क्रिकेट संघमा पारसको प्रवेश

हिमालय टाइम्स
Read Time = 8 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित भएसँगै पूर्वकप्तान पारस खड्का औपचारिक रूपमा नेपाली क्रिकेटको व्यवस्थापनमा प्रवेश गर्नुभएको छ । डेढ दशक खेलाडीका रूपमा मैदानमा बिताएपछि दुई वर्षअघि नै पारसले व्यवस्थापन प्रवेश गर्ने उद्देश्यले सन्न्यास घोषणा गर्नुभएको थियो । मंगलबार भएको काठमाडौंको निर्वाचनमा अध्यक्षमा दिवाकर घलेको टोली आउँदा पारस सदस्यमा सर्वसम्मत रूपमा चुनिनुभएको हो । सदस्यमा चुनिएपछि पारसले नेपाली क्रिकेटको विकासका लागि एकअर्कालाई सम्मान गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

‘म आजबाट आधिकारिक रूपमा क्रिकेट संघमा पदाधिकारीका रूपमा प्रवेश गरेको छु । जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म अघि बढ्ने बाटो खुलेको छ,’ पारसले भन्नुभयो, ‘नेपाली क्रिकेटको विकासका लागि सबैले एकअर्कालाई विश्वास गर्दै अघि बढ्नुको विकल्प छैन । अब आगामी दिनमा आउने चुनौतीलाई पार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।’

पारसको योजना बागमती प्रदेशको अध्यक्ष हुँदै क्यानको केन्द्रीय कार्यसमितिमा आउने छ । २०७८ सालमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गर्दै पारसले क्रिकेट व्यवस्थापनमा आउने घोषणा गरिसक्नुभएको थियो । नेपाल क्रिकेट संघको विधानमा क्यानको चुनाव लड्न दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न छोडेको हुनुपर्छ । सोही प्रावधानअनुसार पारसले दुई वर्षअघि नै सन्न्यास घोषणा गर्नुभएको थियो । दुई साताअघि मात्रै पारसले सार्वजनिक रूपमा फेसबुकमा लेख्दै आगामी असोजमा हुने चुनावका लागि खुलेरै चुनावमा लड्ने स्पष्ट पार्नुभएको थियो ।

क्यानको निर्वाचन कार्यतालिकाअनुसार असारमा जिल्ला संघ र १० भदौभित्र प्रदेशको चुनाव हुनेछ । सोहीअनुसार पारस जिल्लामा आफ्नो माहोल बनाउन तल्लीन हुनुहुन्छ । विधानअनुरूप खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर र क्लबका प्रतिनिधिले भोट गर्न पाउँछन् । पारसले सबैसँग भेटवार्ता र लबिङ गरिरहनुभएको छ । बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा क्रिकेट संघ छ ।

काठमाडौंको निर्वाचनसँगै बागमतीका सबै ६ जिल्लाको निर्वाचन सम्पन्न भएको छ । चितवनबाट सुदीप पिया, मकवानपुरबाट करण महत्रा क्षेत्री, भक्तपुरबाट मनिषराज पाण्डे, ललितपुरबाट शेखर श्रेष्ठ र नुवाकोटबाट दुर्गाराज पाठक अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेशको चुनावमा कुल ३७ मतदाता छन् । हरेक जिल्लाबाट चारजना प्रतिनिधिले प्रदेश चुनावमा भोट हाल्न पाउने प्रावधान छ । त्यस्तै, वर्तमान बागमती प्रदेशका १३ सदस्यीय टोलीले पनि भोट हाल्न पाउनेछन् ।

हाल राजु बस्न्यात बागमती क्रिकेट संघको अध्यक्ष हुनुहुन्छ । बागमती क्रिकेट संघको नतिजापछि पारसले केन्द्रीय चुनावबारे बोल्ने रणनीति लिनुभएको छ । त्यसका लागि उहाँले पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरिरहनुभएको छ । केन्द्रको चुनाव असोज ५-६ गते हुँदैछ । उक्त चुनावमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह अध्यक्षका रूपमा लड्ने निश्चित जस्तै छ । दुवैजनाले आफ्नो पक्षमा भोट माग्न सुरु गरिसकेका छन् ।

यस्तै, दुवै पक्ष खड्कालाई फकाउँदै उहाँलाई आफ्नो पक्षमा पार्ने कोसिसमा समेत हुनुहुन्छ । नेपाली क्रिकेट टोलीमा पारस सबैभन्दा सफल खेलाडी तथा कप्तानका रूपमा रहनुभयो । उहाँले दुई दशक नेपाली टोलीमा बिताउँदा एक दशक कप्तानी गर्नुभयो । अलराउण्डर भूमिकामा रहनुहुने उहाँले १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवै फम्र्याटमा शतक प्रहार गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

उहाँको कप्तानीमा नेपालले २०१४ को टी-२० विश्वकप खेल्दै टी-२० आईको मान्यता हासिल गरेको थियो । यस्तै, २०१८ मा उहाँको कप्तानीमा नेपालले ओडिआई मान्यता पाएको थियो ।

उहाँले २०२० मार्चमा थाइल्याण्डविरुद्ध एसिसी इस्टर्न रिजन टी-२० मा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । त्यसपछि इन्जुरी र कोरोना भाइरसका कारण उहाँलाई मैदानमा देखिएको थिएन । २०२० को नोभेम्बरमा पारस आइसिसी मेन्स दशककै उत्कृष्ट एसोसियट क्रिकेटर अवार्डको मनोनयनमा समेत पर्नुभएको थियो ।

२०७६ असोजमै पारसले राष्ट्रिय टोलीको कप्तानी छोड्नुभएको थियो । कप्तान छाडेपछि पनि उहाँले दुई वर्ष नेपाली टोलीसँगै बिताउनुभयो । पारस सन् २००४ देखि नेपाली सिनियर टोलीका सदस्य हुनुहुन्थ्यो ।

क्यान निलम्बनमा हुँदा पारसले खेलाडी छनोटकर्ता, मेन्टर, कप्तान, खेलाडीको भूमिका निर्वाह गर्नुभएको थियो । तर, क्यान निलम्बन फुकुवा भएकै दिन उहाँले कप्तानी छोड्दै ती जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्नुभएको थियो ।

खेल जीवनपछि क्रिकेटको व्यवस्थापनमा आउने इच्छा पारसले त्यसबेला नै जनाइसक्नुभएको थियो । सोही कारण उहाँ पोखरामा पोखरा प्रिमियर लिग, बलियो नेपाल फाउण्डेसनलगायत कार्यक्रमबाट क्रिकेट व्यवस्थापनमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो । यसपटक भने उहाँले खुलेरै क्यान व्यवस्थापनमा आउने जनाउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?