बिक्नै छोडे मादल, संकटमा व्यवसाय

हिमालय टाइम्स
Read Time = 8 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङ ढोरपाटनका मिनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनु भएको थियो । तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नु हुन्छ । मादल व्यवसाय संकटमा परेपछि दर्जीले पेसा बदल्नु परेको हो । बाउ, बाजे र दाईहरुबाट सिकेको सिपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु विहे गरि सके ।

दर्जीले आफूसँग भएको सिप नबिकपेछी पेसा परिवर्तन गर्नु परेको दुखेसो गर्नु भयो । दर्जी भन्नुहुन्छ- ‘मलाई ५/७ वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौँ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नु पर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।’

उहाँले पहिले बाह्रैँ महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहकहरु आउने गरेको भन्दै अहिले मादल बिक्रीनै नहुने उहाँको भनाइ छ । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याई हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउनुहुन्छ ।

‘मेरो पसलमा पहिले बाह्रैमास मादल किन्नेहरु आउँथे, हरेक महिना कम्तिमा पनि १० वटा मादल बिक्री गर्थेँ, मलाई मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो, विहान उठेदेखि रातीसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाई पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै पाँच लाख कमाई गर्थे, मूल्य पनि राम्रै पथ्र्यो,’ दर्जीले भन्नुभयो, ‘अहिले मादल किन्न बेला मौकामा १÷२ जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थेँ ।’

दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसी भैले खेल्नेहरुले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला-ठूलो साउण्ड सिस्टमहरु किन्ने गरेको दर्जीको भनाई छ । ‘तिहार आयो की मादल किन्नेहरुको भिड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकरहरु किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारहरुले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसी भैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ’ उहाँले भन्नुभयो ।

निसीखोला गाउँपालिका-५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक ८०० बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो ।

‘चार वर्षै भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्’ नेपालीले भन्नुभयो- ‘वर्षभरी मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नु पर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।’

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि संकटमा पर्न थालेको बताउनुहुन्छ । अहिलेचाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरु बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमहरुको प्रयोग हुन थालेको नेपालीको भनाई छ ।

‘आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह ब्रतबन्धमा मादल घन्किने गर्थे, विद्युतको पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो’ उहाँले भन्नुभयो ‘अब मादल र बाजाहरु हराउँदै जाने संभावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।’

गाउँ-गाउँमा सूचना प्रबिधिको पहुँच पुगेपछि मादल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीहरुको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्रीहरु बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकहरुको माग निकै बढेको बताउनुभयो ।

उहाँले पहिले-पहिले चाडबाडको समयमा मादलको विक्री अत्याधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टमहरु धेरै विक्री हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘अहिले बजारमा साना-ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन् बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीहरुलाई भ्याइनभ्याई हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टमहरुमा गीत मात्रै सुनिन्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?