वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वानीरा फउण्डेशनका संरक्षक इन्जिनियर शंकर गिरिले राजधानी काठमाडौंमा स्थापित वानीरा सभागृमा एक समारोहमाझ नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवद्र्धनमा अति विशिष्ट योगदानका निम्ति प्राज्ञ श्री वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्नुभयो ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’को राशि एक लाख रुपैयाँ रहेको छ । सोही समारोहमा इन्जिनियर गिरीले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध कवि गोपाल पराजुलीलाई पचास हजार रुपैयाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।

समारोहमा वानीरा फाउण्डेशनका संरक्षक गिरीले भीमबहादुर बोटेलाई पनि पच्चीस हजार रुपैयाँ राशिसहित ‘वानीरा सेवा पुरस्कार’ समर्पण गर्नुभयो । समारोहमा वानीरा पुरस्कारबाट सम्मानित वैरागी काइँला र गोपाल पराजुलीबाट भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलख’को लोकार्पण भएको थियो ।

यसअघि वानीरा संग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो । इञ्जिनियर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा संग्रहालयको स्थापना भएको हो ।

डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो । इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोमा वैरागी काइँला, गोपाल पराजुली, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?