गोडैता बजारको अवस्था सामान्य : सामाजिक सद्भाव कायम राख्ने सहमति

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको गोडैतामा सामाजिक सद्भाव कायम राख्न दुवै पक्षले संयमता अपनाउने आइतबार बसेको बैठकमा सहमति भएको छ ।
गोडैता नगरपालिका–७ र ८ स्थित गोडैता बजारमा इस्लाम धर्मावलम्वीको दाहा पर्व मनाउने क्रममा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडप रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर नै गर्नुपर्यो ।

झडपमा ६ जना स्थानीय र ४ प्रहरी घाइते समेत भए । सो घटनापछि थप विवाद सिर्जना हुन नदिन आइतबार दिउँसो जिल्ला समन्वय समिति मलंगवामा सर्वदलिय/सर्वपक्षिय बैठक राखेर छलफल गरिएको हो ।

सीडीओ इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले उक्त अप्रिय घटनाप्रति दुःख व्यक्त गरी दुवै समुदायले मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, धार्मिक सद्भाव तथा सामाजिक सद्भाव कायम राख्न संयमता अपनाउने र त्यसका लागि सबैले आ–आफ्नो दायित्व पुरा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै, धार्मिक सद्भाव, जातिय सद्भाव, सांस्कृतिक सद्भाव कायम राख्न जिल्ला सुरक्षा समितिको तर्फबाट सार्वजनिक अपिल जारी गर्ने सहमती भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, चारवटै सुरक्षा निकायका प्रमुख, दुवै समुदायका अगुवा, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । बैठक बस्नुअघि आइतबार बिहान प्रमुख जिल्ला अधिकारी यादवसहित सुरक्षा निकायका प्रमुखको टोलीले शनिबार झडप भएको गोडैता बजार क्षेत्रको निरीक्षण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?