काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक र देखिनेगरी सुधार ल्याउन जरुरी रहेकाले त्यसका लागि सरकारले आवश्यक तयारी थालिसकेको बताउनुभएको छ । त्यसका लागि ठूला बस सञ्चालनमा ल्याउनेगरी आवश्यक प्रबन्ध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालिसकेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परीक्षणकै रुपमा भए पनि ठूला बस ‘बिआरटी’ सञ्चालन गरेर यातायातको चाप कम गर्ने तयारी गरिएको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी असोज १ गतेदेखि रत्नपार्क–सूर्यविनायक खण्डमा बिआरटी सञ्चालनको आवश्यक तयारी गरेको छ ।

मन्त्रालयले कार्यालय समयमा सहज रुपमा यात्रुलाई सेवा दिन सो बस चलाउने तयारी गरेको भए पनि प्रधानमन्त्री दाहालले कार्यालय समयभन्दा पछिको समयमा सो बस चलाएर परीक्षण गर्नसमेत सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले त्यसका लागि आवश्यकपर्ने ट्राफिक सङ्केत, ट्राफिक प्रहरी परिचालन, जनचेतना तथा ट्राफिक बत्तीलगायतको प्रबन्ध गर्नसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले सडक सङ्केतको उचित प्रबन्ध गर्न पनि आग्रह गर्दै आवश्यक तयारी गरेर उपत्यकावासीलाई प्रत्यक्ष रुपमा राहत दिन जरुरी रहेको बताउनुभयो ।

यस्तै, प्रधानमन्त्री दाहालले साझा यातायातले ल्याएको ४० वटा बस सञ्चालन गर्ने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो । साझा यातायातले आयात गरेको विद्युतीय बस चार्जिङ स्टेशन नभएको भन्दै सञ्चालनमा ल्याउन सकेको छैन । साझा यातायाताको पुल्चोकस्थित जग्गामा कति सकिन्छ त्यति नै चार्जिङ स्टेशन निर्माणको प्रबन्ध गर्नेगरी सहजीकरण गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले उपत्यकामा अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणको आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसबाहेक मुलुकका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि आवश्यक व्यवस्था गरिहाल्न भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयलाई निर्देशन दिनुभयो ।

विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी हुँदै गएकाले अत्यावश्यक स्थानमा तत्काल चार्जिङ स्टेशनको प्रबन्ध गरिहाल्नसमेत प्रधानमन्त्री दाहालले जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनमध्ये एकाध बाहेक धेरै चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले काठमाडौँ उपत्यकाको सार्वजनकि यातायात सुधारका लागि मन्त्रालयले आवश्यक पहल थालिसकेको बताउनुभयो । उहाँले त्यसैको तयारी स्वरुप नै बिआरटी चलाउन लागिएको जानकारी दिनुभयो । मन्त्री ज्वालाले यातायात व्यवस्था विभाग, सडक विभागका पदाधिकारी सम्मलित कार्यदलले अध्ययन गरेर आवश्यक तयारी गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार त्यसका लागि ४० सिट ठूला बसको प्रबन्ध गर्न लागिएको छ ।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले राज्यको ठूलो लगानी परेको साझा यातायाताको बस तत्काल सञ्चालनको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीलाई उत्साहित गर्ने तवरले केही कार्यक्रम अगाडि बढाउनुपर्ने, उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । छलफलमा ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका, सडक तथा यातायात क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?