ल्हारक्यालको नियुक्तिमा कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

‘सरकारको निर्णयप्रति आपत्ति छ’

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको विषयलाई लिएर यतिबेला विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । पूर्वसंविधानसभा सदस्यसमेत रहनुभएका लामालाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि विभिन्न टीका टिप्पणी भइरहेको हो । लामा ठगी तथा हातहतियारसम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्दै छुट्दै आउनुभएको छ । कोषको उपाध्यक्ष अबधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारले कोषको नयाँ उपाध्यक्षमा लामालाई नियुक्त गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताउनुभएको छ । सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने सुनाउनुभयो । सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको उहाँले बताउनुभयो । उहाँले सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफूले ध्यानाकर्षण गराएको बताउनुभयो ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दै गर्दा सम्बन्धित व्यक्तिको छविको विषयमा ध्यान नपुर्‍याउनु सरकारको गम्भीर गल्ती भएको उहाँको टिप्पणी थियो । गौतम बुद्धको जन्मथलोमा नेतृत्व गर्ने व्यक्ति नियुक्तिमा सरकार गम्भीर हुन नसकेको उहाँले बताउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘संसारभरिका मानिसहरू नेपालतिर फर्केर श्रद्धा गर्छन् । त्यो माटोमा शीर एकपटक झुकाउन पाउँदै गर्दा जीवन नै धन्य भयो भन्नेखालको महसुस गर्छन् । यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दाखेरी सरकारले गम्भीरतापूर्वक कस्तो पृष्ठभूमिको, के योग्यता कस्तो छविको भनेर ध्यान नपुर्‍याउनु वर्तमान सरकारको गम्भीर गल्ती हो ।’

माओवादीका केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले ल्हारक्यालको निर्णयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘रूपान्तरण अभियानमा उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ ।’ यस्तै, नेकपा एमालेका सचिव एवं पूर्वसंस्कृतिमन्त्री योगेश भट्टराईले ल्हारक्यालको विषयमा विश्वविद्यालयले नै अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ल्हारक्यालको विषयमा अनुसन्धान गर्न युनिभर्सिटी नै लगाउनुपर्छ । जस्तो सरकार, उस्तै निर्णय भनेको यही हो । सकभर विवादरहित व्यक्ति बनाउनुपथ्र्यो ।’

ल्हारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुनुहुन्छ । हाल उहाँ सत्तारूढ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।

विवादास्पद छवि, पटक-पटक पक्राउ पर्दै छुट्दै
विसं २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारका अर्थराज्यमन्त्रीसमेत रहनुभएका लामाले दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि राजीनामा दिनुभएको थियो । ल्हारक्याल राष्ट्रिय राजनीतिमा कांग्रेस, एमाले हुँदै अहिले माओवादीमा हुनुहुन्छ । कांग्रेसमा हुँदा गुम्बा विकास समितिको अध्यक्ष, एमालेमा हुँदा समानुपातिक सांसदसँगै राज्यमन्त्री र माओवादीमा आइसकेपछि समानुपातिक सांसद हुँदै अहिले कोषको उपाध्यक्ष पदमा पुग्न उहाँ सफल हुनुभएको छ ।

पहिलो संविधानसभामा एमालेबाट सभासद हुनुभएका लामा दोस्रो संविधानसभामा भने माओवादीबाट सभासद हुनुभएको थियो । ०७० मंसिरको चुनावअघि कात्तिकमा उहाँ माओवादी प्रवेश गर्नुभएको थियो । त्यही बेला मकाउ पठाउने भन्दै केही युवाबाट दुई करोड रुपैयाँ ठगेको आरोपमा उहाँविरुद्ध उजुरी परेको थियो । यी उजुरीका आधारमा उहाँ ०७२ चैतमा पक्राउ पर्नुभएको थियो । त्यतिबेला लामा ३० लाख धरौटीमा रिहा हुनुभयो । त्यसपछि लामामाथि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान थालेको थियो । अनुसन्धान जारी रहेकै बेला ०७३ फागुन ३० मा उहाँको इन्भेष्टमेन्ट बैंकको लकरमा १४ थान गोली भेटिएको थियो । गोली भेटिएपछि पक्राउ पर्नुभएका लामा ६६ हजार ७०० रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो । आपराधिक पृष्ठभूमिका लामाले राजनीतिक संरक्षण भने पाइरहनुभयो ।

आरोपको खण्डन कामबाटै गर्छु : लामा
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरुद्ध लाञ्छना लगाउने गिरोह सधैँ संगठित रूपमा सक्रिय हुने गरेको जिकिर गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लाञ्छानाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले देशका लागि आफूले केही गर्न खोज्दा सदैव अवरोध गर्न खोजेको जिकिर गर्नुभयो । आफूले पाएको जिम्मेवारी पूरा गर्ने उहाँको भनाइ छ । हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने उहाँको भनाइ थियो । केही मान्छेहरूले लगाएका आरोपहरू राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरूको अनुसन्धानबाट आफूले पटक–पटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?