संयुक्त राष्ट्रसंघीय खाद्य सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

‘विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र शैक्षिक सुधारमा निकै प्रभावकारी’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनुभएको छ । सोमबार खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिष्टम २०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै उहाँले विद्यालय खाजा कार्यक्रमले हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको बताउनुभएको हो । कार्यक्रमले विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता फाइदा देखापरेको उहाँको भनाइ थियो । ‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘परिणामस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधार जस्ता फाइदा देखापरेका छन् ।’ सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीय स्तरसम्मको खाद्य प्रणालीका बारेमा छलफल चलाएको र सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको उहाँले जानकारी गराउनुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिवसँग भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी ‘युनाइटेड नेसन्स फुड सिष्टम २०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेससँग भेट गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड तीनदिने भ्रमणका लागि शनिबार इटाली प्रस्थान गर्नुभएको थियो । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटालीको राजधानी रोम पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनमा सम्बोधन गर्नुभएको थियो ।

‘युरोपका नेपालीको समस्या समाधानमा लाग्छु’
प्रधानमन्त्री ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो । साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?