बीपी, प्रजातन्त्र र समाजवाद

Read Time = 16 mins

नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टीका संस्थापकहरू क्रमशः बीपी कोइराला र पुष्पलालको स्मृति दिवस श्रावण ६ र ७ गते मनाइने गरिन्छ । सो अवसरमा संस्थापकहरूको सम्झना गरिए पनि तत्पश्चात उनीहरूको कुनै स्मरण गरिँदैन । त्यो त एउटा कर्मकाण्डमा मात्र सीमित राख्ने गरिएको तथ्य आफैं प्रष्टिन्छ । नेपालको राजनीतिमा बीपी कोइरालालाई अलग्याएर हेर्‍यो भने निसन्देह यो अपुरो र अधुरो हुन्छ । तर, कांग्र्रेसले त्यस बेलामात्र बीपीलाई सम्झन्छ जुन बेला आफूमाथि संकट आइलाग्छ । त्यस्तै कम्युनिष्टहरूले पनि पुष्पलाललाई दुःखका बेला सहारा खोज्ने र बाँकी समय खोपीको देउता बनाएर राख्ने गरेको इतिहास बरकरार छ ।

यहाँ प्रसंगबस पुष्पलालको नाम उल्लेख गरे पनि अब बीपी कोइरालाको स्मृतिदिवसको सन्दर्भमा उहाँको प्रजातन्त्र र समाजवादप्रतिको विश्ववसको लगाव बारे केही चर्चा गरौं । नेपालमा प्रजातन्त्र भन्ने बित्तिकै बीपीको नाम आइहाल्छ अर्थत बीपी र प्रजातन्त्र एकअर्काका परिपूरक अर्थको रूपमा बुझिन्छ । त्यस्तै समाजवादको अर्को पाटो पनि बीपीले प्रजातन्त्रसँगै जोडेर लाने जमर्को गरेर जानुभएको छ । आज त्यही प्रजातान्त्रिक समाजवाद नै कांग्रेसका लागि प्राणवायु भएको छ । यद्यपि अहिले प्रजातान्त्रिक समाजावादका प्रणेता बीपी कोइरालालाई केबल प्राविधिक दृष्टिले मात्रै सम्झने गरिन्छ ।

बीपी कोइराला प्रजातन्त्र र समाजवादको सम्बन्ध अन्योन्याश्रित छ । त्यसलाई अलग अलग गरेर हेर्न सकिँदैन । बीपी एउटा विचार हो, सिद्धान्त हो र एउटा सामाजिक आर्थिक न्याय दिने दृष्टिकोण हो । तर, यो विषय अलि गम्भीर प्रकृतिको छ ।

त्यसैले आज कांग्रेस अस्तित्व रक्षाको दोसाँधमा ठिंग उभिएको छ । कांग्रेसमा बीपीको संगतमा रहेका र प्रशिक्षित केही सीमित नेताहरू मात्र छन् बाँकी सबै अवसरको खोजीबाहेक अरू केही देख्दैनन् । त्यसैले बेला न कुबेला प्रधानमन्त्रीको सपनामात्र देख्ने गरेका कुरा पछिल्ला घटना क्रमले देखाएको छ । तर बीपीका विचार, चिन्तन र दृष्टिकोणहरू लिएर जनतामाझ जाने कुनै पहल नै गरेको पाइँदैन । त्यसैले आजकल कग्र्रेस विचारविहीन जस्तो खोक्रो हो कि भन्ने भ्रम अहिलेको पुस्तामा परेको छ । परिणामस्वरूप कांग्रेस परित्याग गर्ने एउटा हावाहुरी नै चलेको छ । हुन त कांग्रेसबाट चोइटिएर एकथरी कांग्र्रेसहरूले पञ्चायतका हर्ताकर्ता बन्न पुगे । बेलाबखत यो कांग्र्रेसबाट चोइटिने क्रम धेरै पछिसम्म चलेको देखिन्छ ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि कांग्रेसबाटै चोइटिएर गएकाहरूको बाहुल्य छ । यसरी केही पुरानाहरूले छोड्दै जाने नयाँहरूको प्रवेशले झट्ट हेर्दा त ठीकै हो जस्तो देखिए पनि विचारबाट प्रभावित नभएर अवसरको खोजीमा रहेका भीडबाट दिगोपन हुने देखिँदैन । अहिले नेपाली समाज विशेष गरेर अवसरकै लागि तड्पिराखेको छ भन्न हिच्किचाउनु पर्दैन । किनकि आजभोलि विचार, सिद्धान्तनिष्ठ र आदर्शको कुरा बेकार भन्न थालिसकेका छन् र परिणाममा मात्रै विश्वास राख्ने गर्दछन् । यस्तो प्रवृत्ति हाबी हुँदा कुनै दिन राजनीति नै स्खलित हुने निश्चित जस्तै छ । यसर्थ यो बीपी कोइरालाको ४१औं स्मृतिदिवसले कांग्र्रेस विचार राजनीतिको औचित्य र आवश्यकतालाई कति सम्बोधन गर्न सक्छ त्यो त हेर्न केही समय प्रतीक्षारत हुनुको विकल्प छैन ।

बीपी कोइराला प्रजातन्त्र र समाजवादको सम्बन्ध अन्योन्याश्रित छ । त्यसलाई अलग अलग गरेर हेर्न सकिँदैन । बीपी एउटा विचार हो, सिद्धान्त हो र एउटा सामाजिक आर्थिक न्याय दिने दृष्टिकोण हो । तर, यो विषय अलि गम्भीर प्रकृतिको छ । आर्थिक सामाजिक न्यायभित्र मानिसहरूका गम्भीर संवेदनाहरू लुकेका हुन्छन् । जसलाई बुझ्न अहिलेको व्याक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको समाजमा त्यति सहज नभए पनि प्रयत्नशील हुनुको अर्को बाटो छैन, यदि कांग्र्रेसलाई विचार, सिद्धान्त र आदर्शवान बनाउने हो भने यो मात्रै एउटा उत्तम विकल्प हो । राणाशाहीको अन्त्यका लागि एउटामात्रै अस्त्र बोकेको थियो कांग्रेसले त्यो हो प्रजातन्त्र ।

तत्कालीन अवस्थामा प्रजातन्त्रको स्थापना नै एकमात्र उद्देश्य थियो । पार्टी स्थापनाको छोटो समयमा नै त्यो कार्यभार बीपी कोइरालाकै नेतृत्वमा सम्पन्न भएको कुरा कहीँ कतै छिपेको छैन । तर, तत्कालीन अवस्थाको आर्थिक, सामाजिक चेतना र शैक्षिक स्थिति हेर्दा प्रजातन्त्रको स्थापना निकै कठिन विषय थियो । बीपी कोइरालाकै बुद्धिमत्तापूर्ण क्षमताले समाजमा जागरण ल्याएर १०४ वर्ष लामो पारिवारिक (जहानीयाँ) र हुकुमी शासनको अन्त्यपछि प्रजातन्त्रको बिहानी झुल्केको श्रेय पनि बीपीमै जान्छ । त्यसैले बीपी कोइराला जस्ता गतिशील नेतृत्वले सिञ्चित नेपाली कांग्र्रेसमा विचार, सिद्धान्त र आदर्शको खडेरी देखिनु अत्यन्तै दुःखद् कुरा हो ।

तर, आजका तथाकथित युवा नेताहरू उमेरकै कारणले पार्टीसत्ता र राज्यसत्ता आफूले पाउने दलिल पेश गर्दै हिँडेको देख्दा आश्चर्यलाग्दो अनुभव गरिँदै छ । नेपाली कांग्रेस सबै उमेर समूहको साझा पार्टी हो र त्यो पार्टी तिनै सबै उमेर समूहको सामूहिक प्रयासबाट मात्रै चल्न सक्छ । प्रजातन्त्र र समाजवादको आशय पनि हो । बीपीले सुवर्ण शमशेर जबरा जस्ताको साथ सहयोग पाउन सफल हुनुभएको थियो भने गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता सहयात्रीलाई साथमा लिएर हिँड्न सक्नुभयो ।

बीपी कोइराला सधैं स्मल इज ब्युटिफुलमा विश्वास राख्नुहुन्थ्यो । त्यसैले जननिर्वाचित प्रथम प्रधानमन्त्री हुँदा उहाँले योजना आयोगका पदाधिकारीलाई किसान लक्षित योजना निर्माणमा विशेष जोड दिनुभएको निर्देशन बडो गम्भीर प्रकृतिको थियो । नेपाल कृषि प्रधान देश भनिए पनि किसानहरूको हातमा भूस्वामित्व थिएन । उनीहरू आफूले उत्पादन गरेको कृषिउपज बिर्तावाललाई बुझाएर मात्र बचेकुचेकोबाट आफूले आधा पेट खाएर बस्नुपर्ने बाध्यता थियो । त्यो अवस्था प्रजातन्त्रको स्थापनाको झण्डै एक दशकसम्म रहेकोे थियो । सबै नेपाली रैती थिए । जसको हातमा सम्पत्तिको स्वामित्व हुँदैनथ्यो । सायद अहिलेका पिँढीलाई रैती कसलाई भन्छन् भन्ने पनि थाहा नहुन सक्छ । किनकि उनीहरूले हिजोका ती दिनहरू नदेख्नुपर्‍यो न भोग्नै पर्‍यो ।

आजको यो अवस्था यसै प्राप्त भएको भन्नेमा देखिन्छन् । तसर्थ इतिहासबाट पाठ नसिक्नेहरू जतिसुकै जान्नेसुन्ने र सुशिक्षित भए पनि सधैं कच्चै रहन्छन् । त्यसका लक्षणहरू केही स्वतन्त्र जनप्रतिनिधि र रास्वपाका पछिल्ला गतिविधिलेले प्रमाणित गर्दै गरेको अवस्था छ । इतिहासलाई मरेको सिनो भन्नेहरूबाट देशलाई संकट परिहाल्यो भने उनीहरूबाट पार लाग्न सक्ने देखिँदैन ।

मूल विषय प्रजातन्त्र र समाजवाद जस्ता मुर्धन्य मूल्य र मान्यताको जगमा अडिएको कांग्र्रेस आज समुद्रमा हराएको डुंगा जस्तो हुनु दुःखद् हो । यदि प्रजातन्त्र र समाजवाद बुझ्ने हो भने बीपी कोइरालालाई राजनीतिक र वैचारिक दृष्टिले सोच्नु आवश्यक छ ।

आजको नयाँ पुस्ताले थाहा पाउनु पर्‍यो र पुराना पुस्ताबाट धेरै सिक्दै र अनुभवबाट खारिँदै जानुपर्छ । साथसाथै विचार, सिद्धान्त र आदर्शलाई भित्रबाट आत्मसात गर्दै जानुपर्छ । त्यसैले आफूलाई चिहृन आफ्ना अग्रजको बारे जानकारी हुनुपर्छ । अग्रजहरूले नेपाललाई प्रजातन्त्रको युगमा प्रवेश गराउन के कति योगदान, संघर्ष र त्याग गरेका थिए भन्ने राम्रो जानकारी राख्नैपर्छ । नत्र त्यो पुस्ता सधैं अल्लारे ठिटो मात्रै हुनेछ देशको कुनै परिपक्व युवा हुन सक्दैन । तसर्थ आधुनिक नेपालको पुनर्संरचनापूर्व २००७ सालको प्रथम जनक्रान्ति र बीपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकारले गरेका बिर्ता, राजारजौटा उन्मुलन र वन जंगलको राष्ट्रियकरणले विशेष महत्व राख्छ ।

त्यसैले प्रजातन्त्रको स्थापनादेखि देशका उत्पादनका साधनहरू बिर्तावालको मुठ्ठीबाट खोसेर लिनु तत्कालीन अवस्थामा निकै कठिन जस्तै थियो । यसो विचार गरौं त त्यो कसरी सम्भव भयो होला । नेपालको कूल कृषियोग्य भूमि र वनजंगलमध्ये ९७ प्रतिशत बिर्तावालको पकडमा थियो । जसलाई २०१६ साल पुस महिनामा राज्यले खोसेको हो । जुन दिन त्यो निर्णय प्रथम जननिर्वाचित सरकारले ग¥यो त्यही दिनदेखि पुनः प्रजातन्त्रको अपहरण गर्ने षड्यन्त्रका तानाबाना बुन्न थालियो र १ पुस २०१७ मा जननिर्वाचित सरकार विघटन गरी पञ्चायती निरंकुशता लादियो ।

दलहरूमाथि प्रतिबन्ध लगाइयो र प्रधानमन्त्रीलगायत मन्त्री तथा नेताहरू जसले आत्मसमर्पण गरेनन् उनीहरू सबैलाई जेल कोच्ने काम भयो । कलिलो प्रजातन्त्रको घाँटी रेटेर ३० वर्ष श्री ५ हरूले प्रत्यक्ष शासन चलाए । त्यहीबीचमा बीपीलगायतका नेताहरू आठ वर्षमा कारागार मुक्त भएपछि निर्वासित जीवन बिताउन भारत पुगे भने कृष्णप्रसाद भट्टराईले स्वदेशमै थप काराबासको जीवन बिताउने निधो गर्नुभएको तथ्य इतिहासबाट अवगत हुन्छ । यहाँ बीपीको स्मृतिमा अन्य नेताहरू नाम जोडिनु अप्रासंगिक जस्तो लागे पनि त्यो सूक्ष्म इतिहास जान्नै पर्ने ठानेर उल्लेख गरिएको हो

तर, मूल विषय प्रजातन्त्र र समाजवाद जस्ता मुर्धन्य मूल्य र मान्यताको जगमा अडिएको कांग्र्रेस आज समुद्रमा हराएको डुंगाजस्तो हुनु दुःखद् हो । यदि प्रजातन्त्र र समाजवाद बुझ्ने हो भने बीपी कोइरालालाई राजनीतिक र वैचारिक दृष्टिले सोच्नु आवश्यक छ । नेपालमा कुनै यस्तो कालखण्ड थियो जहाँ वृक्षरोपण गर्दा र जय नेपालको अभिवादन गर्दा जेल जानुपथ्र्यो । सायद आजका कति युवाहरूले त्यो स्थिति भोग्नुपरेको थिएन । पछिल्ला दुईटा जनआन्दोलनसम्मको अनुभव नगरेकाहरूलाई के थाहा प्रजातन्त्रको अभावमा राज्य कति निरंकुश र निर्मम हुन्छ भन्ने कुरा ।

यसर्थ यहाँ किन प्रजातन्त्र र समाजवादको महत्व, आवश्यकता र औचित्यबारे बीपी कोइरालाका विचार, सिद्धान्त र आदर्शको राम्रो जानकारी हुनु अत्यवश्यक छ । त्यसैले धेरै लामो गन्थन मन्थनभन्दा बीपी कोइरालाको इतिहास बुझेर प्रजातन्त्र र समाजवाद अनि मानवतावाद जस्तो सर्वोकृष्ट विचार, सिद्धान्त र आदर्शबाट अभिप्रेरित भई राजनीतिमा प्रवेश गरेमा प्रजातन्त्र अजरअमर रहनेछ जसको प्रेरणाको स्रोत बीपी कोइराला नै हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?