अब जन्मिने लाइनका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिने गरी निर्ममतापूर्वक कारबाही होस् : घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराउनु भएको हो । अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाई थियो ।

उहाँले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने बताउनु भयो । महासचिव भुसालले समाजवादको यात्रालाई ठिक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयम्लाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकीर गर्नु भयो ।

उहाँले भन्नुु भयो, ‘समाजवादको यात्रालाई ठिक राख्ने हो भने कमरेड पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन सकिएन भने समाजवादको यात्रा सुरक्षित हुँदैन । एउटा गृहमन्त्री आएर, एउटा भाषण गरेर, एउटा गोष्ठी गरेर हुँदैन । हाम्रो गृहमन्त्री राम्रो गृहमन्त्री बन्ने कुराको, राम्रो कार्यक्रम गर्ने कुराको यो सबै कुराको कन्ट्रिब्युसन के होस् भने समाजवादलाई ग्यारेन्टी गर्ने हो भने समाजवादी पार्टी चाहिन्छ । त्यस्तो पार्टी बन्ने हो भने त्यसका एउटै चरित्र हुनेछ, सम्भवत एउटै चरित्र हुनेछ । सिद्धान्तका, विचारका ठूल्ठूला भयंकर क्रान्तिकारी कुरा गरौला कमरेड । तर त्यो पार्टीका नेता, कार्यकता, जुन पार्टीका नेता, कार्यकर्ता आम्दानी भन्दा बढि उपभोग गर्छन, कमाई भन्दा बढि उपभोग गर्छन । तिनले जतिसुकै समाजवादको कुरा गरेपनि अन्तत तिनलाई दलाल पूँजीवादले किनिछाड्छ । तिनि भ्रष्ट भई छाडछन् । एकातिर अहिलेका यी भ्रष्टाचार काण्डहरुका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहियोस् । नजन्मिउन तिनीहरु । त्यो होस् । त्यो ठिक छ । तर यसले मात्रै पुग्दैन । मैले भन्न खोजेको यसले मात्रै पुग्दैन । पार्टी भित्र यो बहस सुरु हुनुप¥यो । हरेक कमिटीमा यो छलफल सुरु हुनु प¥यो । पार्टीका हरेक कमिटीहरुमा खासगरीे सेन्ट्रल कमिटीहरुमा पहिला कम्युनिष्ट पार्टीबाटै सुरु गर्नु प¥यो । हामी मध्ये यो उपभोग र उत्पादनका हिसावले उत्पादन भन्दा उपभोग बढि नगरेका हामी को छौं भन्ने कुरा त्यो कमिटीमै ग्यारेन्टी हुनुप¥यो । पार्टीको ग्यारेन्टी हुुनुप¥यो । त्यसो भयो भने त्यो पार्टी नै क्रान्तिकारी पार्टी हुन्छ । एउटा, दुईटा व्यक्ति होइन । मैले भने नि आज मानकको हिसावले नारायणकाजी भन्ने हो भने यो मुद्दामा त्यो पार्टीका हरेक सदस्य नारायणकाजी श्रेष्ठ हुनेछ । यस्तो पार्टी निर्माण नगर्ने हो भने क्रमशः यो पपुलिज्मको कुरा बन्छ । पपुलिज्मको लडाईमा कमरेड नारायणकाजी जित्नु हुन्न । अर्कै आउँछ । नयाँ, नौं जवान, अचम्मको जे पनि गर्न सक्ने आउँछन । र, नारायणकाजीहरुलाई हराई दिन सक्छन । दलाल पूँजीवादले त्यो निकाल्छ । विश्व पूँजीवादको प्रवाहले त्यस्तालाई निकाल्छन । त्यो सब जान्या छ त्यसले । त्यसैले म भन्दैछु, यदि समाजवादको ग्यारेन्टी गर्ने हो भने एक्लो प्रयासले हुँदैन । पार्टी भित्र त्यो विरोधी अभियान सुरु गर्नु पर्छ ।’

महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताउनु भयो । त्यस मामिलामा पूँजीवादले जित्ने भएकाले कम्युनिष्टहरुले त्यो बाटो लिन नहुने उहाँको तर्क थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?