स्वदेशमै अवसर देख्न युवालाई अर्थमन्त्रीको आग्रह

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै धेरै अवसर हुँदाहुँदै पनि युवा विदेशिनु दुखद भएको बताउनुभएको छ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा बुधबार राजधानीमा आयोजित उद्यमशील युवा, सिर्जनशील युवा विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सूक्ष्म आँखा चाहियो । विदेश जानेबित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरू मुक्त हुनुपर्छ । यहीँ अथाह अवसर छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ ।’

नेपालीहरूमा अवसर खोज्दा हट मेन्टालिटी रहेको उल्लेख गर्दै एउटाले अवसर देख्यो, फाइदा उठायो भने सबै त्यसैमा लाग्ने प्रवृत्ति रहेको उहाँले बताउनुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘त्यसो गर्नुहुँदैन, अर्को अवसर खोज्नुपर्छ । हरेक व्यक्ति केही न केही क्षमता लिएर जन्मेका छन् । सबैको सम्पूर्ण कुरामा क्षमता हुँदैन । पहिला आफ्नो क्षमता पहिचान गर्नुपर्छ, त्यो क्षमताको परिधिभित्र के गर्न सकिन्छ ? त्यो अवसर लिन म अनुरोध गर्छ ।’

सूचना प्रविधिले घरमै बसेर सञ्चारसँग जोडिने अवसर प्रदान गरेकाले सूचना प्रविधिमार्फत् पनि स्वदेशमै बसेर धेरै काम गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोगजारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकारात्मक कुरा गर्छन् । सामाजिक सञ्जालमा नकारात्मक कुरा धेरै चल्छ ।

सकारात्मक कुराहरू यसरी सर्कुलेट हुँदैन, अब नयाँ पोजेटिभ नेसनल डिस्कोर्स सुरु गरौँ । जस्तो, पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसर सिर्जना गर्छ । पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप छ । देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनुभएका युवाहरू जसले पूर्ण छात्रवृत्ति पाउनुभएको छैन, उहाँहरू अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक स्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिबाट उहाँहरू गुज्रिनुभएको छ । त्यहाँबाट न निस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले यहाँ भएका धेरै अवसरहरूको सदुपयोग गरौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?