अनुरागभित्रका रागहरूमा रुमलिँदा

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ खेमनाथ दाहाल

गत असार ३१ गते आइतबारको अंकबाट क्रमशः
भनिन्छ नारी जब आमा बन्दछे उसले सम्पूर्णता प्राप्त गर्दछे । ‘वरदान हौ तिमी’ यो कवितामा कविले एउटी आमाको भावना पोखेकी छिन्  । वास्तवमा कवि परम्परावादी समाजकी उपज हुन् । नारी भएको नाताले एक नारीले आमा हुने कल्पना गर्नु वा हुनु सामान्य प्रक्रिया हो । यस कवितामा कविले आमाको ममता सरल भाषामा यसप्रकार अभिव्यक्त गरेकी छिन्-

बञ्जर जीवनको सुखद्
बर्सात् हौ तिमी
प्रकृतिको अनमोल
सौगात हौ तिमी ।
मन्दिरमा सधैँ गुञ्जिरहने
पवित्र वेद–पुराण हौ तिमी
भगीरथ तपस्याले पाएको
मेरो वरदान हौ तिमी ।
हो, कविले भनेजस्तै सन्तान प्राप्तिपछि मात्र एक नारी आमा बन्दछे अझ भनौँ पूर्ण नारी बन्दछे । त्यसैले मन्दिरमा सधैँ गुञ्जिरहने पवित्र वेद-पुराणका रूपमा कविले भनेझैँ आमाका मनमा स्थापित हुन्छन् सन्ततिहरू । प्रेमालापका शैलीमा लेखिएको ‘भाग्यमानी म’ कवितामा कविले स्त्री मनोविज्ञानलाई साक्षात् रूपमा प्रकट गरेकी छिन् । वास्तवमा यो कविता पढ्दै गर्दा आफैंसँग संवाद भइरहेको आभास हुन्छ पाठकलाई । प्रेम र समर्पणको समिश्रणको उत्कृष्ट नमुनाका रूपमा सहजै लिन सकिन्छ यो कवितालाई । जनजिब्रोको बोलीमा दुरुस्त पारेर शैली मिलाउन कठिन कर्म भए पनि शाहले सजिलै त्यो कर्म गरेकी छिन्, जस्तै-

मैले सोधेँ- रिसाइदिऊँ ?
उसले भन्यो-
रिसाउँदा पनि सोध्छन् त लाटी !
मेरो निधारमा चुमेर उसले भन्यो-
तिमीलाई थाहा छ मेरो धड्कन
.....म तिमीलाई कति माया गर्छु ?
उसका लोलाएका ठूला ठूला आँखामा
मैले नियालेर हेरेँ,
....अझै भनूँ ?
म तिमीबिना बाँच्नै सक्तिनँ
कति भाग्यमानी म ।
‘नबिर्सनू मलाई’ कविताको पहिलो पंक्ति ‘पवनसँग खबर पठाएको छु’ पढ्नेबित्तिकै मलाई कता-कता महाकवि कालिदासकृत मेघदूत काव्यको स्मरण भएको अनुभूत भयो  । मेघदूत काव्यमा यक्ष राम गिरी आश्रमबाट मेघमार्फत् समाचार सम्प्रेषण गर्दछ । वियोगी पत्नीलाई भने यस कवितामा कवि अनु अमेरिकाबाट पवनमार्फत् खबर पठाउँछिन् जन्मभूमिमा आमालाई, आफन्तलाई  । मेघदूतमा प्रेम, वियोगको प्रधानता पाइन्छ भने अनुका कवितामा आफ्नो संस्कार र संस्कृतिलाई प्राथमिकतामा राखिएको छ, जस्तै-

पवनसँग खबर पठाएको छु
जूनसँग रहर पठाएको छु
नबिर्सनू है मलाई
कहिले विवशताले छेक्छ
कहिले परिस्थितिले रोक्छ
मौसम त बदलिन्छ नै, तर
नबिर्सनू है मलाई .....
न म तिजमा, इन्द्रचोकको चुरा पसलमा हुन्छु
न म दशैँमा असनको मिठाइ पसलमा नै हुन्छु......
रहरै रहर मनभरि हुँदा पनि
माइती सम्झँदै भक्कानिएर रुँदा पनि
.......तर, दशैँ, तिज र तिहारमा
नबिर्सनू है मलाई
हरेक प्रवासी चेलीको भावना र मनको कुरा पोखेकी छन् कविले यस कवितामा ।

संसारमा विश्वास सबैभन्दा भरपर्दो अस्त्र हो  । कल्पना गरौँ हामी क्षणभर विश्वासविहीन भयौँ भने हाम्रो संसार के होला र कस्तो होला ? विश्वासबिना प्रलय हुँदा सबै भताभुंग भएझैँ मानव सभ्यता र संस्कृति नै विलुप्त हुन्छ संसारबाट ।

संसारमा विश्वास सबैभन्दा भरपर्दो अस्त्र हो  । कल्पना गरौँ हामी क्षणभर विश्वासविहीन भयौँ भने हाम्रो संसार के होला र कस्तो होला ? विश्वासबिना प्रलय हुँदा सबै भताभुंग भएझैँ मानव सभ्यता र संस्कृति नै विलुप्त हुन्छ संसारबाट । हेर्दाहेर्दै पति पत्नीविहीन, पत्नी पतिविहीन, सन्तान मातापिताविहीन र मातापिता सन्ततिविहीनको अवस्था आउनेछ । यही यथार्थको मर्मभेदन गर्दै कविले ‘म बन्न सक्छु’ कवितामा अविश्वासी र कुनियत राख्नेलाई यस कवितामार्फत् सचेत गराएकी छिन्  । यदि कतैबाट पनि नारीमाथि विश्वासघात हुन्छ भने आमा बन्न सक्ने नारी रणचण्डी पनि बन्न सक्छे  । नारी शक्तिको यथार्थता र विकराल रूपको सार हो यो कविता भन्दा अन्यथा नहोला  । कविले नारीको यही शक्तिलाई यस कवितामार्फत् यसरी प्रकट गर्न सफल पनि भएकी छिन्-

विश्वास हराएको बेला
म अपराधी बन्न सक्छु,
भरोसा कहाँ छ र मान्छेको ?
शङ्काको प्रमाण जुटेको बेला
म विवेकशून्य हुन सक्छु
हो, त्यसैले त म राक्षस बन्न सक्छु
म प्रलय बन्न सक्छु
म विनाशकारी बन्न सक्छु
मेरो शान्त अनुहार नपढे हुन्छ
आँधी आउनुअगाडिको
म शान्त समुद्र बन्न सक्छु
तिम्रो कुनियतको
म विडम्बना बन्न सक्छु
खुकुरीको शान धारिलो छ
अझै म विरङ्गना बन्न सक्छु ।
कवि शिरोमणिको ‘पिँजडाको सुँगा’ कविता सर्वाधिक पठन हुने कवितामध्ये एक हो भने सायद त्यसैको प्रभावले पनि हो कि ¤ डायस्पोरिक साहित्यमा पनि पिँजडा शब्द सर्वाधिक प्रयोग हुने गरेको देखिन्छ । पढ्दै जाँदा यो कृति अनुराग पनि अछुतो छैन र ‘म हुँ मैना’ कवितामा समावेश भएको छ  । स्वदेशमा स्वतन्त्र भएर मनमौजी गरिरहेको मानिस जब प्रवासी जीवनयापन गर्न थाल्दछ ऊ बन्धनमा परेको महसुस गर्न थाल्दछ ।

चाहे जुनसुकै पेशामा कार्यरत भए पनि अर्काको मुलुक त्यसमाथि अर्कैको नियन्त्रण, त्यसैले उसले आफू पिँजडामा थुनिएको महसुस गर्नु स्वाभाविक पनि हो  । अवसरको खोजीमा अमेरिका पुगेका प्रवासीले आफू सुनको पिँजडामा थुनिएको महसुस गर्दै विविध रचनामार्फत् दुखेसो व्यक्त गर्ने गरेका छन् ‘म हुँ मैना’ कविता पनि त्यही साङ्लाको एक कडीका रूपमा प्रस्तुत भएको छ । यस कवितामा शाहले एक निःसहाय मैनाका रूपमा प्रवासी पीडा पोखेकी छिन्-

म हुँ मैना, बोली मिठास छ, जादु छ
त्यसैले गर्दा बन्द छु पिँजडामा
कहिले बिजुली चम्किन्छ
कहिले बादल गर्जिन्छ
म एकदमै डराउँछु, म तर्सिन्छु
चुपचाप पिँजडाको एक छेउमा बस्छु
म बिचरी निरीह प्राणी मैना
मलाई बुझ्न सक्ने कुनै हृदय छैन यहाँ
पखेटा काटिएकी म उडुँ पनि कसरी ?
परिस्थितिवस् म एक्लिएको छु
म र मेरो पिँजडा, मेरो शून्यपन
बानी परेन कहिल्यै मलाई मेरो
स्वतन्त्रतासँग साटिएको यो बन्धनको
पलाउन भ्याएका मेरा खुसीहरूलाई
म सोच्न सक्छु तर गर्न केही सक्दिनँ
किनभने म विवश चरी मैना
आजका समाजको बेथितिको प्रतिनिधि कविता हो अनु शाहको ‘बिमा कम्पनी’ । राजनीतिक अनैतिकताले समाजलाई अनैतिक र अन्धो बनाएको अवस्थामा यो कविता प्रकाशमा आउनु गुफामा टर्चलाइट बल्नु समान हो । देशमा आज दिनप्रतिदिन बेइमानी र लुटका कम्पनी खोलेर बिमा गरेझँै जनतासम्म बेचिँदैछन् भने अनुले यौवनको बिमा, उमेरको बिमा, प्रेमको बिमा, जिन्दगीको बिमा, बैँशको बिमा गरिमाग्नु कतै अस्वाभाविक भन्न मिल्दैन बरु यसलाई व्यंग्यात्मक रूपमा व्याख्या गर्नु समीचीन हुनेछ । अनुको मार्मिक कटुसत्य यो कविताले बेइमानहरूलाई हाँक दिएको छ । आधुनिक व्यवस्थापनको नाममा च्याँखे थाप्नेहरूलाई चुनौती दिएको छ, जस्तै-

मेरो यौवनको मधुमास बित्दैछ
मेरा शरदको जून लुक्दैछ
ए बिमा कम्पनी खोल्नेहरू हो !
लौन बिमा गरिदेऊ न ।
.....ए बिमा कम्पनी खोल्नेहरू हो !
सक्छौ भने यौवनको बिमा गरेर
अजम्बरी बनाइदेऊ न ।
....के तिम्रा बिमाहरूले मेरा बैँश र यौवनको
नवीकरण गर्न सक्छन् ?
‘बन्धकी जीवन’ यो कवितामा कविले डायस्पोरामा भोग्नुपर्ने विवशता र बाध्यताहरूको खुलस्त चित्रण गरेकी छिन्  । यो कविता पढ्दै गर्दा मलाई आजभन्दा बीस वर्षपहिले आफैंले लेखेको हावर्डको चौतारीमा कवितासंग्रहका यी पंक्ति ‘तिनका जीवनभरका कमाइबाट, तिर्नुपर्ने ऋणबापतका, घर र गाडीहरूको, दृश्यावलोकन गरियो, स्मरण भयो । आज बीस वर्षपछि शाहको यस कवितामा ती पंक्तिको स्मरण हुनु संयोग नभएर यथार्थकै रूपमा प्रकट भएको हो  । अमेरिका पुगेर मानिस जब अमेरिकी जीवनयापन गर्न थाल्दछ चाहेर पनि ऊ आफ्नो मातृभूमि फिर्न सक्तैन  ।

यस कृतिमा समाविष्ट केही कवितामा प्रेमको वृष्टि छ भने कतै प्रतिशोध र निराशाको ज्वाला दन्किएको छ । प्रवासको व्यस्त जीवनमा यसप्रकार कविता सिर्जना गर्नु सामान्य कुरा होइन । हो प्रायः हरेकको मन र भावनामा कविता फुर्दछ तर लेखिँदैन, एक हरफ लेखिँदैन विशेष प्रतिभाबिना ।

यस भनाइलाई पुष्टि गर्न कवि शाहको यो कविता पर्याप्त छ । यसमा कविले बडो गम्भीर रूपमा छोराको विवशता र आमाको ममताको चित्रण गरेकी छिन्  । सुन्दर भाषाशैलीमा रचित ‘बन्धकी जीवन’ कविता यो कृतिको अनुपम गहना हो भन्दा अतिशयोक्ति नहोला । यस कवितामा न कतै अतिरञ्जना छ न कतै अनावश्यक शब्दहरूको तानाबाना ¤ यहाँ केवल यथार्थ छ त्यो पनि मार्मिक तर प्रष्ट शब्दमा । मैले यस कविताको केही अंशमात्र यहाँ उद्धृृत गर्न चाहे पनि कतै काट्न सकिनँ, कतै छाट्न सकिनँ त्यसैले झण्डै पूर्णपाठ नै समावेश गरेँ । जो यसप्रकार छ-

कसैले सोध्छ-
खुसी त छौ तिमी ?
ऊ नक्कली हाँसो हाँसिदिन्छ
मलाई थाहा छ,
उसले भर्खर घर किनेको छ
चालीस वर्षे किस्ता अवधिमा
ऊ कस्सिएको छ,
अबको चालीस वर्ष उसको मेहनत बिक्छ
उसको बन्धक परेको जीवन
दशैँमा आमाको आशिष थाप्न पाउँदैन,
त्यही पनि धमिलिएका आमाका आँखा
देउरालीमा टोलाउन छोड्दैनन्
अनि आँगनमा बसेर,
घरको धुरीतिर हेर्दै रुन्छिन्,
एक्लै बरबराउँछिन्-
घरको धुरी नचुहेको भए,
साहुको ऋण नलागेको भए
आज मेरो छोरो मसँगै हुन्थ्यो ।
....आमा शब्द हावामा गुञ्जिन्छ
उनी ढल्छिन् निश्वास भएर
एउटा जीवनको अध्याय सकिन्छ
छोरालाई भेट्ने अधुरो आशमा  ।
कवि अनु शाहका माथि चर्चा गरिएकाबाहेकका यस कृतिमा प्रेमप्रणय, विरह, संस्कार, संस्कृतिलगायत विविध पक्षमा लेखिएका कोमल भावयुक्त कविताहरू संकलित भएका छन् । त्यसमा- ‘आऊ नजिक आऊ,’ ‘आगो सहिरहेछु,’ ‘तिहारको सम्झना’ जस्ता कविताहरूलाई प्रतिनिधिमूलक कविता मान्न सकिन्छ  । यस कृतिमा समाविष्ट केही कवितामा प्रेमको वृष्टि छ भने कतै प्रतिशोध र निराशाको ज्वाला दन्किएको छ । प्रवासको व्यस्त जीवनमा यसप्रकार कविता सिर्जना गर्नु सामान्य कुरा होइन । हो प्रायः हरेकको मन र भावनामा कविता फुर्दछ तर लेखिँदैन, एक हरफ लेखिँदैन विशेष प्रतिभाबिना । कविले प्रवासमा बसेर सञ्जय भएर ‘बन्धकी जीवन’ को रचना गर्नुले उनमा निहित प्रतिभा प्रष्टिन्छ जो आफैंमा प्रशंसनीय छ, वन्दनीय छ ।

अन्त्य :
यो कवितासंग्रहका कविताहरू अनेक बिम्ब र प्रतीकले युक्त छन् । तसर्थ सरल सुन्दर भएका छन् । अनु शाहले कुनै आग्रहबिना स्वछन्दसँग रचना गरेका कतिपय कविता उन्मुक्त शैलीका छन् र कविताको मागबमोजिम स्वीकार्य पनि छन् । कतिपय कवितामा प्रकृतिलाई मानवीकरण गरेर आफ्ना भावना पोख्न सफल कवि शाहको यो कृति केवल डायस्पोरामा मात्र होइन, सर्वत्र प्रशंसनीय कृति हुनेछ भन्ने अपेक्षाका साथ यो कृतिको सफलताको अग्रिम कामना गर्दै कवि शाहलाई पुनः धन्यवाद ज्ञापन गर्दछु । अस्तु ।

सनराइज होम्स कोलनी
बालकुमारी, ललितपुर ९

Khemdahal1@gmail.Com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?