सुन तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ : सभापति लामिछाने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधि सभा बैठक अवरोधका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार भिन्न तरिकाले आफ्नो कुरा राखेको छ ।

बुधबार एमालेको नाराबाजी र वेल घेराउपछि प्रतिनिधि सभा बैठक स्थगित भएको थियो । त्यसपछि संसद भवन बाहिर मुलगेटमा रास्वपाका २० जना सांसदहरू भेला भएर सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ-आफ्ना कुरा राखेका थिए ।

रास्वपा सभापतिसमेत रहनुभएकाका सांसद रवि लामिछानेले जनताका कुरा राख्न नपाइएको भन्दै सुन प्रकरण छानबिन गरिनुपर्ने बताउनु भयो ।

संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरु राख्न चाहेको बताउँदै सभापति लामिछानेले उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’

मन्त्रालयस्तरको संलग्नता बारे आफूले भन्न नसक्ने बताउँदै उहाँले यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कुरा कसैसामु नलुकेको बताउनु भयो । साथै लामिछानेले अर्थ मन्त्रालयका सचिव तथा प्रहरी प्रमुख कै संलग्नता छ कि भन्ने शंका समेत उब्जिएको बताउनु भयो ।

साथै रास्वपाका अन्य सांसद तोसिमा कार्की, स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ लगायतले समसामयिक घटनाका विषयमा भनाइ राख्नुभएको थियो । उहाँलेहरुले संसद भित्र जसरी नै बाहिर कुरा राख्नुभएको थियो ।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।

एमालेको नाराबाजीका कारण बुधबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक  साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?