अष्ट्रेलियाद्वारा एसेजको उपाधि रक्षा

Read Time = 3 mins

लण्डन । अष्ट्रेलियाले द एसेज ट्रफी टेस्ट सिरिजको उपाधि रक्षा गरेको छ । वर्षाले गर्दा चौथो टेस्ट बराबरीमा रोकिएपछि अष्ट्रेलियाले एक खेलअगावै उपाधि जितेको हो । खेल बराबरीमा सकिँदा पाँच खेलको सिरिजमा अष्ट्रेलियाले २-१ को अग्रता लिँदै उपाधि रक्षा गरेको छ ।
तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया दोस्रो इनिङमा ११३-४ को अवस्थामा थियो । पहिलो इनिङमै अष्ट्रेलिया २७५ रनले पछि परेको थियो । तर, चौथो दिन वर्षाका कारण अन्तिम सेसनमात्रै हुन सक्यो । पाँचौँ दिन खेल नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

वर्षाकै कारण एसेज ट्रफी फर्काउने इंग्ल्याण्डको सपना भने तुहिएको छ । अष्ट्रेलियाका लागि दोस्रो इनिङमा मार्नस लाबुसेनले १७३ बलमा १० चौका र २ छक्कासहित १११ रनको शतकीय इनिङ्स खेल्नुभएको थियो । यस्तै, ओपनर उस्मान खवाजा १८, डेविड वार्नर २८ र स्टिभ स्मिथ १७ रनमा आउट हुनुभयो । इंग्ल्याण्डका मार्क वुडले तीन विकेट लिनुभयो ।

इंग्ल्याण्ड पहिलो इनिङमा ५९२ रनमा अल आउट भएको थियो । इंग्ल्याण्डका ओपनर ज्याक क्रली १८२ बलमा २१ चौका र ३ छक्कासहित १८९ रनमा बोल्ड हुनुभयो । जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोइन अली ५४ रनमा आउट हुनुभएको थियो ।
तेस्रो दिन जोनी बेयरस्टो ८१ बलमा १० चौका र ४ छक्कासहित ९९ रनमा नट आउट रहनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्क र क्यामरन ग्रीनले समान दुई विकेट लिनुभयो ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३१७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१, ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रिन १६ र एलेक्स केरीले २० रन थप्नुभयो ।

इंग्ल्याण्डका क्रिस वोक्सले ५ विकेट लिनुभयो । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोइन अलीले समान एक विकेट लिनुभयो । यसअघि अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्याण्ड ३ विकेटले विजयी भएको थियो । पाँचौँ तथा अन्तिम खेल २७ जुलाईदेखि द ओभलमा सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?