उपचार कोष सहयोगार्थ सांगीतिक कार्यक्रम गर्दै गीतकार संघ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गीतकार सङ्घ नेपालले उपचार कोष सहयोगार्थ साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । सङ्घले भदौ १ गते शुक्रवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको हो । सङ्घले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरूको गीत प्रत्यक्ष बाजामा प्रस्तुत गरी नेपाली गीत लेखनमा योगदान पुर्‍याउने तमाम गीतकारहरूका लागि गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार साङ्गीतिक कार्यक्रम’ आयोजना गर्न लागिएको संघका महासचिव टीका राई ‘शिव’ले जानकारी गराउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यतामा सम्पन्न हुन गइरहेको उक्त विशेष साङ्गीतिक कार्यक्रममा गीतकार सङ्घ नेपालबाट राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारका गीतहरू प्रत्यक्ष बाजासहित लोकप्रिय तथा प्रतिभाशाली गायक, गायिकाहरूले गाउने सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले बताउनुभयो । उक्त विशेष साङ्गीतिक कार्यक्रमा रत्न शमशेर थापाद्वारा रचित दुई गीत ‘जाग लम्क चम्क, ए कान्छा ठट्टैमा’, किरण खरेलको ‘वसन्त नै बस्न खोज्छ यहाँ’, यादव खरेलको ‘गैरी खेतको’, भैरवनाथ रिमाल ‘कदम’को ‘जुन फूल मैले, उदास मेरो जीवन’, नगेन्द्र थापाको ‘चिनारी हाम्रो’, राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाट्दा’, प्रेम विनोद नन्दनको ‘ज्यानको माया नैना रेशम’, विश्व बल्लभको ‘भाग्यले खुसी’, शिवशंकर थापाको ‘भन्थिन् मेरी उनी’, दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ बोलका गीतहरू प्रत्यक्ष बाजासहित नेपाली सुगम सङ्गीतका लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरूले गाउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

नेपाली गीति लेखनमा योगदान पुर्‍याउने गीतकारहरूको सम्मान तथा गीतकार उपचार कोष सहयोगार्थ आयोजना हुन गइरहेको उक्त विशेष सांगीतिक कार्यक्रममा नेपाली गीतसङ्गीतको क्षेत्रमा आबद्ध हुन विभिन्न सरकारी निकाय, सङ्घसंस्था, गीत–सङ्गीतप्रेमीहरू तथा संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई आफ्नो स्वइच्छाले टिकट खरिद गरी वा कार्यक्रममा उपस्थिति जनाई उक्त साङ्गीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न सङ्घले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?