केपी ओली कप क्रिकेट मंसिरको पहिलो साता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता’ हुनेभएको छ । एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो ।

प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा मंसिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीलाई पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेष्ट बलर’ २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अनुशासित, राष्ट्रप्रेमी, मिहिनेती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौं । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।’

संघीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताउनुभयो ।

एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?