपाली राजदूतावास मलेसिया, एनआरएनए अन्तरर्राष्ट्रिय समिति, राष्ट्रिय समिति तथा यहाँ रहेका संघ संस्थासँग समन्वय गर्दै मलेसिया रोजगारीलाई थप व्यवस्थित र श्रमिकका समस्या, हक अधिकार, सुरक्षामा जोड दिनेछु । ‘एकरात, श्रमिकको साथ’ भन्ने वर्ष २०१९-२०२१ को नीतिलाई फेरि पूर्ण निरन्तरता दिँदै प्रत्येक महिना दूतावासको सम्पर्कदेखि टाढा रहेका पीडित नेपाली श्रमिकसमक्ष पुग्नेछु ।

त्यस्तै, नेपाली श्रमिकको बाहूल्यता रहेको रहेक क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न त्यहाँ रहेका नेपालीहरूसँग सहकार्य गर्नेछु । सो क्षेत्रबाट केन्द्रीय कार्यसमितिमा आउनुहुने सबैसँग सम्मानजनक सहकार्य गर्नेछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?