साउन मासमा सोमबारसँगै शिवजीको महिमा

चूडामणि कोइराला
Read Time = 18 mins

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । साउन महिना, महिलाले हातभरि चुरा र मेहेन्दी अनि विवाहित स्त्रीले गलामा हरियो पोते नेपाली समाजमा पर्यायवाची शब्दजस्तै लोकाचारमा अगाडि बढेको छ, बनेको छ । वर्षमा एकपटक आउने साउन यस्तो विशेष महिना बन्यो जहाँ बालिकादेखि बुढी हजुरआमासम्मको एउटै फेशन बजारमा देख्न पाइन्छ । हातमा हरियो चुरा र मेहेन्दी अनि लगाउनेले हरियै पोते । विवाहित महिलाले साउन महिनामा हरियो चुरा र मेहेन्दीले हातको शृंगार गर्नाले श्रीमान्को आयु बढ्ने रे अविवाहिता महिलाले लगाए मनले चिताएको कामना पूरा हुने धार्मिक विश्वार छ रे । खै कता हो ...सबै अरे–अरे ...अनविज्ञ !!!

एकातिर साउन महिना ढुंगामा लागेको लेउमा पनि घाँस पलाउने भएकाले हरियोको प्रतीक महिना साउन बनेको हो । हरियो चुरा र मेहेन्दी आजकाल यही हरियोको प्रतिबिम्ब बनेको छ शहरमा । धार्मिक, सांस्कृतिक महत्व हरियोसँग कतै कुनै शास्त्रमा उल्लेख छैन, महिनाको प्रसंगमा । हरियो जोडिएको छ अहिले आएर नयाँ पुस्ताको साउन मासमा फेशन । त्यो पनि लोकाचारकै लगि । ऊ पल्लो घरकी बूढी आमले त लगाएको छ मलाई पनि त्यही हरियो कलरको चाहियो...। त्यही लोकाचारको अपवादमा रम्ने र रमाउने देखासिखीको परिस्थिति भित्रिएको छ हाम्रो वर्तमान समाजमा ।

साउन महिना सुरु भएसँगै शहर बजारमा हरियो चुरा, पोते र मेहेन्दीको रौनक यस्तो छ कि चौबाटोदेखि दोबाटोसम्म बसेका हुन्छन् लगाउन । साउन महिन सुरु भएसँगै शास्त्रमा साउन महिना, सोमबारको महत्व चाहिँ शास्त्रमा अधिक रहेको छ र व्याख्या पनि अधिक प्रकारले रहेका छन् । साउन शिवजीसँग जोडिएको मास भएकाले शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबरको फल प्राप्त हुन्छ र आसुतोष भगवान छिट्टै प्रसन्न हुने भएकाले मनोकांक्षा पूरा हुने सनातन शास्त्रहरूमा बताइएको छ ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, सन्तान एवं परिवार वा जगतकै कल्याण हुने धार्मिक विश्वास छ । साउन महिनाको अरू दिन नसके पनि प्रत्येक सोमबार व्रत बसी शिवजीलाई पूजाराधना गरी जल चढाएर खुशी बनाउने शास्त्रीय वचन रहेको छ ।

यही विश्वासका आधारमा साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेकाले विशेष रूपमा लिइन्छ । विशेषगरी बारमा शिवजीको सोमबार भएकाले व्रत एवं पूजा गर्ने गरिन्छ । पार्वतीले साउन महिनाभरि निराहार कठोर व्रत बसी उनै भगवान् शिवजीलाई प्राप्त गरेको हुँदा यसै विषय र प्रसंगमा रही महत्व दर्शाइएको पाइन्छ ।

व्रत बस्नु स्वास्थ्यका लागि लाभदायक नै हो । साउनको महिना व्रत बसी शिवजीको पूजा गरे आफू, सन्तान एवं परिवार वा जगतकै कल्याण हुने धार्मिक विश्वास छ । साउन महिनाको अरू दिन नसके पनि प्रत्येक सोमबार व्रत बसी शिवजीलाई पूजाराधना गरी जल चढाएर खुशी बनाउने शास्त्रीय वचन रहेको छ । साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा धेरै वर्षा हुन्छ, जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गदर्छ । साउन महिनामा प्रकृतिले नै अभिषेक सञ्चित गरिरहेको हुन्छ । शिव पुराणमा बताइए अनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारलाई साउन महिनाको महिमा बताउने क्रममा मेरा तीन नयन छन् ती तीन नयनमध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् भनेको प्रसंग छ ।

बच्चा जन्मेपछि नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् । चन्द्रमा भगवान् शिवको शिरमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । साथै सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्ने हुँदा सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र वर्षाले शिवलाई प्रसन्न तुल्याउँछ ।

भगवान शिव को हुन् ?
भगवान शिव वैदिक देवता हुन् । शिवको अर्थ कल्याणकारी हो । शिवको विधिपूर्वक पूजाराधना गर्दा उनी छिट्टै खुशी हुन्छन्, मनोकामना पूर्ण गरिदिन्छन् भन्ने शास्त्रीय मत र विश्वास छ । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखिकै हो । पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ । शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात् देवाधिदेव महादेव भनिएको छ ।

वेदमा अघोर र रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदको सोह्रौं अध्यायमा रुद्रको वर्णन गरिएको छ । सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासनाको वर्णन गरिएको छ । जो भक्त छ शान्त रूपमा शिवजीलाई हृदयमा राखेर जुन कामनाको प्रकारले जो व्रत बस्दछन् उनै शिवजीका प्रिय भक्त बन्ने छन् । देखावटी व्रतले फलविहीन हुन्छ ।

साउने सोमबार
साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाराधना गर्ने गरिन्छ । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत, पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग शिवपुराणमा पाइन्छ ।

पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । साउने सोमबार, सोह्र सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ ।

साउनमा रुद्री
नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिंगमा अभिषेक गर्नु हो । विशेषगरी साउनको सोमबार पारेर वा साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्राभिषेक गराइन्छ । रुद्रीमा वैदिक मन्त्रोच्चारणसहित जलधाराले शिवको अभिषेक गरिन्छ । दिन-दिननै जसको घरमा शिवजीको पूजासहित रुद्री पाठ हुन्छ त्यो घरमा रुद्राभिषेकका लगि जुराइरहनु आवश्यक छैन । धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरूले रुद्री पाठद्वारा आशुतोष भगवान् प्रसन्न भई कामना पूरा गरिदिने शास्त्रमा वर्णन गरिएको छ ।

ॐ नमः शिवायको बुझाइ
ॐ नमः शिवाय भगवान शिवमा समर्पित मन्त्र हो । शैव धर्म मान्नेहरूका लागि महत्वपूर्ण मन्त्र हो भने हिन्दू धर्म मान्ने सबैका लागि यो मन्त्रले उत्तिकै महत्व राख्दछ । ॐ नमः शिवायको मन्त्र हिन्दु धर्ममा नजप्ने मानिस कोही छैन । यर्जुवेदमा ॐ नमः शिवायको मन्त्र उल्लेखित छ । यो मन्त्रको अर्थ ‘शिवको आराधना गर्दछु’ वा ‘शिवको नमन गर्दछु’ भन्दै शिवलाई अद्वितीय सत्य मान्ने गरिन्छ ।

ॐ नमः शिवाय भगवान शिवमा समर्पित मन्त्र हो । शैव धर्म मान्नेहरूका लागि महत्वपूर्ण मन्त्र हो भने हिन्दू धर्म मान्ने सबैका लागि यो मन्त्रले उत्तिकै महत्व राख्दछ । ॐ नमः शिवायको मन्त्र हिन्दु धर्ममा नजप्ने मानिस कोही छैन ।

ॐ-ब्रहृमाण्डको उत्पति अघि, यहाँ शुद्ध अस्तित्व वा शुन्यता थियो । शून्यताबाट कम्पनको सिर्जना भयो, जसलाई ॐ भनिन्छ । ‘नमः’ यसको शाब्दिक अर्थ नमन गर्नु वा आराधना गर्नु हो । सिद्ध शैव धर्म तथा शैव सिद्धान्त शैव धर्मको परम्परा अनुसार ‘नमः शिवाय’लाई भगवान शिवको पञ्च बोध तत्व वा पञ्च तत्वको एकता मान्ने गरिन्छ । (न-भूमि, मः- जल, शि-अग्नि, वा-वायु, य-गगन) यी पाँच तत्वले हिन्दू दर्शनअनुसार ब्रहृमाण्डको पूर्णता प्रकट गर्दछन् । यस्तै यही नमः शिवायले हाम्रो शरीरको चक्रको बोध प्रकट गर्दछ ।
भगवान् शिवजीलाई प्रिय ११ वस्तु जुन सामग्री अर्पण गर्नाले सबै मनोकामना पूरा हुने विश्वास छ । त्यस्ता ती वस्तु हुन् :-

जल,
शिव पुराणमा उल्लेख गरिएको छ कि भगवान् शिव नै स्वयं जल हो, शिवजीसँग समुद्र मन्थनको कथा जोडिएको छ । अग्निको समान विष पिएपछि शिवजीको घाँटी नीलो भएको थियो । सोही विषको उष्णतालाई शीतलता प्रदान गर्न सबै देवी-देवताहरूले शिवजीलाई जलाभिषेक गरेका थिए । सोही कारण शिवजीको पूजामा जलको विशेष महत्व छ ।

बेलपत्र,
भगवानको तीन नेत्रको प्रतीक हो बेलपत्र । अतस् तीन पत्तावाला बेलपत्र शिवजीलाई अत्यन्त प्रिय छ । ‘कोटिकन्या महादानं एकविल्वं शिवार्पणम्’ अर्थात् भोलेबाबालाई एउटामात्र पनि बेलपत्र चढाउनाले एक करोड कन्यादान गरेको फल समान प्राप्त हुने शास्त्रोक्ति वर्णन छ ।

आँक,
शास्त्र अनुसार सुन दान गरेबराबरको फल एउटा आँकको फूल शिवजीलाई अर्पण गर्नाले मिल्छ । सो फल मिल्ने भएकाले आँकको फूल शिवजीलाई धेरै प्रिय छ ।

धतुरो,
भगवान् शिवजीलाई धतुरो पनि प्रिय छ । यसको कारण पुराणहरूमा धार्मिक कारण भनिएको छ भगवान् शिव कैलाश पर्वतमा बस्नुहुन्छ त्यहाँ जुन अत्यन्त चिसो क्षेत्र हो, आहार र औषधिको आवश्यकता हुन्छ जसले शरीरमा उष्णता प्रदान गर्दछ । देवी भागवतमा पनि भनिएको छ कि शिवजीले जब समुद्र मन्थनबाट निस्किएको हलाहल विषलाई पिएको बेला जब व्याकुल हुनुभयो त्यसबेला अश्विनी, कुमारले भांग, धतुरो, गाँजा, बेल आदिको औषधिबाट शिवजीको व्याकुलतालाई शान्त गरेका थिए । त्यसै समयदेखि शिवजीलाई भांग, धतुरो, गाँजा, बेल आदि प्रिय छ ।

भाङ,
शिवजी सधैं ध्यानमग्न रहनु हुन्छ, भांगले शिवजीलाई ध्यान केन्द्रित गर्न सहयोग गर्छ । भाङ खाएर परमानन्दमा रहने, समुद्र मन्थनबाट निस्किएको विष देवाधिदेव महादेवले सारा संसारको सुरक्षाका लागि आफ्नो घाँटीमा राखेको बताइएको छ ।

कपुर,
भगवान् शिवजीको प्रिय मन्त्र पनि कर्पुरगौरं करूणावतारं... अर्थात् जो कपुरको समान उज्ज्वल छ । कपुरको सुगन्धले वातावरणलाई पवित्र बनाउँछ । भगवान् भोलेनाथलाई यसको सुगन्ध मन पर्ने भएकाले कपुर प्रिय बनेको हो ।

दूध,
शिवजीका लागि दूधसहित पञ्चामृतको अभिषेक (दूध, दही, घ्यू, चिनी, मह) को अभिषेक शवजीलाई अर्पण गर्ने शास्त्रोक्त विधान छ ।

चामल,
चामललाई अक्षता पनि भनिन्छ र अक्षतको अर्थ हुन्छ जुन अक्षय हुने । यसको रंग सेतो हुन्छ । शिव पूजामा अक्षताको प्रयोग मन्त्रसहित अनिवार्य हुन्छ । कुनै पूजामा कुमकुम, गुलाल, बेसार, अबीर आदि अर्पण गरेपछि अक्षता चढाइन्छ । अक्षताविना शिवपूजा अपूर्ण मानिन्छ ।

चन्दन,
चन्दनको सम्बन्ध शीतलतासँग जोडिएको छ । भगवान् शिवजीको निधारमा चन्दनको त्रिपुण्ड लगाउनु हुन्छ । चन्दनको प्रयोग अधिकांश हवन गर्दा र पूजामा तिलकको रूपमा प्रयोग गरिन्छ । साथै यसको वासनाले वातावरण सुगन्धित हुन्छ । शिवजीलाई चन्दन चढाउनाले समाजमा मान-सम्मान, यश, कृति बढ्ने शास्त्रोक्त वर्णन वा कथन छ ।

भस्म,
भस्मको अर्थ हुन्छ, पवित्रता, त्यो पवित्रता जसलाई भगवान शिवले जलिसकेको अंश खरानीलाई पवित्र मान्नु भएको छ । एउटा कथा छ, आफ्नी पत्नी सतीले जब स्वयं अग्निको आहुति गर्नुभएको थियो र त्यसै बेलामा क्रोधित शिवजीले आफ्नी पत्नीको अन्तिम निशानी मान्दै आफ्नो तनभरि लगाउनुभयो, ताकि सती जहिले आफ्नो साथ होस्, त्यसैले पनि शिवलाई भस्म अति प्रिय छ ।

रुद्राक्ष,
भगवान् शिवजीले रुद्राक्ष उत्पत्तिको कथा पार्वतीजीसँग भन्नु भएको छ । कुनै समय भगवान शिवजीले एक हजार वर्षसम्म समाधि लिनुभयो, त्यसबेला समाधि पूर्ण भएपछि भगवानको मन जब बाहिरी जगतमा आयो, तब जगतको कल्याणका लागि महादेवले आफ्नो आँखा बन्द गर्दा महादेवको आँखाबाट जलको बिन्दु पृथ्वीमा जब झ¥यो र त्यसै आँसुबाट रुद्राक्षको वृक्ष उत्पन्न भयो । शिवजीको इच्छाले भक्तहरूको हितको लागि सो वृक्षलाई फैलाउनुभयो । त्यसै वृक्षमा जुन फल फल्यो त्यो रुद्राक्ष हो । ॐ नमः शिवाय । अस्तु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?