मह जोडीलाई ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विशिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’लाई ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान–२०८०’बाट विभूषित गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरको सत्यमोहन प्रेक्षालयमा आयोजित एम्बिसन एकेडेमीको अभिमुखीकरण, स्वागत तथा विशिष्ट साधक सम्मान समारोहमा मह जोडीलाई उक्त सम्मानद्वारा विभूषित गरिएको हो ।

सो अवसरमा एम्बिसन एकेडेमीका संस्थापक प्रिन्सिपल विष्णुकुमार घिमिरेले विभिन्न व्यक्तिका लागि प्रयोग गर्ने गरिएको ‘अद्वितीय’ र योगदानका विषयमा प्रयोग गर्ने गरिएको ‘अतुलनीय’जस्ता विशेषणहरू मह जोडीका लागि मात्र सुहाउने शब्द हुन् भन्दै एम्बिसनले केवल शैक्षिक उन्नयनमा मात्र ध्यान नदिएर हरेक वर्ष एक न एक जना राष्ट्रका गौरवहरूलाई खोजी गरी सम्मान गर्ने गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक प्राडा देवी नेपालले सम्मानित व्यक्तित्वद्वयका बारेमा बोल्दै २००७ सालमा जन्मिएर २०२२ सालमा रेडियो नेपालमा गायकका रूपमा प्रवेश गरी कलाक्षेत्रमा लाग्नुभएका मदनकृष्ण श्रेष्ठ र २०१४ सालमा जन्मिएर २०३१ सालमा रेडियो नेपालमा हास्यव्यंग्य प्रस्तोताका रूपमा प्रवेशगरी कलाक्षेत्रमा लाग्नुभएका हरिवंश आचार्यले २०३६ सालदेखि मह जोडी बनेर आजसम्मको झण्डै पाँच दशकको यात्रा उदाहरणीय रूपमा पूरा गरिसक्नुभएको र यो जोडी विश्वकै इतिहासमा अनुपम रहेको विचार व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले नयाँ पुस्ताले आ-आफ्नो एम्बिसनलाई साधना, समर्पण, संकल्प र मिहिनेतबाट प्राप्त गर्नुपर्ने सन्देश दिनुभयो भने हरिवंश आचार्यले आफ्नो कलाकारिताको प्रारम्भिक चरणका संघर्षपूर्ण अनुभवहरू सुनाएर नयाँ पुस्तालाई उत्प्रेरित गर्नुभएको थियो । दुवै सम्मानित व्यक्तिवले अत्यन्त प्राज्ञिक समूहबाट सञ्चालित एम्बिसन एकेडेमीले आफूहरूलाई राष्ट्रिय गौरव सम्मान प्रदान गरेर राष्ट्रका लागि थप कामहरू गर्नुपर्ने दायित्व थपिदिएको विचार व्यक्त गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा युवाकवि तथा गजलकार ज्ञानु विद्रोहीले मह जोडी राजनीति, भूगोल, जाति, धर्म, भाषा, संस्कृति आदि सबै कुराभन्दा माथि रहेका हुनाले उहाँहरूलाई कुनै पनि प्रकारको सीमारेखाले विभाजन गर्न नसक्ने विचार व्यक्त गर्नुभएको थियो ।

प्रखर युवा कलाकार राजा राजेन्द्र पोखरेलको हास्यव्यंग्यात्मक प्रस्तुति र चर्चित गायिका टीका प्रसाईंको सांगीतिक प्रस्तुतिका साथै एम्बिसन एकेडेमीका विद्यार्थीहरूका एक दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुतिहरू रहेको उक्त कार्यक्रममा नृत्यकला सम्मानबाट युवा नृत्यनिर्देशक तथा कलाकार चूडामणि फुँयाललाई र नवप्रतिभा सम्मानबाट चौध वर्षकै उमेरमा ‘अद्भूत इन्द्रेनी’ खण्डकाव्य र सत्र वर्षको उमेरमा हालै ‘अर्जुनदृष्टि’ छन्दोबद्ध कवितासंग्रह प्रकाशन गर्नुभएका प्रखर बालप्रतिभा विभूति अधिकारीलाई सम्मान गरिएको थियो ।

‘एम्बिसन राष्ट्रिय गौरव सम्मान’बाट यसअघि विश्वका आँखाको ज्योति डा.सुन्दुक रुइत, वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, वरिष्ठ कवि वैरागी काइँला, वरिष्ठ कलाकार हरिप्रसाद रिमाल/कल्याणी रिमाल, वरिष्ठ कवि तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिजस्ता राष्ट्रका गौरवहरूलाई सम्मानित गरिसकिएको एम्बिसन एकेडेमीका निर्देशक देवीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?