अमेरिकासँग बराबरी खेल्दै बाहिरियो पोर्चुगल

Read Time = 4 mins

पर्थ । चारपल्टको च्याम्पियन अमेरिकासँग बराबरीमा रोकिएपछि पोर्चुगल फिफा महिला विश्वकप फुटबल २०२३ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरण पार गर्न जित निकाल्नैपर्ने खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगल समूह ‘ई’ मा तेस्रो हुँदै बाहिरिएको हो । पोर्चुगललाई बराबरीमा रोकेको अमेरिका भने समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । फिफा महिला विश्वकपको इतिहासमा पोर्चुगल पहिलोपल्ट नकआउट चरणमा पुग्न असफल रहृयो ।

यस बराबरीसँगै अमेरिका तीन खेलबाट पाँच अंक जोडेर समूहमा दोस्रो भएर अन्तिम १६ मा पुग्न सफल हुँदा पोर्चुगल चार अंक जोडेर तेस्रो भयो । नेदरल्याण्ड्स सात अंक जोडेर शीर्षस्थानमा रहँदा भियतनाम अंकविहीन हुँदै बाहिरियो ।

यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले भियतनामलाई ७-० ले पराजित गर्दै समूह विजेता बन्यो । नेदरल्याण्ड्सको जितमा इस्मी बु्रट्स र जिल रुडले समान दुई तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले समान एक-एक गोल गर्नुभयो ।

खेलको आठौँ मिनेटमा लेकी मार्टिन्सको गोलबाट नेदरल्याण्ड्सले अग्रता लियो । ११औँ मिनेटमा कट्जा स्नोइसले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । १८औँ मिनेटमा इस्मीले गोल गर्नुभएपछि नेदरल्याण्ड्स खेलमा ३-० ले अघि बढ्यो ।

२३औँ मिनेटमा जिल रुडले गोल गर्नुभएपछि नेदरल्याण्ड्सले २३ मिनेटमै ४-० को आरामदायी अग्रता लियो । ४५औँ मिनेटमा ड्यानिलले र ५७औँ मिनेटमा इस्मीले छैटौँ गोल गर्नुभयो । यस्तै, ६७औँ मिनेटमा लेकीले सातौँ गोल गर्दै टोलीलाई जित दिलाउनुभयो ।

यस जितसँगै अपराजित रहेको नेदरल्याण्ड्सले समूह ‘ई’ मा तीन खेलबाट सात अंक जोडेर शीर्षस्थान कब्जा गर्‍यो । समान खेलबाटै अमेरिकाले पाँच, पोर्चुगलले चार तथा भियतनाम अंकविहीन बन्यो ।

यस्तै, सह–आयोजक अष्ट्रेलिया समूह विजेता बन्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्‍यो । समूह चरणको अन्तिम खेलमा क्यानडालाई ४-० अन्तरले पराजित गर्दै अष्ट्रेलिया समूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलियासँगको हार र अर्काे खेलमा नाइजेरिया र आयरल्याण्डले गोलरहित बराबरी खेलेपछि क्यानडा भने समूह चरणबाटै बाहिरियो ।

अष्ट्रेलियाको जितमा हेली रासोले दुई तथा मारी फोलेर र स्टेफ क्याट्लेले समान एक गोल गर्नुभयो । जितसँगै अष्ट्रेलिया समूह ‘बी’ मा तीन खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहृयो । पराजित क्यानडा चार अंक जोडेर तेस्रो स्थानमा रहृयो । नाइजेरिया पाँच अंक जोडेर उपविजेता हुँदै अघिल्लो चरण प्रवेश गर्न सफल हुँदा आयरल्याण्डले एक अंक बटुल्यो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?