नागरिकलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित, जिर्ण भवन, आवास र जनशक्ति न्युन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । आम नागरिकलाई सुरक्षा दिने नेपाल प्रहरी नै आफै असुरक्षित बनेको छ । जिर्ण कार्यालय,आवास र न्यून जनशक्तिका कारण मुलतः सिमा नाकामा खटिने प्रहरी आफै असुरक्षित बनेका हुन् ।

तस्करहरुको ट्रान्जिट पोईन्टको रुपमा रहेको पश्चिम् नवलपरासीको सिमा नाकामा रहेका प्रहरी कार्यालयहरु यति जिर्ण छन् कि जनतालाई सुरक्षा दिने निकायका प्रहरी बस्ने आवाससहितको कार्यालयको अवस्था बिजोग रहेको छ । सरकारबाट विभिन्न प्रयोजनका लागि विभिन्न नाममा अरबौं रुपियाँको लगानिमा ठाउँ ठाउमा उपयोग बिहिनका भवन बनिरहदा प्रहरी कार्यालय भने जिर्ण भग्नावशेष जस्तै बन्दै गैरहेको तितो यथार्थ रहेको छ ।

पश्चिम् नवलपरासीको सिमा नाकामा रहेका अधिकांंस प्रहरी कार्यालयहरु मान्छे बस्न लायक छैनन् । तर कर्तव्य निर्वाह गर्न, सिमामा ज्यानको बाजी लगाएर अबैध तस्करी रोक्न अहोरात्र खटिने प्रहरीको केही कार्यालय भवनहरु भने पशु राख्ने गोठ भन्दा कम छैनन् । संबेदनशील मानिएका सिमा नाकामा रहेका कार्यालयहरूमा ९/१० जनाको मात्र दरबन्दी रहेको छ ।

तस्करहरुको ट्रान्जिट पोईन्टको रुपमा चिनिएको भुजहवा प्रहरी चौकीमा सईको नेतृत्वमा जम्मा ९ जनाको मात्र दरबन्दी रहेको छ भने अपर्झट पर्दा प्रयोग गर्ने साधनको नाममा एउटा थोत्रो बाईक रहेको छ । भुजहवामा रहेको प्रहरी चौकीको भान्सा घर बर्षातको मौसममा चुहेर टिन माथी त्रिपालले छाईएको छ । उनिहरुले प्रयोग गर्ने शौचालयको छ्त चुहेर बिजोग अवस्थामा छ्न् ।

जिल्लाको भुजहवा, पचपेडालगायतका प्रहरी कार्यालय भवनहरु बर्षौ पुराना रहेका छन् । बर्षातको समयमा प्रहरी कार्यालयहरु छाना चुहिएर सुत्नै नसकिने अवस्थामा रहेका छ्न् । तर प्रहरी संगठनको चेन अफ कमान्डका बिरुद्धमा गएर आफ्ना समस्या सार्वजनिक रुपमा राख्ने हिम्मत कुनै पनि प्रहरी कार्यालयका ईन्चार्ज सँग छैन ।

जिल्लाको एक प्रहरी चौकिका ईन्चार्ज आफ्नो नाम नखुलाउन भन्दै भन्नुहुन्छ - 'हामी एउटा चौकिमा ९/१० जना मात्र छौ, तस्करले नै हामीमाथी आक्रमण गर्ला कि भन्ने चिन्ताले हामी सिभिलमा एक्लै हिड्न सक्दैनौ । न भवन बस्न योग्य छ न शौचालय, भान्सा नै बस्न लायक छ । बरु कैदी बन्दीको हालत राम्रो होला सिमामा रहेका कार्यालयका प्रहरीको अवस्था यस्तो छ' ।

जिल्लाका बसहिया प्रहरी चौकी बाहेक अन्य प्रहरी कार्यालय भवनको अवस्था ज्यादै जिर्ण रहेको छ । राज्यको सुरक्षा गर्न बसेका प्रहरीको यो अवस्थाले प्रहरी संगठ्नलाई मात्र होइन सरकारलाई नै गिज्याईरहेको छ । राजा बिरेन्द्रको ५४ औ जन्मजयन्तिका अवसरमा उद्घाटन गरिएका प्रहरी चौकीहरुको समेत अझै मर्मत हुन सकेको छैन । केही कार्यालयमा त कम्प्युटर समेत छैन ।

'न तारबारसहितको सुरक्षा छ, न बस्न लायकको भवन, न शुद्ध पिउने पानीको ब्यवस्था, न सुत्ने ठाउको पर्याप्तता, न जनशक्ति नै,  हाम्रो बिषयमा बोलिदिने को ?' एक प्रहरी कार्यालयका अधिकारीले गुनासो पोख्नु भयो । पश्चिम् नवलपरासी प्रहरीको सेवा सुबिधा, आवास र जनशक्तिका बिषयमा समन्धित निकाय मौन जस्तै बनेको छ ।

तस्करहरू र बिचौलियाको बिगबिगी रहेको जिल्लामा प्रहरी संगठन कै मनोबल उच्च नरहँदा यसले आम नागरिकको सुरक्षा माथी नै गम्भीर प्रश्न खडा गरेको छ । प्रहरी कार्यालय र स्वयम् संघठन नै जनशक्ति अभावमा असुरक्षित बनेका छन । जिल्लामा चौकीसहित २८ वटा प्रहरी कार्यालय रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कुडिया, नर्सही, अमानीगन्ज, गुठीसुर्यपुरालगायतका केही प्रहरी कार्यालयहरू जिर्ण रहेका छन् भने सिमामा प्रहरीको जनशक्ति समेत ज्यादै न्यून रहेको छ । चोरी पैठारीको नियन्त्रणका लागि जनशक्ति अभावमा ज्यादै कठिन भएको छ भने जिर्ण भवनका कारण प्रहरीको दैनिकी बिताउन निकै कष्टकर रहेको पाण्डेले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?