मन्त्रीहरुको राजीनामा माग्नु बेसिजनको खेती हो : सचिव पौडेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारका मन्त्रीहरुको राजीनामा माग्नु बेसिजनको खेती भएको टिप्पणी गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारको गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु बेसिजनको खेती भएको बताउनुभएको हो ।

उहाँले सुशासनको प्रत्याभुति दिलाउन सरकार दृढतापूर्वक अगाडी बढ्नु नै इतिहासको आवश्यकता भएको बताउनु भयो । उहाँले प्रतिपक्षले मन्त्रीहरुको राजीनामा मागेर भ्रम सिर्जना गर्न खोजेको बताउनु भयो । सरकारले सुशासन दिन खोज्दा मन्त्रीहरुको राजीनामा माग्नुले गलत सन्देश जाने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो बेला गृहमन्त्रीले राजीनामा दिने होइन । सरकार संकटमा पर्ने होइन । यो बेला जनताले उठाए अनुरुपको सुशासनको प्रत्याभुति दिलाउनको निम्ति सरकारले अझ दृढतापूर्वक अगाडी बढ्नुपर्छ । यो नै इतिहासको आवश्यकता हो । प्रश्न उठाउन पाइन्छ तर त्यसको सिजन हुन्छ, अफसिजनमा खेती लगाइयो भने फल्दैन । अहिले गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने बेला होइन । अफ सिजनको खेती लगायर भ्रम सिर्जना गर्ने काम बाहेक यसले केहीपनि पार लाग्दैन । सरकारले सुशासन दिन खोज्दा मन्त्रीको राजीनामा माग्नुले के सन्देश जान्छ ? सरकारलाई समर्थन गर्न अनुरोध गर्दछु । छानबिनको प्रक्रियामा मन्त्रीमात्रै छानबिनको प्रक्रियामा हुनुहुन्न । मन्त्रीले दबाब दिनुभएको छैन । राज्यका विभिन्न निकायले छानविन गरेका छन् । छानबिन गर्न निष्पक्षतापूर्वक सहयोग पो गर्नुपर्छ त । छानबिन गर्न अवरोध गरेर सुशासन पैदा हुन्छ देशमा ?’

उहाँले सुन तस्करी प्रकरणको निष्पक्षतापूवर्क छानबिन गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । छानबिनमा अवरोध गरेमा देशमा सुशासन कायम हुन नसक्ने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?