प्राधिकरणमा कुलमानको दुई वर्ष : नाफा घटे पनि निर्यात र पूर्वाधार निर्माणमा फड्को

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्ष २०७९/०८० मा मुनाफा घटेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको दुई वर्ष पूरा भएको अवसरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गत आर्थिक वर्ष १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको बताउनुभएको हो । आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणको नाफा छ अर्ब १० करोड रुपैयाँ थियो भने २०७८/०७९ मा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । तर, गत वर्ष विविध कारण एक अर्ब चार करोड रुपैयाँ मुनाफा अघिल्लो वर्षको भन्दा कम भएको उहाँको भनाइ थियो ।

उहाँले गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास तथा आन्तरिक माग धान्न विद्युत् आयात प्रक्षेपण गरेकोभन्दा केही बढ्दा मुनाफा प्रभावित हुन पुगेको घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२० युनिटसम्म विद्युत् खपत गर्ने ठूलो जनसंख्याबाट महसुल उठ्दैन । कृषिका ग्राहकलाई दिइने विद्युत् पनि निकै सस्तो छ । यो अवस्थामा विद्युत् उत्पादनमा कमी आउँदा आयात बढाउनु परेकाले मुनाफा प्रभावित हुन पुगेको हो ।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुर्ई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा बढाएर एक खर्ब १८ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको बताउनुभयो । प्राधिकरणको सञ्चित नाफा पनि ११ अर्ब रुपैयाँबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको उहाँको भनाइ थियो । दुई वर्षको अवधिमा प्राधिकरणले आफ्नै स्रोतबाट ४८ अर्ब रुपैयाँ प्रसारण तथा वितरण प्रणालीको निर्माण एवं स्तरोन्नतिमा लगानी गरेको र सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब रुपैयाँ जम्मा गरेको पनि उहाँले बताउनुभयो ।

त्यसैगरी सो अवधिमा प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न गरी सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि घिसिङले जानकारी गराउनुभयो । घिसिङका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशतमा झारेको छ भने वितरणतर्फको विद्युत् चुहावट ९.७६ प्रतिशतमा सीमित गर्न सफल भएको छ । दुई वर्षअघिसम्म देशभरका ८९ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुगेकोमा हाल बढाएर ९५ प्रतिशत पु¥याउन सफल भएको, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण भई औपचारिक घोषणा हुन बाँकी रहेको उहाँले बताउनुभयो । घिसिङका अनुसार कोशी प्रदेशमा ९५, लुम्बिनी प्रदेशमा ९८, कर्णाली प्रदेशमा ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ ।

देशभरका सात सय ५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट पाँच सय पाँचवटा स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ भने दुई सय २७ स्थानीय तहका अधिकांश स्थानमा र राष्ट्रिय प्रसारण प्रणाली नपुगेका २१ स्थानीय तहका अधिकांश स्थानमा सोलार, साना तथा लघु जलविद्युत्मार्फत् विद्युतीकरण भएको छ । दुई वर्ष अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत करिब २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको र सो अवधिमा प्राधिकरणले उद्योगको आठ सय एमभिए विद्युत् लोड स्वीकृत गरेको उहाँले बताउनुभयो । साथै प्राधिकरणले विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न देशका विभिन्न ठाउँमा ५१ चार्जिङ स्टेसन स्थापना गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले थप १३ वटाको निर्माण प्रक्रिया अघि बढाइएको र सोे अवधिमा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने प्राधिकरणको नीतिअनुरूप देशका विभिन्न स्थानमा सयभन्दा बढी चार्जिङ स्टेसन जडान कार्य भइरहेको पनि उहाँले बताउनुभयो । त्यस्तै, नेपालले पहिलोपटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब चार सय ५० मेगावाट विद्युत् निर्यात गरिरहेको र थप छ सय मेगावाट विद्युत् निर्यातका लागि भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेको पनि उहाँले बताउनुभयो । बंगलादेशमा विद्युत् निर्यातका लागि भारतको एनभिभिएन, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र प्राधिकरणबीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको उहाँको भनाइ थियो ।

प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् जडित क्षमता २८ सय २२ मेगावाट पुगेको छ । साउन २४ गतेको तथ्यांकअनुसार दुई वर्ष अवधिमा १३ सय ८३ मेगावाट विद्युत् प्रणालीमा थप भई जडित क्षमता २८ सय २२ मेगावाट पुगेको हो । जसमा करिब ८७ मेगावाट विद्युत् सौर्य विद्युत् आयोजनाको छ । प्राधिकरणले हालसम्म करिब आठ हजार ५२ मेगावाटका विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गरिसकेकोमा दुई वर्षमा १७ सय ७४ मेगावाटका आयोजनाको पिपिएमा हस्ताक्षर भएको छ । थप २२ सय ९० मेगावाटका आयोजना विद्युत्को मस्यौदा पिपिए भएको र २१ सय ६८ मेगावाटको आयोजनाको पिपिए मस्यौदा तयारी गर्ने प्रक्रियामा रहेको घिसिङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?