७५३ वटै पालिकामा ‘सेवा दल’ गठन गर्न कांग्रेसको परिपत्र

अभियानमा खटेका प्रतिनिधिलाई १८ बुँदे कार्यविधि

Read Time = 9 mins

काठमाडौं । नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा गाउँ सेवा दल गठन गर्ने भएको छ । स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रूपमा मानवीय सेवाका कामहरू गर्ने उद्देश्यले कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा गाउँ सेवा दल गर्न लागेको जनाएको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सबै स्थानीय तहमा सेवा दल गठन गर्न परिपत्र गरिएको जानकारी दिँदै केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘देशभर सबै पालिकामा हाम्रो पार्टीको संगठन छ, ती संगठनको मातहतमा रहने गरी गाउँमा रहेका युवाहरूको संलग्नतामा ‘गाउँ सेवा दल’ गठन हुन्छ । ती सेवा दलले त्यस क्षेत्रमा मानवीय सेवाका विभिन्न गतिविधि गर्छन् । जनताको सुखदुःखमा साथ दिन्छन् ।’

प्रचार विभाग प्रमुख विश्वकर्माले गत साता बसेको केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम ७५३ वटै पालिकालाई सेवा दल गठन गर्न परिपत्र गरिसकिएको छ । गाउँपालिका क्षेत्रमा गाउँ सेवा दल गठन हुने र सहरी क्षेत्रमा भने फरक नाम दिएर सेवा दलहरू सञ्चालन हुने बताइएको छ । सेवा दलले प्राकृतिक विपद् मात्रै नभएर सामाजिक रूपमा समेत आउने विभिन्न समस्याहरूमा पनि नागरिकको साथमा रहेर काम गर्ने बताइएको छ । साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको थियो । कांग्रेसका विद्यार्थी, तरुण र महिलालगायत दर्जनौँ भ्रातृ तथा शुभेच्छुक संस्थाहरू छन् । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख विश्वकर्मा लगायतले कार्यविधि बनाइरहेका छन् ।

स्थानीय तहमा रहेका कांग्रेसका कार्यसमितिले आफू मातहत रहने गरी गाउँ-नगर सेवा दल गठन गर्ने बताइएको छ । कांग्रेसले यो वर्ष पाँचदेखि सात लाखसम्म सदस्य थप गर्ने नीति लिएको छ । सामाजिक काममा जोडिए यो लक्ष्य हासिल गर्न सकिने उसको बुझाइ छ । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य आठ लाख ४६ हजार ७२९ पुगेको थियो । कांग्रेसमा यसअघि टोल, वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहको संरचना छ ।

तरुण दलको चेतावनी
नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजू राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाप हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ । शुक्रबार तरुण दलका अध्यक्ष विद्वान् गुरुङले विज्ञप्ति जारी गर्दै देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झुठा र अनर्गल पोष्ट गरिएको बताउनुभएको छ । कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट आरजूको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृह मन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ ।’ तरुण दलको आग्रहलाई बेवास्ता गरी कानुनविपरीत कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैँ प्रतिकारमा उत्रने अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सदस्य कोइरालाको कारबाही फुकुवा
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही फुकुवा गरेको छ । गत मंसिरमा सम्पन्न आम चुनावमा चितवन-३ मा पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिएपछि कोइराला पार्टीबाट स्वतः निष्कासनमा पर्नुभएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन-३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवार बनेपछि कोइरालाले विद्रोह गर्नुभएको थियो । स्वतन्त्र उम्मेदवारी दिनुभएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित हुनुभएको थियो । तर, वैशाख १० मा भएको उपनिर्वाचनमा कोइरालाले चितवन-२ मा पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा खुलेर लाग्नुभएको थियो । सोही क्रममा कोइरालाले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार गर्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाउनुभएको थियो ।

कारबाही फुकुवा भएसँगै कोइरालाले अब आगामी असोज २ गते बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुने पाउनुहुने छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले भन्नुभयो, ‘केन्द्रीय सदस्य दिनेश कोइरालासहित तीन जनाको कारबाही फुकुवा भइसकेको छ । मेरो प्रतिवेदनमा उहाँको नाम थियो । बैठकले अनुमोदन गरिसकेपछि कारबाही फुकुवा भइसक्यो ।’

सभापति देउवाले दिए १८ बुँदे कार्यविधि
नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अभियानमा खटिएका प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिनुभएको हो । साथै, असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि प्रतिनिधिहरूलाई दिइएको छ । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला-जिल्ला पुगिसकेका छन् । कांग्रेसले सहमहामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई जिल्ला–जिल्ला खटाएको छ । सबै जिल्ला अभियान आज (शनिबार) बाट सुरु हुँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?