सडक र सिँचाइ विभागमा तालाबन्दी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि सुरु भएको छ ।

आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर तालाबन्दी गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा ताला लगाएको थियो ।

सिँचाइ विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष लामासहित ४६ जनालाई पक्राउ गरेकोमा केही घण्टापछि छाडेको थियो । सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीले मूल गेटअगाडि तीन घण्टा धर्नासहित नाराबाजी गरेका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष सिंहले सरकारी उदासीनताका कारण निर्माण उद्योग धराशायी हुन लागेको बताउनुभयो ।

महासंघले उठाएका माग व्यवसायी केन्द्रितभन्दा पनि मुलुकको समग्र निर्माण उद्योगलाई समृद्ध बनाउन लक्षित रहेको उहाँको भनाइ थियो । पहिलो र दोस्रो चरणको आन्दोलनपछि पनि सरकारले व्यवसायीका जायज माग सम्बोधन नगरेका कारण बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई महासंघले सोमबार पनि निरन्तरता दिने भएको छ । व्यवसायीको अर्बाैं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीका माग सम्बोधनका लागि उच्चस्तरीय वार्ताटोली गठन हुनुपर्नेलगायतका १० बुँदे माग राखी व्यवसायी साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।

यसैबीच आन्दोलनमा भारतीय निर्माण व्यवसायीको साझा संस्था बिल्डर्स एसोसिएसन अफ इण्डियाले ऐक्यबद्धता जनाएको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?