जुलाईले तोड्यो गर्मीको रेकर्ड, बन्यो विश्वकै तातो महिना

Read Time = 2 mins

एजेन्सी । यो वर्ष जुलाई तापक्रमको रेकर्ड राख्न थालेयताकै उच्च गर्मी भएको महिना बनेको छ । अनुसन्धानकर्ताहरूले सन् २०१९ को रेकर्ड तोड्दै सन् २०२३ को जुलाई इतिहासकै तातो महिना बनेको बताएका छन् । बढ्दो तापक्रमलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो ग्रह उम्लिएको युगमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ ।

गर्मी अत्यधिक बढ्नुमा जिश्वाम इन्धनको प्रमुख कारण रहेको वैज्ञानिकहरूको भनाइ छ । रुखको भित्री भाग, कोरल रिफ र समुद्रको गहिराइजस्ता विभिन्न किसिमका अध्ययनबाट तयार पारिएको तथ्यांक विश्लेषणका आधारमा जुलाई महिना एक लाख २० हजार वर्षयताकै गर्मी महिना भएको विज्ञहरूको दाबी छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार विश्वको सबैभन्दा तातो दिन जुलाई ६ मा रेकर्ड भएको छ । यो महिनाका २३ दिन सबैभन्दा तातो दिन बनेका छन् । सन् २०१९ को जुलाईको औसत तापक्रम १६.६३ डिग्री सेल्सियसको रेकर्ड तोड्दै सन् २०२३ को जुलाईको औसत तापक्रम महिना नसकिँदै १६.९५ डिग्री सेल्सियस पुगेको हो ।

यो महिना सकिन अझै केही दिन बाँकी नै छ । युरोप र अमेरिकासमेत विश्वका थुप्रै हिस्सामा भीषण गर्मीको प्रकोप छ । धेरै देशमा चर्को गर्मी बढिरहेको छ । जुलाईमा असाधारण गर्मी देखिएको छ । वैज्ञानिकले यो ग्लोबल वार्मिङको नतिजा भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन हाम्रो अस्तित्वका लागि चुनौती बनेको बताउनुभएको छ । उहाँका अनुसार अब कसैले पनि जलवायु परिवर्तनको वास्तविकतालाई अस्वीकार गर्न सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?