सिन्धुलीका आठ पालिकामा अस्पताल बन्दै, भएका स्वास्थ्य संस्था अभावै अभावमा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 9 mins

सिन्धुली । स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ वटा पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । संघिय सरकारले मंसिर २०७७ मा सुरु गरेको एक स्थानीय तहमा एक आधारभूत अस्पताल निर्माण योजना अनुरुप अस्पतालका भवन बन्ने भएका हुन् ।

मरिण गाउँपालिका–७ महेश्वतामा १५ शैयाको अस्पताल भवन निर्माणका लागि मंगलबार शिलान्यास भएको छ । संघिय सासंद लेखनाथ दाहाल (राजन) ले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को मंसिरसम्ममा सक्ने गरी स्काई विल्डर्स प्रा.ली. नयाँबानेश्वर काठमाडौंले अस्पताल भवन निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो ।

१६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैयाँ लागतमा निर्माण हुने अस्पताल भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट संघिय सरकारले उपलब्ध गराएको हो । ४ हजार ७ सय ४० दशमलव ८४ वर्ग मिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडी बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले बताउनुभयोे ।

उहाँले भन्नुभयो, ‘मुख्य भवन मात्र ३ हजार ६१ दशमलव ८८ वर्ग मिटरमा निर्माण हुन्छ । अन्य क्षेत्रमा पार्कीङ, सुरक्षा गार्ड भवन, मुलगेट, आवास, स्टोर्सलगायतका भवनहरु तयार पारिने छ ।’

सात वटा वडाहरु रहेको मरिणमा ६ वटा सामुदायिक स्वास्थ्य इकाई, दुई वटा स्वास्थ्य चौकी, एक÷एक वटा प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय गरि १० वटा स्वास्थ्य संस्था छन् । मरिण–६ छापमा रहेको पाँच शैयाको अस्पताल भवनबाट १५ शैयाकै स्वास्थ्य सेवा कठिनले प्रदान हुँदै आएको थियो । अब १५ शैयाकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणबासीले स्वास्थ्य सेवा सहज रुपमा पाउने भएका मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताउनुभयो ।

जग्गा विवादका कारण दुई वर्षदेखि १५ शैयाको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडी बढेको स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश झाले जानकारी दिनुभयो । सात वटा वडाहरु रहेको सुनकोशीमा ११ वटा स्वास्थ्य संस्थाहरु छन् । अब दुई वटा सामुदायिक स्वास्थ्य इकाइ थप्प गर्नुका साथै १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उहाँले बताउनुभयो ।

गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि संघ सरकारबाट बजेट शिलिङ प्राप्त भएको र कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडी बढाइने स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र पैकराले जानकारी दिनुभयो ।

फिक्कल गाउँपालिका–३ चनौटेमा १० शैयाको अस्पताल भवन निर्माणधिन छ । दुई वर्षअघि निर्माण कार्य सुरु भएको भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फु¥यालले बताउनुभयो । निर्माणको काम सम्पन्न गर्न यस वर्ष ९० लाख बजेट थप भएर आएको उहाँले सुनाउनुभयो । ६ वटा वडाहरु रहेको फिक्कलमा ६ वटा स्वास्थ्य चौकी र १० वटा सामुदायिक स्वास्थ्य इकाइ गरि १६ वटा स्वास्थ्य संस्था छन् । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको गुणस्तरीय अस्पताल नहुँदा स्थानीयबासीलाई भरपर्दो उपचार खोज्दै अन्यत्र जानपर्ने बाध्य छ ।

हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शैयाको आधारभुत अस्पताल निर्माणधिन छ । सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा पाएको छ । आठ वटा वडा रहेको हरिहरपुरगढीमा चार वटा स्वास्थ्य चौकी, पाँच वटा सामुदायिक स्वास्थ्य इकाइ र ४ वटा आधारभूत केन्द्र छन् । यी नामका मात्रै स्वास्थ्य संस्था छन् । राम्रो उपचार गर्न विरामीलाई अस्पताल खोज्दै अन्यत्र जानु पर्ने अवस्था छ । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमा नै आधारभुत स्वास्थ्य सेवा दिन १५ शैयाको अस्पताल बनाउन सुरु गरेको बताइएको छ ।

दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शैयाको अस्पताल निर्माणधिन छ । अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले बताउनुभयो । ‘अस्पतालको भवन निर्माण पुरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ,’ उहाँले भन्नुभयो ।

संघिय सरकारको रु. १६ करोड लागतमा अस्पताल निर्माण कार्य अगाडी बढेको थियो । यहाँ हाल १६ वटा स्वास्थ्य संस्था मार्फत सेवा प्रदान गरिदै आएको छ । तर, गुणस्तरी अस्पताल र सेवा नहुँदा विरामीले अन्यत्र धाउनु पर्ने बाध्यता यथावत छ ।

घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन वितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडी बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निमार्ण कार्य चाडै सुल्झाएर निर्माण कार्र्य अगाडी बढाइने पालिकाले जनाएको छ । पाँच वटा वडा रहेको दुर्गम पालिकामा पाँच वटा स्वास्थ्य चौकी र पाँच वटा सामुदायिक स्वास्थ्य इकाइ छन् । १५ शैयाको अस्पताल निर्माण भएर प्रभावकारी रुपमा सञ्चालनमा आए सामान्य विरामी हूँदा पनि सदरमुकामको अस्पताल धाउन नपर्ने स्थानीयबासी बताउँछन् ।

सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ ७ वटा स्वस्थ्य चौकी र ९ वटा आभारभूत स्वास्थ्य केन्द्र छन् ।

जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले पनि सहज रुपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य विरामी हुँदासमेत अन्य शहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउन परेको स्थानीयबासीको गुनासो छ ।

स्थानीय तहमा विगतदेखि सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरु आवश्यकता अनुरुको बजेट, पर्याप्त दक्षजनशक्ति तथा औषधि र उपकरणको अभावै अभावमा जेलिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?