चीन, इंग्ल्याण्ड र स्वीडेनको जित

Read Time = 3 mins

लण्डन । फिफा महिला विश्वकपमा चीन, इंग्ल्याण्ड र स्वीडेनले जित हात पारेका छन् । स्वीडेनले इटालीमाथि पाँच-शून्यको सानदार जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

स्वीडेनको जितमा अमेन्डा आइलेस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनिअस र रेविका ब्लोमभिस्टले समान एक-एक गोल गर्नुभयो । खेलको ३९औँ मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई एक-शून्यको अग्रता दिलाउनुभयो । ४४औँ मिनेटमा फ्रिडोलिना रोल्फोले स्वीडेनको अग्रता दोब्बर पार्नुभयो ।

पहिलो हाफको इन्जुरी समयमा स्टिनाले गोल गर्दै स्वीडेनको अग्रता तेब्बर पार्नुभयो । ५०औँ मिनेटमा एमान्डाले चौथो र इन्जुरी समयमा रेविका ब्लोमभिस्टले गोल गर्दै स्वीडेनलाई सानदार जित दिलाउनुभयो ।

यस जितसँगै नकआउट चरणमा पुगेको स्वीडेनको समूह ‘जी’ मा दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै इटाली तीन अंक जोडेर दोस्रो स्थानमा छ । अर्जेन्टिना र दक्षिण अफ्रिकाको समान एक अंक छ ।

यस्तै, १० खेलाडीमा समेटिएको चीनले हाइटीलाई एक-शून्यले पराजित गरेको छ । चीनको जितमा दोस्रो हाफमा सुआङ वाङले पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो । उहाँ ७४औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्न सफल हुनुभएको थियो ।

यस जितसँगै चीनले समूह ‘डी’ मा दुई खेलबाट तीन अंक जोडेर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । पराजित हाइटी अंकविहीन हुँदै पुछारमा रहेर समूह चरणबाटै बाहिरिएको छ ।

यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई एक-शून्यले पराजित गर्दै समूहमा लगातार दोस्रो जित निकालेको छ । इंग्ल्याण्डको जितमा पहिलो हाफमा लौरेन जेम्सले निर्णायक गोल गर्नुभयो । लौरेनले खेलको छैटौँ मिनेटमा रचेल डालीको पासमा गोल गर्नुभएको थियो ।

यस जितसँगै समूह ‘डी’ मा इंग्ल्याण्डको दुई खेलबाट ६ अंक पुगेको छ । पराजित डेनमार्क दुई खेलबाट तीन अंक जोडेर दोस्रो स्थानमा छ । इंग्ल्याण्डलाई अब नकआउट चरणमा पुग्न हाइटी र चीनले बराबरी खेले पर्याप्त हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?