सुदूरपश्चिममा आज गौरा भित्त्र्याइँदै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध मौलिक पर्व गौरा आज बिधिवत रुपमा भित्र्याईएको छ ।

पञ्चघाँस काँसकुश अपामार्ग वल तिल पहेंलो गुबोलाई धानको खेतबाट गौरा माताको प्रतिकको रुपमा भित्र्याउदै गौरा घरमा शाश्त्रिय पूजा अनुष्ठान गरि हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहि आएको छ ।

सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसँग गाँसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पञ्चमी अथवा भोलि दुर्वाष्ठमी पूजा आराधना गरिन्छ भने बिसर्जन नहुँदासम्म गौराघरमा रातभरि फाग अठवाली र देवीदेवताका बिभिन्न गाथाहरु गाएर, बालो, ढुस्को लगायतका खेल खेलेर मनाउने गरिन्छ ।

बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान, चोखो नयां लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन बिधिवत रुपमा प्रसाद राखिएको पांच दलहनको बिरुडा धुने, पांच पवित्र घांसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउछन् ।

यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग, अठवाली, पुरुषहरुले पनि चैत धुमारीका साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?