श्रीलंकालाई टिम च्याम्पियन उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गतको यू-१५ र यू-१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू-१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३-० ले पराजित गर्दै उपाधि उचालेको हो । श्रीलंकाका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१-१७, २१-१७ को समान अन्तरले पराजित गर्नुभयो ।

यस्तै, नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१-८, २१-१३ ले पराजित गर्नुभयो । यसैगरी केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-१७ ले पराजित गर्दै उपाधिमा श्रीलंकाको नाम लेखाउन सफल हुनुभयो । तेस्रो स्थानमा बंगलादेश र भुटान रहे ।

त्यस्तै, यू-१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३-२ सेटले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो सेट बंगलादेशका एसएसएम सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१-९, १३-२१, २१-१८ ले पराजित गर्दै खेललाई १-० को अवस्थामा पुर्‍याउनुभयो ।

दोस्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियान्तीलाई २१-२, २१-४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याउनुभयो । तेस्रो खेलमा पुनः राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले श्रीलंकाका हिरूका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै खेललाई २-१ को अवस्थामा पुर्‍याउनुभयो ।

चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थिया कानोम प्रियान्तीको जोडीबाट वाकओभर प्राप्त गरेपश्चात् खेल २-२ को बराबरीमा पुग्यो । अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एसएसएम सिफात उल्लाह र सिन्थी खानोम प्रियान्तीको जोडीलाई २१-११, २३-२५, २१-१० ले पराजित गर्दै खेललाई ३-२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधि विजेता बनाउनुभयो । तेस्रो स्थानमा भुटान र नेपाल रहे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?