कांग्रेस सांसद शर्माको अभिव्यक्तिलाई लिएर संसदमा माओवादीको नियमापत्ति

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले नियमापत्ति गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमालेको अवरोधका बीचमै बोल्दै काँग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘यो मुलुकका सुन तस्करहरुका नाइकेहरुको अथवा त्यहाँ संलग्न अथवा त्यसमा नैतिक रुपमा संलग्न मान्छेहरुको जब यो सदनमा राजीनामा मागेँ । तब मलाई यो गिरफ्तारी गर्ने काम गरियो । भनेदेखि यो देशको गृहमन्त्री, यो देशको प्रधानमन्त्री, यो देशको गृहमन्त्री र प्रधानमन्त्री आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ?’

सो अभिव्यक्ति पछि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक पाण्डेले नियमापत्ति गर्नुभएको हो । यद्यपी सांसद शर्माले आफ्नो कुरा जारी राख्नुभयो । शर्माको मन्तव्य सकिएसँगै सभामुखले नेकपा(एमाले)का सांसद मानवीर राईलाई बोल्न समय दिनुभएको थियो । यतिन्जेलसम्म माओवादीको नियमापत्ति जारी थियो । सभामुखले सांसद राईलाई एकछिन बोल्न रोक्दै कुन विषयमा नियमापत्ति हो भनि प्रमुख सचेतक पाण्डेलाई सोध्नुभएको थियो । पाण्डेले सांसद शर्माले प्रधानमन्त्रीलाई आतंककारी भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यतिखेर एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी भन्नेकुरा कसरी आउने हुन्छ ? कसरी सम्भव हुन्छ ? यो रेकर्डबाट हटाइनुपर्छ । र कारबाही गरिनुपर्छ । आतंककारी शब्द कसरी राख्न पाइन्छ ?’

सभामुखले प्रमुख सचेतक पाण्डेको भनाईमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सो विषय नियमापत्ति नभई आएको कुराको प्रतिवाद देखिएको भन्दै एमाले सांसद राईलाई पुनः बोल्न समय दिनुभयो । सांसद राईले सरकारले सुन तस्करीको विषयमा गरिरहेको छानबिनको विश्वसनीयता र सान्दर्भिकता नभएको भन्दै छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेकाले संसद बैठकमा आफुहरुको बिरोध कायम रहने जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले भ्रष्टाचारको अभियानमा जुन मैले गरिरहेको छु, म गर्छु भनिराख्नुभएको छ । त्यो विषय सान्र्दभिकता छैन । विश्वसनीयता छैन । त्यसैले यो सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो दाबी कायम छ । यो विषय अगाडी नबढुन्जेलसम्म हाम्रो बिरोध कायम छ ।’

त्यसपछि सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ हुने बताउनु भयो । सो पश्चात एमालेका सांसदहरु नाराबाजी गर्न थालेसँगै सभामुखले बैठक स्थगित गर्दै आगामी बैठक भाद्र ३ गते आईतवार दिउँसो १ बजे बस्ने जानकारी गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?