पहिरोले बेनी–जोमसोमको सिधा यातायात सेवा प्रभावित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । शनिवार रातिदेखि अबरुद्ध कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडकमा सोमबार साँझसम्म पनि सिधा यातायात सेवा प्रभावित भएको छ ।
शनिबार परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो । रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।

वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक,तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कदै गर्नुभएकाे कृष्ण शर्माले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिका –१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा –३ बैसरीमा सडक अवरुद्ध भएको उहाँले बताउनुभएको छ ।

बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुनेगरेको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन् ।

सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो ।
बैकल्पिक रुपमा सडक स्तरोन्नतीमा ध्यान नदिदाँ ठुला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन् ।
वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषिउपज निकासी प्रभावित भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताउनुभयो ।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ ।

तत्काललाई जोखिम न्यूनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?