पुस्तक : सुशीला पौडेलको उपन्यास ‘तृषा’

सुशीला घिमिरे
Read Time = 8 mins

मैले भरखरै पढिसिध्याएको पुस्तक हो ‘तृषा’ । यो उपन्यास हो । विशेष गरी गीत, गजल, मुक्तक, कवितालगायतका गेय र काव्यात्मक विधाहरूमा रमाउँदै आउनुभएकी पौडेलले पहिलो पटक आख्यानमा पनि हात हाल्नुभएको छ । ‘तृषा’ शिखाबुक्सले प्रकाशन गरेको उपन्यास हो । ज्ञानज्योति बुक्स पब्लिकेसन प्रालि अद्वेतमार्ग, बागबजार वितरक रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जो २०७६ सालमा प्रकाशित भएको छ । सर्वाधिकार उपन्यासकार पौडेलमै रहेको यस उपन्यासको लेआउट सन्तोषकुमार दाहालको छ । भाषासम्पादन तथा शुद्धाशुद्धिको काम भुवनहरि सिग्देल र दीपक नेपालले गर्नुभएको छ ।

पुस्तक डिएमआई साइजभन्दा केही सानो साइजमा छ जसलाई स्ट्यान्डर्ड साइज वा उपन्यास साइज पनि भनिन्छ । उपन्यास भूमिका खण्डसमेत गरी २२० पृष्ठको छ । यसको मूल्य ३५० रुपैयाँ राखिएको छ भने विदेशीका लागि १० डलर छ । मुद्रण ‘नेपालमा’ भनिएको हुनाले कुन प्रेसमा यसको मुद्रण भएको हो भन्ने यकिन भएन । यस पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ तर केही अशुद्धि र भाषिक कमजोरीहरू धेरै पाइन्छन् । आवरणमा अमूर्त कला प्रयोग भएको छ ।

पुस्तकको अन्तिम पातोमा उपन्यासकारले ‘मेरो भन्नु’ शीर्षकमा छोटोमा आफ्ना कुरा राख्नुभएको पाइन्छ । भूमिकाखण्डमा ‘प्रक्षेप’ रहेको छ । यो यस उपन्यासको सारसङ्क्षेप हो भन्न सकिन्छ । त्यसपछि उपन्यासको मूल कथा सुरु हुन्छ ।

माथि ठूला राता अक्षरमा पुस्तकको शीर्षक ‘तृषा’ भनेर राखिएको छ भने त्यससँगै साना अक्षरमा उपन्यासकारको नाम दिइएको छ । सेतो, कालो र नीलो पृष्ठभूमिमा पानी परिरहेको र केही मानिस छाता ओढेर हिँडिरहेका जस्तो अमूर्त कला आवरणमा देख्न सकिन्छ । पृष्ठ आवरणमा यस उपन्यासबारे भनेको छोटो टिप्पणी छ र त्यहाँ ‘आधुनिक नारीका यौनकुण्ठालाई कलात्मक सूत्रमा बुनिएको औपन्यासिक कृति हो तृषा । यस कृतिमा एकजना पुरुषको अहम्बाट पीडित नारी अर्को पुरुषको प्रेमसम्मोहनको भुँमरीमा फनफनी घुमेकी छन्’ भनिएको छ ।

यही पृष्ठमा प्रकाशक संस्था शिखाबुक्सको नाम लोगोसहित दिइएको छ । बारकोडसँगै पुस्तकको मूल्य उल्लेख गरिएको छ । पृष्ठ आवरणको भित्रपट्टि उपन्यासकार पौडेको ठूलो फोटो राखिएको छ र त्यहाँ उहाँको छोटोमा परिचय र संलग्नता उल्लेख भएको छ । पुस्तको अन्तिम पातोमा उपन्यासकारले ‘मेरो भन्नु’ शीर्षकमा छोटोमा आफ्ना कुरा राख्नुभएको पाइन्छ । उपन्यासको समर्पणमा ‘सम्पूर्ण पाठकवर्गप्रति समर्पित...’ भनिएको छ र त्यसपछि ‘प्रक्षेप’ छ । यो यस उपन्यासको सारसङ्क्षेप हो भन्न सकिन्छ । त्यसपछि उपन्यासको मूल कथा सुरु हुन्छ । कथामा कथानक, चरित्र वा पात्र, वातावरण वा परिवेश, भाषाशैली र उद्देश्य वा सन्देश जस्ता तत्व रहेका हुन्छन् ।

प्रमोद र प्रमिलाको वैवाहिक जीवन एकातिर छ भने प्रमोदको व्यावसायिक व्यस्तता छँदैछ । अर्कातिर प्राचार्य र सावित्रीको अन्तरजातीय प्रेमविवाह पनि उपन्यासमा देखाइएको छ । यसका साथै प्रमिलाको यौनकुण्ठा र जीवनसँग उसको संसर्ग पनि उपन्यासले देखाएको छ ।

उपन्यासमा पनि यिनै तत्व रहन्छन् । तैपनि कथा र उपन्यास भनेका एकै होइनन्, फरक हुन् । एउटै जातका ठूला र साना वस्तुजस्ता हुन् कथा र उपन्यास । कागती जस्तो कथा र भोगटे जस्तो हो उपन्यास । भोगटेको एक केस्रो कागती होइन अनि कागतीको ठूलो पोको भोगटे होइन । यी दुई ठुला साना छन् र पृथक पनि । त्यस्तै हो कथा र उपन्यास भनेको । कथाले थोरै पात्रको थोरै पक्षको चित्रण गर्छ भने उपन्यासले धेरै पात्रको धेरै पक्षको चित्रण गर्छ । उपन्यासमा एउटा मूलकथाबाट धेरैवटा उपकथा सिर्जना भएका हुन्छन् ।

त्यसैले कथा सूक्ष्म र उपन्यास स्थूल रचना हुन् । साहित्यकार लक्ष्मीप्रसाद देवकोटाले त्यसैले त कथाका बारेमा ‘कथा एउटा सानो झ्याल हो जसबाट एउटा सानो संसार चियाइन्छ । यो पनि एउटा संसार हो र महान संसार हो’ भनेका हुन् । उपन्यासकार पौडेलले यस उपन्यासको कथालाई कतै प्रेमकथा, कतै व्यापारिक व्यावसायिक जीवन अनि परिवारप्र्रतिको बेवास्ता र कतै मानिसमा रहेको ठगी र फट्याइँ मानसिकताको कसीमा घोटेर प्रस्तुत गर्नुभएको छ । उमेरले धेरै परिपक्व नबन्दैको अवस्थामा पौडेलद्वारा यो उपन्यास लेखिएको छ र यो नै उहाँको पहिलो औपन्यासिक कृति भए तापनि यसमा औपन्यासिक तत्वहरूको अन्विति र औपन्यासिकता भरपूर छन् ।

प्रमोद र प्रमिलाको वैवाहिक जीवन एकातिर छ भने प्रमोदको व्यावसायिक व्यस्तता छँदैछ । अर्कातिर प्राचार्य र सावित्रीको अन्तरजातीय प्रेमविवाह पनि उपन्यासमा देखाइएको छ । यसका साथै प्रमिलाको यौनकुण्ठा र आफू विवाहित भएर पनि उसको श्रीमान्कै व्यापारिक प्रतिष्ठानमा मेनेजर रहेको जीवनसँग उसको आकर्षण बढ्दै गएर अन्त्यमा जीवनसँगको शारीरिक सम्बन्धसम्म पुगेको देखाइएको छ । अन्त्यमा जीवनले एकातिर कुनै बाहनामा प्रमेदसँग चार-पाँच रुपैयाँ उम्काउँछ र प्रमिलासँग पनि चारपाँच लाख रुपैयाँ उम्काएर विदेश पलायन हुन्छ ।

उपन्यास पठनीय छ । यो छोटो समीक्षामा धेरै कुरा लेख्न सम्भव हुँदैन । यसको विहङ्गम समालोचना नै गर्नुपर्ने हुन्छ, पाठकलाई ‘तृषा’ पढ्न सुझाब दिनु म आफ्नो दायित्व हो भन्ने ठान्छु । पुस्तकका लागि सुशीला पौडेललाई बधाई तथा शुभकामना । उहाँबाट यस्ता अन्य विविध विषयका पुस्तक फेरि फेरि पनि आउनु आवश्यक र अपेक्षित छ, हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?