प्रदीप गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

निधिद्वारा अस्तु हस्तान्तरण गरेर बिदाइ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व. गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौंदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले शनिबार पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमबीच स्व. गिरिको अस्तु हस्तान्तरण गरेर बिदाइ गर्नुभएको थियो ।

स्व. गिरि बहुप्रतिभाशाली व्यक्ति : निधि
गिरिको स्मृति दिवसका अवसरमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जलि अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उहाँलाई स्मरण गरेका थिए । कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले भन्नुभयो, ‘स्व. गिरि एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो, जसको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुन्छ ।’ स्व. गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरूको राजनीतिक गुरुसमेत भएको नेता निधिले धारणा राखनुभयो । नेता निधिले स्व. गिरि बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।

राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरिले नै गरेको उल्लेख गर्दै निधिले भारतका समाजवादीहरूले समेत उहाँलाई राजनीतिक गुरु मान्ने गरेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले न्यायका पक्षपाती गिरि वैचारिक स्वतन्त्रताको वकालत गर्दै समानताका पक्षमा सदैव अडिग रहने गरेको स्मरण गर्नुभयो । यस्तै, माओवादी नेता राम कार्कीले माक्र्सवादका बारेमा कम्युनिष्ट पार्टीका सदस्यहरूलाई प्रदीप गिरिले प्रशिक्षण दिएको स्मरण गर्दै गिरिलाई कुनै दल बिशेषको नेताका रूपमा लिन नहुने धारणा राख्नुभयो ।

त्यस अवसरमा प्रदीपका भाई शेखर गिरि, वरिष्ठ पत्रकार हरिहर विरही, पूर्वराजदूत विजयकान्त कर्ण, खिलानाथ दाहाल लगायतले नेपालको लोतकान्त्रिक आन्दोलनमा गिरिको योगदानको स्मरण गर्नुभएको थियो । कार्यक्रमा निधिले शहीद स्मृति प्रतिष्ठानद्वारा प्रकाशित प्रदीप गिरि स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको थियो ।

स्व. गिरिको अस्तु विसर्जन यात्रा आज (आइतबार) वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्ने जनाइएको छ । राति बनारस पुगेर गंगा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व. गिरिको अस्तु विसर्जन गरिने कार्यक्रम छ । भदौ ४ गते वनारस विश्वविद्यालयमा भारतीय नेताको उपस्थितिमा प्रदीप गिरिको स्मृति कार्यक्रम गरिने पनि बताइएको छ । विसं २००४ असोज २४ गते जन्मिनुभएका गिरिको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते निधन भएको थियो । निष्ठाप्रति अटल, सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरिले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?