भजनीका बाढी पीडितको गुनासो : चाउचाउ, चिउरा लिँदैनौँ, घरको जग बनाइदिनुहोस्

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 8 mins

धनगढी । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरूले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै उनीहरूले यसपटक राहत नलिने घोषणा गरेका हुन् । उनीहरूले नगरपालिकाले वितरण गरेको पानी मात्रै लिइरहेका छन् । राहतका नाममा चाउचाउ र चिउरा दिएर बाढी तथा डुबानको दीर्घकालीन समाधानबाट सरकार पन्छिएको भन्दै उनीहरूले राहत नभई दीर्घकालीन समाधानको माग गरेका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलगायत प्रदेशसभा सदस्य तथा अन्य नेताहरूको टोली कैलालीको बाढी प्रभावित क्षेत्रमा पुग्यो । बाढीबाट बढी प्रभावित भएको क्षेत्र भजनी पुगेको अनुगमन टोलीले घर डुबान परेर सडकमा बास बसिरहेका नागरिकहरूलाई भेट्यो । तत्काल राहत उपलब्ध गराउने आश्वासन दिन लाग्नुभएका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई उनीहरूले बीचैमा रोकेका थिए । सधैँ चाउचाउ र चिउरा दिएर अर्को वर्ष फर्किने प्रतिनिधिलाई उनीहरूले अब चाउचाउ र चिउरा नलिने भन्दै फर्किन आग्रह गरेका छन् । वर्षैपिच्छे सडकको बास अन्त्य नहुँदासम्म राहत नलिने अडान उनीहरूको छ ।

भजनी नगरपालिका-३ का छविराम पोखरेलले प्रत्येक वर्ष सरकारी तथा निजी क्षेत्रबाट आउने चाउचाउ चिउराले तत्कालको भोक मात्रै टरेको बताउनुभयो । ‘हामी प्रत्येक वर्ष कम्तीमा दुई महिना सडकमै बस्छौँ’ उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष सरकारी र निजी क्षेत्रबाट हामीले राहतका नाममा चाउचाउ र चिउरा पाउँछौँ त्यसले तत्कालको भोक टर्छ तर हाम्रो पीडा जस्ताको तस्तै रहन्छ, त्यसकारण हामी यसपटक चाउचाउ, चिउरा लिँदैनौँ हाम्रा घरको बलियो अनि अग्लो जग बनाइदिनुपर्छ अनि दीर्घकालीन समस्या समाधान हुन्छ ।’

उनीहरूले अब राहत नभई स्थायी समस्या समाधानमा सरकार लाग्नुपर्नेमा जोड दिएका छन् । प्रत्येक वर्ष अनुगमनमा आउने र चाउचाउ, चिउरा दिएर जाने प्रवृत्ति रोकेर अब स्थायी समाधान खोजिनुपर्ने तर्क उनीहरूको छ । बाढीबाट बढी प्रभावित हुने नागरिकका पक्की जग बनाउनुका साथै पानी निकासका लागि गुरुयोजना बन्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

घरभित्र बाढी पसेर करिब दुई सातादेखि सडकमै बसिरहेका छौँ वडा नम्बर ३ कै धनसरा भण्डारीले भन्नुभयो, ‘केही अन्नपात बाढीले बगाएको छ, केही सडकमा ल्याउन भ्याएका छौँ, ल्याएको त्यही अन्न पकाएर खाइरहेका छौँ, यसपटक हामी सबै बाढीपीडितले सरकारबाट झारा टार्ने गरी आएका राहत सामग्री नलिने भनेका छौँ, बर्सेनि यस्तै राहत सामग्री दिने अनि राहत दिएँ भन्ने हाम्रा समस्या ज्यूँका त्यूँ रहे, त्यसकारण अब हामीलाई दीर्घकालीन समाधान चाहिन्छ ।’

हुलाकी सडक बन्नुअघि यत्तिको डुबान थिएन सोही ठाउँका धनी कामीले भन्नुभयो, ‘हुलाकी सडकले झन् पानी हाम्रो घरतर्फ आयो, यसको बीचमा ह्युम पाइप हालेर निकास गराइदिनुपर्छ, समस्या भनेको अब कि बस्ती स्थानान्तरण कि घरका अग्ला जग नै हुन्, सरकारले त्यसो गरिदिए हाम्रा दुःख सकिन्थे ।’

भजनी नगरपालिकाले हाल सडकमा रहेका र बाढीबाट प्रभावित भएका नागरिकहरूलाई पानीको व्यवस्था गरेको छ । राहत लिन अनुरोध गर्दा नलिने बताइरहने उनीहरूलाई व्यवस्थापनमा समेत नगरपालिकालाई समस्या परेको छ । नगरपालिकाले स्थायी समाधानका लागि प्रदेश सरकारले जोड दिनुपर्ने बताएको छ । हामी अहिले पानी मात्रै वितरण गर्ने काम गरिरहेका छौँ भजनी नगरपालिकाका मेयर केवल चौधरीले भन्नुभयो, ‘सबै नलहरू बाढीले डुबेका छन्, जनतालाई सबैभन्दा बढी आवश्यक पानी हो हामी पानी उपलब्ध गराउने र उद्धार गर्ने कार्य गरिरहेका छौँ, यो क्रम सधैँका वर्ष हो, वर्षाको तीन महिना हामी डुबान र कटान क्षेत्रमै रहन्छौँ, त्यसकारण अब दीर्घकालीन समस्या समाधान खोज्नुपर्छ ।’ बस्ती सार्न अथवा घर बनाइदिन नगरपालिकाले सक्दैन प्रदेश र संघ सरकारले आँटे सकिन्छ उहाँले भन्नुभयो, ‘बढी डुबान भएका क्षेत्रमा अग्ला जग भएका घर बनाउन सके जनतालाई बचाउन सक्छौँ ।’

मुख्यमन्त्री कमलबहादुर शाहले डुबानको विकल्प खोजिने बताउनुभएको छ । सबैका अग्ला जग बनाउन कति सम्भव छ हेरौँला उहाँले भन्नुभयो, ‘पानी निकासको वातावरण बनाउने, नाला, खोला खोल्ने लगायतका काम कसरी क्षति हुनबाट जोगाउने हामी लाग्छौँ, त्यसैका लागि अनुगमनमा आएका हौँ, जनतालाई क्षति हुनबाट जोगाउनेतर्फ केन्द्रित हुनेछौँ ।’

वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकलाई सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टीकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् । कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?