सन्दीपलाई क्यानडामा फेरि अर्को अवार्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट प्रतियोगितामा फेरि अर्को अवार्ड जित्नुभएको छ । सर्रे जागुअर्सबाट खेलिरहनुभएका सन्दीपले शनिबार भएको मिसिसौगा प्यान्थर्सविरुद्धको खेलमा मोमेन्ट अफ द म्याचको अवार्ड जित्नुभएको हो ।

योसँगै सन्दीपले सर्रेका तीनवटै खेलमा अवार्ड जित्नुभएको छ । तीनवटै खेलमा मोमेन्ट अफ द म्याच अवार्ड जित्दै सन्दीपले ४०० डलरको पुरस्कार जित्नुभएको छ ।

शनिबार बिहान मिसिसौगा प्यान्थर्सविरुद्ध सर्रेलाई ५५ रनको जित दिलाउने क्रममा सन्दीपले तीन ओभरमा १८ रन खर्चेर तीन विकेट लिँदै तेस्रोपटक अवार्ड जित्नुभएको हो । जितका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स एक समय १२ ओभरमा ८८-३ को बलियो स्थितिमा हुँदा सन्दीपले सानदार प्रदर्शन गर्दै सर्रेलाई विजयी गराउनुभएको थियो । सन्दीपले १३औँ ओभरको चौथो बलमा ३३ रन बनाएर खेलिरहनुभएका क्यामरन दीलपोर्ट र त्यसको एक बलपछि जेम्स निसमलाई स्टम्पिङ आउट गराउनुभएको थियो ।

त्यसपछि प्यान्थर्स १०९ रनमै अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेका लागि जतिन्दर सिंहले ४५ बलमा पाँच चौका र एक छक्कासहित ५७ रन बनाउनुभयो । यस्तै, एलेक्स हेल्सले २१ बलमा नौ चौकासहित ३१, लिटन दासले ३० बलमा एक चौका र एक छक्कासहित २५ रन बनाउनुभयो । प्यान्थर्सका जहुर खानले चार ओभरमा ३६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

यसअघि सन्दीपले टोरन्टो नेशनलविरुद्ध चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिँदै मोमेन्ट अफ द म्याचको अवार्डसमेत जित्नुभएको थियो । सन्दीपले मोन्टरिएलविरुद्धको खेलमा पनि मोमेन्ट अफ द म्याचको अवार्ड जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?