सरकारको आलोचना टार्न सीईआबीले लियो पूर्वप्रधानमन्त्रीद्वयसँग बयान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ ।

आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना भइरहेका उक्त आरोप टार्न र सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उहाँहरुसँग बयान लिएको हो । सीआईबीले उहाँहरूसँग सोधपुछ कागज गरेको हो ।

समाचार स्रोतका अनुसार प्रधानमन्त्रीद्वयसँग उहाँहरुको निजि निवासमा भएको बयानमा सरकारी वकिलको उपस्थिति थिएन । सरकारी वकिलको उपस्थितिमा बयान गराएमा मात्र प्रतिवादी बनाउन सकिने व्यवस्था छ ।

निर्णय गर्नेलाई कारबाही नगर्न खोजेको र निर्देशन पालना गर्ने कर्मचारी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको थियो । सर्वोच्च अदालतको आदेशलाई तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीलाई बयान लिन बाटो खुलेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?