प्रदीप गिरी माक्र्सवादी हुनुहुन्थ्यो : घनश्याम भुसाल

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद स्वर्गिय प्रदीप गिरी माक्र्सवादी भएको बताउनुभएको छ ।

सोमवार स्वर्गिय गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरी माक्र्सवादी भएको र उहाँले संसारका सारा समस्या माक्र्सवादमा देखेको बताउनु भयो ।

माक्र्सवादको विषयमा जान्ने एशियाकै केही मान्छेहरु भित्रमा प्रदीप गिरी पर्ने उहाँले बताउनु भयो । गिरीको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रताको व्याख्यामा श्रमजिविका प्रति निःशर्त प्रतिवद्धता बाहेक अरु केही नभएको उहाँले बताउनु भयो । गिरीको जीवनमा बोल्ने र गर्ने कुराको तादाम्यता पनि मिलेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीमा मसँग सोधियो काँग्रेसलाई ल्याएर माक्र्स पढाउने भन्नेखालको कुरा भयो । मैले भनेको थिएँ, मैले सोचेरै भनेको, अहिलेपनि त्यो उत्तरका प्रति मलाई कुनै पश्चाताप छैन । मैले के भनेको थिएँ भने माक्र्सको बारेमा जान्ने एसियामा प्रदिप जत्तिको कतिजना मान्छे छन् ? सोचौँ । मैले हाम्रो नेतालाई उत्तर दिएको थिएँ । एसियामा कतिजना मान्छे छन् ? औँलामा गन्न सक्ने मान्छे होलान भनेको थिएँ । म आफूले त्यसरी बुझ्थेँ । उहाँ कति माक्र्सवादी हुनुहुन्थेन भनेर कसैले भन्छ भने त्यो एउटा कुरा हुनसक्छ । नत्रभने देखि उहाँले कबुल गरेको कुरा हो कि उहाँ माक्र्सवादी हुनुहुन्थ्यो । उहाँले आजसम्मका जिन्दगीका, संसारका सारा समस्याको समाधान माक्र्समा देख्नुहुन्थ्यो । र स्वयं माक्र्समा पनि केही समस्याहरु देख्नुहुन्थ्यो । त्यसको खोजीका लागि भौतारिइरहनु भएको थियो । मैले बुझेको प्रदिप गिरी यही हो । यो कुरा उहाँले नै बोलेको कुरा हो । कयौँ माक्र्सवादीहरुले माक्र्सको खोल मात्रै ओढेर गैरमाक्र्सवादी भइरहेको बेलामा, अर्कै बाटो लिइराखेको यो युगमा प्रदिप गिरी त्यो अबिभाजित व्यक्तित्वको मान्छे हो जसको भन्ने र गर्ने कुरा सामान्यतया त्यति नजिक । बोल्ने र गर्ने एउटै गर्नु भनेको जिन्दगीको असाधारण उपलब्धि हो जस्तो लाग्छ । मैले देख्दा प्रदिप गिरि त्यो अबिभाजित व्यक्तित्वको मान्छे हुनुुहुन्थ्यो । उहाँको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रता यो सारा कुराको व्याख्या श्रमजीविका प्रति निःशर्त प्रतिवद्धताबाहेक केही पनि थिएन भन्ने म असाध्यै प्रष्ट छु ।’

उहाँले प्रदीप गिरी जीवित रहँदा आफूलाई बौद्धिक रुपमा सुरक्षित छु जस्तो लाग्ने गरेको र अहिले त्यस्तो सुरक्षित महशुस नभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?