शिक्षा ऐनले अधिकार कटौती गरेको भन्दै कालीकोटका शिक्षकहरू धर्नामा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाले शिक्षकहरूका अधिकार कटौती गरेको भन्दै कालीकोटका शिक्षकहरू शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय अगाडि धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रमअन्तर्गत जिल्लाभरिका सामुदायिक विद्यालयका शिक्षकहरू मंगलबार सदरमुकामस्थित जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय परिसरभित्र धर्नामा बसेका हुन् ।

शिक्षकहरूले सोही विषयलाई लिएर आइतबार स्थानीय तहका पालिकाका कार्यालयमा धर्ना बसेका थिए । सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारीविरोधी प्रावधान राखेकाले जिल्लाभरका विद्यालयका शिक्षकहरूले पहिलो चरणमा सदरमुकाममा धर्ना दिएको शिक्षक महासंघ कालीकोटका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले हिमालय टाइम्सलाई बताउनुभयो । ‘लामो समयसम्म आउन नसकेको संघीय शिक्षा ऐनका प्रावधानले शिक्षक समुदायको आत्मसम्मानमा चोट पुगेको छ’ उहाँले भन्नुभयो । शिक्षा, शिक्षक र विद्यालय कर्मचारीविरोधी प्रावधान नहटाएर कडा रूपमा प्रस्तुत हुने उहाँको भनाइ छ । उहाँले विद्यालय बन्द गरेर आन्दोलनस्वरूप पालिकामा धर्ना दिन आउनु रहर नभई बाध्यता भएको सुनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विद्यालय बन्द गरेर धर्ना दिनु राम्रो नभएको बताउनुभएको छ । तर, शिक्षकको आन्दोलनले विद्यालय बन्द हुने अवस्था आएमा जिल्लाका करिब तीन सय सरकारी र एक दर्जन निजी विद्यालयमा पठनपाठन प्रभावित हुने देखिएको छ ।

राहत तथा अनुदानका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्नुपर्ने, आन्तरिकमा नाम ननिकालेमा गोल्डेन हेन्डचेक दिएर सम्मानसाथ बिदाइ गर्नुपर्ने, शिक्षकहरूलाई पनि निजामती कर्मचारीसरह आवधिक बढुवा गर्नुपर्ने लगायतका उनीहरूका माग छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?