संसद् बैठक स्थगित गर्न सरकारले सभामुखलाई दबाब दियो : ओली

‘सुन तस्करीमा सरकारकै संलग्नता भएकाले उच्चस्तरीय छानविन हुनुपर्छ’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । वामपन्थी नेता तुलसीलाल आमात्यको २६औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन नगर्नेसमेत बताउनुभयो । ‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्षपछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर, दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले’, ओलीले प्रश्न गर्दै भन्नुभयोे, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’

उहाँले सुन तस्करीको उच्चस्तरीय छानविन समिति बनाऊँ भन्दा सरकारले नमानेको समेत बताउनुभयो । ‘किन मान्दैन सरकार ? हामी छानविन गर्दै छौँ भन्छ । उहाँहरू आफैँ मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु’, ओलीको भनाइ छ ।

उहाँले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दासमेत नमानेको बताउनुभयो । पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद् बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको जिकिर गर्नुभएको हो । गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद् बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद् बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गर्नुभयो । उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताउनुभयो । उहाँले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताउनुभयो । अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताउनुभयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै भन्नुभयो, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईंले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन ? के छ तपाईंको विचार ?’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले एमालेबाहेक अरूले देश चलाउनै नसक्ने दाबीसमेत गर्नुभयो । ‘सकेन नि । दश टाउके भएर पनि चलाएनन् । हामी हुँदा त्यत्रो कोभिड हुँदा पनि देश तहसनहस हुन दिएका थिएनौँ । हामी हुँदा तीन÷चार लाख विदेश गएका थिए अहिले ११ लाख गएका छन्’, ओलीले भन्नुभयो, ‘त्यति धेरै मान्छे विदेश गए पनि १० खर्ब रेमिट्यान्स पनि आउँदैन ।’ अध्यक्ष ओलीले राष्ट्रिय हितका लागि काम गर्न एमालेले मिसन २०८४ अभियान चलाएको पनि बताउनुभयो । उहाँले भन्नुभयोे, ‘देशलाई माया गर्ने र परिवर्तनकारी शक्तिहरू सानातिना कुरा छाडेर आउनुस् परिवर्तनका लागि एकजुट भएर अघि बढ्नुपर्छ । राष्ट्रिय शक्ति बन्नुपर्छ । एमाले राष्ट्रिय शक्तिको अगुवामा मात्र हुन सक्छ ।’

लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न माग गर्दै प्रदर्शन
नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरूले लम्पी स्किन देशव्यापी रूपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे । प्रदर्शन कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दासमेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताउनुभयो । उहाँले देशभरका किसानहरूलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । उहाँले पशुलाई लम्पी स्किनको खोप दिन पनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनुभयो । प्रदर्शनमा सहभागीहरूले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बिमा उपलब्ध गराऊ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?