सुनचाँदी व्यवसायीलाई गोएएमएल सफ्टवेयरबारे प्रशिक्षण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले महासंघमा आबद्ध सुनचाँदी व्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण दिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआइयु) सँगको सहकार्यमा प्रशिक्षण दिइएको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सम्पत्ति शुद्धीकरण अभियानअन्तर्गत विश्व बजारमा विभिन्न किसिमका नयाँ-नयाँ प्रविधि प्रयोग भइरहेकोे विद्यमान अवस्थामा नेपालमा पनि गोएएमएल सफ्टवेयर सञ्चालनमा आएको बताउनुभयो । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्न सहयोग पुर्‍याउने उद्देश्यले विश्वका विभिन्न देशमा यस किसिमका सफ्टवेयरको प्रयोग भइरहेको उहाँले बताउनुभयो ।

महासंघका अनुसार प्रशिक्षण कार्यक्रममा देशभरका विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायीको सहभागिता थियो । सो अवसरमा व्यवसायीलाई गोएएमएल सफ्टवेयर र परिचय, आवश्यकता तथा व्यवसायीको दायित्व र जिम्मेवारीलगायतका विषयमा जानकारी गराइएको थियो । राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका प्रमुख केशवप्रसाद रिमालले गोएएमएल सफ्टवेयर र आवश्यकताबारेमा बताउनुभएको थियो भने राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका आइटी विज्ञ दिपक पराजुलीले गोएएमएल सफ्टवेयर र प्रयोगका विषयमा व्यवसायीलाई प्रशिक्षण दिनुभएको थियो ।

उहाँका अनुसार नेपालमा सुनचाँदीको कारोबार गर्ने व्यवसायीमध्ये एकै पटक १० लाख वा सोभन्दा बढीको कारोबार गर्ने व्यवसायीले त्यस्तो कारोबार गर्ने व्यक्तिको विवरण गोएएमएल सफ्टवेयरमार्फत् भर्नुपर्ने हुन्छ । सो जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा पुग्दछ । त्यसका आधारमा शंकास्पद कारोबार लागेको खण्डमा राष्ट्र बैंकले थप अनुसन्धान गर्ने र छानबिनका लागि सम्बद्ध निकायमा सिफारिस गर्ने लगायतका कार्य गर्छ ।

महासंघका द्वितीय उपाध्यक्ष दियेशरत्न शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, महासचिव धर्मसुन्दर बज्राचार्यलगायत विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायीको सहभागिता थियो । गोएएमएल वित्तीय जानकारी उपलब्ध गराउने एकीकृत सफ्टवेयर हो । जुन सफ्टवेयर लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (युएनओडिसिज) कार्यक्रमअन्तर्गत लागू गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?