रुद्री र राज्य :

Read Time = 12 mins

✍️ तिलकप्रसाद लुइँटेल

गायत्रीत्रिष्टुब्जत्यनुष्टुपङ्क्त्यासह ।
बृहत्युष्णिहाककुप्सूचीभिः शम्यन्तुत्वा । १.२ ।
भावार्थ-गायत्री, त्रिष्टुप्, जगतीसँग अनुष्टुप्, पङ्क्ति, बृहती, उष्णिक् छन्दको ककुप् आदि छन्दसँग मेल भएर तिनका सूचीहरूले तिमीलाई शान्त बनाउन् ।

अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको दोस्रो मन्त्र हो । यजुर्वेद संहिताको २३औं अध्यायको ३३ मन्त्र पनि यही हो । वेदमा यस मन्त्रका ऋषि मधुच्छन्दा हुन् भन्नेछ । विश्वामित्र ऋषिका वंशज भनेर मधुच्छदा वैश्वामित्र भन्ने परिचय यी ऋषिको पाइन्छ । उनै ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिएको छ । यस मन्त्रका देवता अध्वर्यु भनिएको छ । अध्वर्यु भनेका यज्ञीय कर्म गर्ने मानिस विशेष हुन् । यिनै यज्ञीय कर्म गर्ने मानिसले देवत्व प्राप्त गरेको उल्लेख छ ।

यस मन्त्रमा मधुच्छन्दाले अध्वर्युलाई बताएको कुरा नै यस मन्त्रमा रहेको छ । यस मन्त्रमा छन्दका विषयमा कुरा रहेको छ । वेदको एउटा नाम नै छन्द हो । त्यसैले वेदका सबै मन्त्रहरू छन्दमा छन् । यस मन्त्रको छन्द उष्णिक् हो र यसको सम्बन्ध उषाकालसँग रहेको छ । त्यसैले यस छन्दलाई उषाकाल वा बिहानीको समय सुन्दर बनाउने मानिन्छ । यस छन्दमा २८ वटा अक्षर हुन्छन् ।

यस मन्त्रमा वेदका सात छन्दहरूको नाम उल्लेख भएको छ । छन्दको भनेको यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणना अनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप । त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य, वृत्त भन्ने अर्थ नेपाली बृहत् शब्दकोशमा दिइएको छ । त्यसैगरी इच्छा, रहर, छाँटकाँट, ढंग, चालचलन, बन्धन, गाँठोलाई पनि छन्दको अर्थ बताइएको छ । समग्रमा हेर्दा छन्द भनेको अभिव्यक्तिको विशेष नियम वा अन्य कार्यकलापको विशेष तरिका पनि हो भन्ने बुझ्न सकिन्छ ।

सनातन धर्मका आस्था हुने हाम्रा समाजले उपासना गर्ने देवीको नाम पनि गायत्री नै हो र उपासना गर्दा जप गरिने मन्त्रको नाम पनि गायत्री हो । यो मन्त्र यही गायत्री छन्दमा छ । गायत्रीले गायन गर्नेको त्राण वा रक्षा गर्छिन् भन्ने विश्वासले उपासना गरिन्छ ।

त्यसमा गायत्री छन्दका २४ अक्षर बताइएको छ । यी २४ अक्षरहरू ३ पदमा छन् र प्रत्येक पदमा आठ अक्षर हुन्छन् । यजुर्वेदको अध्यया ३ को मन्त्र एकलाई यसका उदाहरणका रूपमा हेर्न सकिन्छ । सनातन धर्मका आस्था हुने हाम्रा समाजले उपासना गर्ने देवीको नाम पनि गायत्री नै हो र उपासना गर्दा जप गरिने मन्त्रको नाम पनि गायत्री हो । यो मन्त्र यही गायत्री छन्दमा छ । गायत्रीले गायन गर्नेको त्राण वा रक्षा गर्छिन् भन्ने विश्वासले उपासना गरिन्छ । अक्षर संख्याको कम बेसीका आधारमा यस गायत्री छन्दका विविध भेद छन् ।

मन्त्रमा एक अक्षर कम भएको अवस्थामा निचृत् गायत्री भनिएको छ । हामीले नित्य उपासना गर्ने यजुर्वेदको २२ अध्यायको ९औं मन्त्र पनि निचृत् गायत्री नै हो । यसैगरी एक अक्षर बढी भएर २५ अक्षरको भएमा त्यसलाई भुरिक् गायत्री भनिएको छ । विराट् गायत्रीमा २२ अक्षर हुन्छन् । २६ अक्षरको स्वराट् गायत्री हो । अतिपाद निचृत् गायत्री २१ अक्षरको हुन्छ । अक्षर २४ नै भएको तर पहिलो पदमा १६ अक्षर र दोस्रो पदमा ८ अक्षर भएर दुई पद भएको आर्षी गायत्री हो । आर्षी गायत्रीमा नै एक अक्षर कम भएर २३ अक्षर भयो भने निचृत् आर्षी गायत्री हुन्छ । भुरिक् आर्षी गायत्रीमा एक अक्षर बढी भएर २५ हुन्छन् । स्वराट् आर्षी गायत्री २६ अक्षरको हुन्छ ।

भुरिक् आसुरी गायत्रीका २ पद, तिनमा पहिलो पद एक र दोस्रो पद १५ अक्षर गरी जम्मा १६ अक्षर हुन्छन् । दुई पद भएको र ती दुई पदमध्ये पहिलोमा १२ अक्षर र दोस्रोमा १० गरी जम्मा २२ अक्षर हुने द्विपदा विराट् गायत्री हो । दुवै पदमा १०, १० अक्षर रहेर जम्मा २० अक्षरको गायत्रीलाई द्विपाद् विराट् गायत्री भनिएको छ । पहिलो एक पाउ एक अक्षरको र अर्को पाउ सात अक्षरको गरी जम्मा आठ अक्षरको प्राजापत्या गायत्री हो ।

वास्तवमा छन्दलाई सबै अभिव्यक्ति, कर्म आदि सबैको व्यवस्था भनेर बुझ्न सकिन्छ र व्यवस्थित कथन वा व्यवहार सफल हुन्छ भने अव्यवस्था भएको कुनै पनि कुरा सफल हुँदैन । त्यसैले राज्यको व्यवस्था पनि एक प्रकारले छन्द नै हो ।

पाद निचृत् गायत्री तीन पाउको हो र यसका तीन पाउ नै सात-सात अक्षरका हुनाले जम्मा २१ अक्षरको हो । भुरिक् त्रिपाद गायत्री सात–सात र आठ गरी जम्मा २२ अक्षरको हुन्छ । पिपीलिका मध्या निचृत् गायत्री तीन पदमा आठ–सात, आठ अक्षरले जम्मा २३ अक्षरमा बनेको हुन्छ । त्यस्तै २२ अक्षरको भए पिपिलिका मध्या विराट् गायत्री हुन्छ र यो १०.२७ मा छ । ब्राहृमी गायत्रीका तीन पद क्रमशः ६, १२ र १८ गरी जम्मा ३६ अक्षरले बनेका हुन्छन् । विराट् ब्राहृमी गायत्रीमा ३४ अक्षर हुन्छन् । यवमध्या विराट् गायत्रीका तीन पाउमा क्रमशः ७, १० र ७ अक्षर हुन्छन् र यो जम्मा २४ अक्षरको हुन्छ । वर्धमाना गायत्रीमा क्रमशः छ-सात र आठ अक्षरका तीन पाउ हुन्छन् । शंकुमती गायत्रीका तीन पाउ आठ–आठ र पाँच अक्षरका छन् ।

गायत्री छन्दपछि मन्त्रमा त्रिष्टुप् छन्दको चर्चा आउँछ । यसलाई तीन प्रकारका ताप रोक्ने भन्ने मानिन्छ । त्रिष्टुप् छन्द सामान्यतया चार पदको हुन्छ र यसका प्रत्येक पदमा ११ अक्षर हुन्छन् । यसरी यस छन्दमा जम्मा ४४ अक्षर हुन्छन् । अक्षर र पद गणनाका दृष्टिले यसका पनि धेरै भेद छन् । मन्त्रमा यसपछि जगती छन्द को चर्चा छ । यसलाई जगतमा विस्तारित छन्द भन्दै लौकिक छन्द यसैबाट निःसृत भन्ने मानिन्छ । जगती छन्द ४८ अक्षरको हो । यसमा १२ अक्षरका दरले चार पद हुन्छन् । अक्षर र पदका दृष्टिले यसका अनेकौं भेद छन् । मन्त्रमा उल्लिखित अनुष्टुप् छन्दलाई संसारको कष्टनिवारक मानिन्छ ।

अनुष्टुप्मा आठ अक्षरका दरले चार पद हुन्छन् र जम्मा ३२ अक्षर पुग्छन् । लौकिक रूपमा प्रचलित अनुष्टुप्मा आठ-आठ अक्षरका दुई हरफले एक अनुष्टुप् पद्य बनाएको देखिन्छ । अक्षर र पदको असमानताका आधारमा अनुष्टुप् छन्दका पनि विविध भेद छन् । पंक्ति छन्द पाँच पदको हो । यसका प्रत्येक पदमा आठ अक्षर छन् । यसरी पंक्ति छन्द ४० अक्षरको हो ।

यसका पद र अक्षरका कम-बेसी भएका आधारमा विभिन्न भेद हुन्छन् । बृहती छन्दमा जम्मा ३६ अक्षर हुन्छन् । यसका चार पदमा क्रमशः आठ–आठ, १२, आठ अक्षर रहन्छन् । पद र अक्षर संख्यामा असमानता हुनाले यसका पनि विविध भेद रहेका छन् । उष्णिक् छन्दमा तीन पद हुन्छन् । पहिलो र दोस्रो पद ८, ८ अक्षरका र तेस्रो पद १२ अक्षर हुनाले जम्मा २८ अक्षर यस छन्दमा छन् ।

गायत्री छन्दका विषयमा यसरी सविस्तार चर्चा गरेपछि अरूको पनि त्यस्तै हो । यी निश्चित भएका छन्दमा सबैको एक अक्षर कमी भयो भने निचृत् थपेर त्यही नाम हुन्छ र एक अक्षर बढी भयो भने भुरिक् थपेर त्यही नाम हुन्छ । त्यसका अतिरिक्त विभिन्न छन्दका पाउहरूको मेलबाट भिन्न छन्दको निर्माण भएको देखिन्छ । यहाँ उल्लिखित तथा यीभन्दा अतिरिक्त छन्दको उदाहरण आवश्यकता भएको समयमा यजुर्वेदबाट हेर्न सकिन्छ । यी छन्दका सूचीहरूले शान्ति दिऊन् भन्ने मन्त्रमा उल्लेख छ ।

वास्तवमा छन्दलाई सबै अभिव्यक्ति, कर्म आदि सबैको व्यवस्था भनेर बुझ्न सकिन्छ र व्यवस्थित कथन वा व्यवहार सफल हुन्छ भने अव्यवस्था भएको कुनै कुरा सफल हुँदैन । त्यसैले राज्यको व्यवस्था एक प्रकारले छन्द नै हो । छन्द न बन्दसँग चलाइएका राज्यको हालत के हुन्छ भन्ने हामी सबैलाई थाहा नै छ । त्यसका विषयमा अरू धेरै कुरा भन्नुपर्ने रहेन । भगवान् रुद्र व्यवस्थाको नाम हो ।
रुद्रीको पाठ व्यवस्था नै हो । पूजाका नियम मिचेर गरिएका कर्मको फल पाइँदैन, त्यतिमात्रै नभएर त्यसबाट उल्टो हानि हुन्छ । त्यस्तै राज्यका सञ्चालक, मन्त्रीगण, राजसेवक, राजपुरुष, अर्थव्यवस्था यी सबै नियममा हुन्छन् । छन्द वा व्यवस्थाको विकास वेदमा भएको हुनाले वेदमा लौकिक जीवन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?