जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भए : पूर्वसभामुख ढुंगाना

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालबाट राजतन्त्र बिस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताउनुभएको हो । उहाँले नेपालमा केवल राजस्थ बिस्थापित भएको गणतन्त्र मात्र भएको बताउनु भयो ।

उहाँले गणतन्त्रमा जनताको हीत हुनुपर्ने भएपनि जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भएका बताउनु भयो । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उहाँको भनाई छ । उहाँले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालको राजनीतिमा कसको माथिल्लो हात हुने ? कहिले राणाहरुको भयो । कहिले शाह परिवारको भयो । जनताको कहिले हुने , अहिले पनि त्यही प्रश्न छ । नेपालको राजनीतिमा, यो राज्यमा कसको हात माथि हुने ? त्यो प्रश्न अहिले पनि अनुत्तरित छ । रिपब्लिक भनेको के हो भने जहाँ कुनै सामन्त या कुनै जन्मजातको आधारमा राजा हुँदैन । त्यहाँ जनता शिवाय कोही हुँदैनन् । जनताकै शासन हुन्छ । जनप्रतिनिधिकै शासन हुन्छ । तर अहिले हामीकहाँ रिपब्लिक पनि कस्तो भइरहेको छ भने राजसंस्था बिस्थापित भएको रिपब्लिक भएको छ । राजसंस्था छैन । तर जनसंस्था स्थापित भएको छैन । राजसंस्था बिस्थापित भएको गणतन्त्र छ हामीकहाँ । तर जनसंस्था स्थापित भएको गणतन्त्र छैन । जनता सबल हुनुपर्छ । जनताको संस्थाले जनतालाई चलाएर, जनताको हीत भइरहेको भन्ने हुनुपर्छ । तर यहाँ त जनप्रतिनिधिहरु, जनसंस्थाहरु पनि व्यापारी भन्दापनि मुनाफाखोर । अनुचित लाभ लिन राजनीति गरेका छन् । राजनीति पनि एउटा व्यापारको उद्योगधन्दा, व्यापारि भन्दापनि नराम्रो भइरहेको छ राजनीति । जनसंस्था खोइ ? राजसंस्था त गयो, जनसंस्था त चाहियो नि । अहिले हामी यस्तो संक्रमणकालमा छौँ, जहाँ राजसंस्था छैन, जनसंस्था पनि छैन । म फेरि दोहो¥याएर भन्न चाहन्छु, राजसंस्था नभएको अवस्था हो तर जनसंस्था भएको अवस्था होइन । जनताको शासन भएको अवस्था होइन । नेपालको राजनीतिको यथार्थ अहिले पनि यही छ ।’

उहाँले गणतन्त्रमा नक्कली भूटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु हुनु नहुने बताउनु भयो । यि दुई प्रकरणलाई देखाउँदै उहाँले जनसंस्था र जनताको शासन यस्तो हुन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?