स्वार्थ पूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र हो : कांग्रेस नेता महर

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुर । एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले आरोप लगाउनु भएकाे छ । नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाउनु भएकाे हाे ।

एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् संसद्‍माथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ । 'एमालेले संसद्‍मा  अवरोध गरेर जनतामाथि अन्याय गरेको छ । एमालेको अवरोधका कारण संसद‍्‍मा सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन । संसद् जनमतको कदर गर्ने थलो हो । कुनै असन्तुष्टि भए संसद‍्मा मज्जाले मत राखेर जनतासामु पुर्‍याउन सकिन्छ। सच्याउनका लागि दबाब दिन सकिन्छ। तर, संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारी पन हो । एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो,' महरले भन्नुभयाे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद‍्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ। 'म ओली जीलाई प्रश्न गर्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो ? सदन के तपाईं एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो ? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो ? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र ?,' महरले भन्नुभयाे।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले जानुपर्ने महरको धारणा छ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर एमालेले आफ्ना असन्तुष्टि राखेको भए बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत हुने उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?