भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही होइन : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रुपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेथिती देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।”

प्रधानमन्त्रीले आफूहरु सही बाटो हिँडेको उल्लेख गर्नुहुँदै भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताउनुभयो । उहाँले आफूहरुको कदमले प्रतिक्रियावादीमा आतङ्क सिर्जना भएको पनि दाबी गर्नुभयो । “उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौँ । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा नयाँ ढङ्गले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले तीनमहिने अभियानले पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताउनुभयो । “हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशमा आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताउनुभयो । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको मात्रै नभएको उहाँको धारणा थियो ।

बैठकले ती प्रश्नहरुको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरी छाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । बैठकमा बागमती प्रदेश मातहत रहेका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?