पाकिस्तानमा आत्मघाती विष्फोट : मृत्यु हुनेको संख्या कम्तीमा ४४, घाइतेको संख्या २००

Read Time = 2 mins

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विष्फोटमा परी मृत्यु हुनेको संख्या कम्तिमा ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्री रियाज अनवरले सोमबार जानकारी गराउनुभएको छ । रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौजना घाइतेको मृत्यु भएपछि मृतकको संख्यामा वृद्धि भएको हो ।

बम विष्फोटमा परी दुई सयभन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये एक सयभन्दा बढीको अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गर्दै अनवरले सबै गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत प्रान्तीय राजधानी पेशावर लगिएको जानकारी दिनुभयो ।

जिल्लाको मुण्डा खार सडकको शान्ते मोर क्षेत्र नजिकै जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआई-एफ)को राजनीतिक भेलाका क्रममा एक आत्मघाती आक्रमणकारीले आफ्नो ज्याकेटमा राखिल्याएको विष्फोटक पदार्थ विस्फोट गराएको प्रहरीले जनाएको छ ।

आक्रमणमा भेलामा आएका केही उलेमा-ए-इस्लाम-फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारणसमेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थानीयस्तरका उच्च नेताको समेत मृत्यु भएको थियो ।

आक्रमणको जिम्मेवारी सोमबार यो समाचार तयार पार्दा कुनै व्यक्ति वा समूहले लिएको छैन । उक्त क्षेत्रमा यस पहिले पनि उक्त दलको कार्यक्रमलाई लक्षित गरी स्थानीय इस्लामिक स्टेट (आइएस)ले आक्रमण गरेको थियो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?